तिम्रो खाँचो छ यति वेला
ती कमजोर आँखामा साहस भर
ती दुखी मनमा विश्वास भर
ती मर्दै गरेका सपनामा उत्साह भर,
बताऊ उनीहरुलाई
सूर्यको किरण उस्तै छ
फूलहरु उसै गरी मुस्कुराइ रहेका छन्
चराहरु उसै गरी उत्साह बोकेर गाइरहेका
छन्,
समय सधैँ उस्तै कहाँ रहन्छ र!
यो समय जसरी आएको छ
उसै गरी बितिजाने छ,
नपत्याए आफैलाई महसुस गरेर हेर
तिमीले देख्ने सपनाको रङ्ग उस्तै छ आज रङ्गीन,
हिजो जस्तै
फूलहरुको सुगन्ध उस्तै छ आज मिठो,
हिजो जस्तै
चराहरुको गीत उस्तै छ आज
मधुर,
हिजो जस्तै,
तर
नबिर्स!
तिमी मानव हौ अनि
सङ्घर्ष तिम्रो नियति
यहाँ हार पनि तिमीसँगै छ
अनि जित पनि तिमीसँगै छ,
यहाँ हार पनि तिमीसँगै छ
अनि जित पनि तिमीसँगै छ,
समयको यो चुनौतीलाई स्विकार्दै
यो भयावह र विकराल परिस्थितिसँग
धैर्य र विश्वासले लडेर
तिमीले इतिहासलाई नयाँ साक्षी दिन्छौ या दिँदैनौ
त्यो तिम्रो हातमा छ-मानव।।

No comments:
Post a Comment