प्रीयतम
आज संसारभर नारी दिवस मनाइदै छ, अझ
भनौ महिला श्रमिक दिबस त्यो पनि ११२औ महिला श्रमिक दिवस ।
यो पटक पनि हरेक वर्ष
जस्तै आज पनि राजधानीका विभिन्न ठाउँहरुमा र्याली,
गोष्ठी,
सेमिनार र महिलाका मुद्दाहरुलाई शिर्ष
स्थानमा राखेर विभिन्न छ्लफल गरेर यो दिनलाई मनाइदैछ । यो पटक कुनै दमदार लेख लेखौ,
नभए कमसेकम टुइटरमा दुई चार ओटा महिलाका
दु:खको बिसुन थापौ,
साथिहरुलाई नारी
दिवसको शुभकामना भन्दै म्यासेज गर्यौ खै किन हो पटक्कै मन लागेन । यो पटक मनले
मस्तिष्कलाई यसको वास्ता नभएको हो कि अथवा मन मस्तिष्कले यो समाजको देखावटी
चरीत्रलाई बोध गरेको हो थाहा छैन तर यी सबैबाट पर रहेर यी कुरालाई मनन गर्न मन
लाग्यो ।
छोरी भएर हरेक पाइला पाइलामा समाजको पहरेदारिको सामाना गर्दै
गर्दा पनि त नारी दिवस आएको थियो होला नारा, जुलुस र र्याली भएका थिए होला तर किन
सुनिएनन् ती आवाज कर्णलिका खेत र बारिमा घाँस काट्दै गर्दा, बस्तु भाउ चलाउदै गर्दा किन सुनिएनन् ती
खोला र खोल्सामा यो कुरा मनमा मस्तिष्क खुब घोचेर बस्छ ।
हरेक घरमा सासू बुहारीको चर्काचर्की चलिरहन्छ, मधेसका हरेक जसो घरमा बुहारी दाइजोको नाममा
जलिरहेकी हुन्छिन्, हरेक समाजमा छोरिहरु
आफ्नै आफन्तबाट यौन हिंसाका सिकार भइरहेका हुन्छन्, त्यतिबेला
नारी दिबसमा लगाइने चर्को चर्को नारा किन पुग्दैन त्यहाँसम्म ....
आफ्नै श्रीमानसँग कति कुराहरु मन लागेर बोल्न सकिदैन, उसको इच्छामा नाई भन्न सकिँदैन, मन नहुँदा नहुदै उसका हरेक कुरालाई
महिला भएकै कारण स्वीर्कानु पर्दा के अर्थ रहन्छ तारे होटेलमा लाखौ खर्चेर गरेको
गोष्ठी र सेमिनारको ....
जसै जसै जिन्दगीको सत्यलाई नजिक बाट निहाल्दै गइन्छ कति सस्तो
र खल्लो लाग्ने छैनन् यी आदर्शका आडम्बरहरु,कति घिन लाग्ने रहेछ
यी दोहोरो चरीत्र बोक्नेहरुसँग ...
महिलाको नाममा महिलालाई नै शोषण गर्नेहरुको कमि कहाँ रहेछ र यो
समाजमा, छोरिको नाममा छोरिको
चरीत्र हत्या गर्ने हत्याराहरु छ्याप्छ्याती पाइलै पिच्छे भेटिने रहेछनन् यहाँ ...
अनि त्यो नारा त्यो जुलुस बस कर्कश आवाज बनेर रहने रहेछ ।
आमा, छोरी, बुहारी, श्रीमती
यी सबै भूमिकालाई हरेक नारीले बिना कमि कमजोरीका साथ निभाएका थिए र निभाइरहेका छन्
र यी जिम्मेवारीलाई लिएर उनीहरूले कहिल्यै गुनासो गरेनन् र गुनासो गर्दैनन् पनि ।
किनकि हाम्रो समाजले महिलामाथि यसलाई संस्कारको नामको आवरण जो ओढाएको छ । जब म
यस्तो संस्कारलाई खेलाउन थाल्छु । यति बेला झट्ट याद आउँछ सिमोन द बोउमारको कुरा
उनी भन्छिन् "महिलालाई सहनशीलताका धनी भनिएको छ, धर्ती माता भनिएको छ र सहनशीलताकि देबि
भनेर उसलाई देवित्व करण गरिएको छ जसको भार थाम्नलाई भए पनि महिलाले कहिल्यै उफ्
सम्म गरेनन् र गर्दैनन् पनि ... "तर यो मानसिकता अब भत्किनु पर्छ र प्रीयतम
मलाई तिम्रो साथ सहित यो मानसिकता भत्काउनु छ ।
तिमीलाई प्रीयतम मानिरहदा तिम्रो प्रीयसि बन्नु छ र स्वयमलाई
बुझाउनु छ कि समाजमा महिलाको मात्रको अस्तित्व पूर्ण छैन । यदि महिला मात्र पूर्ण
जवाफ हुन्थ्यो भने सृष्टिमा महिला र पुरुष अस्तित्व किन सँगै जोडिएर आउथ्यो होला र
। महिला भन्दा पुरुष अलब्ब छन् अनि महिला पनि कम छैनन् खुब देखिन्छ र चल्छ यो
समाजमा, यो लडाई । तर हाम्रो
मानसिकताले यो कुरा किन बुझ्दैन कि हरेक समयको आफ्नो आफ्नो महत्त्व हुन्छ तर एकलाई
हराएर अर्को कहिल्यै पूरा हुन सक्दैन । अनि कहिल्यै एकाअर्काबिना पूरा हुन नसकिने
यो लडाइँ किन र कहिलेसम्म चलाउने होला किन हामी यो सवाल आफैसँग गर्दैनौ होला ।
प्रीयतम नारी दिवस होस् या अरु दिन होस् मलाई कहिल्यै यो
अपेक्षा छैन कि तिमी मेरा सारा जिद्दीहरु पूरा गरिदेउ,मेरा सारा
कुरामा सहि थापेर मलाई महान बनाइदेउ, मलाई मेरा
अधिकारहरुले पुरिदेऊ अह मलाई यो अपेक्षा पटक्कै छैन बस म त यत्ती चाहन्छु कि हामिबिच
एउटा गहन प्रगाढता होस्, भावको समर्पण र सम्मिलन होस्, जीवनमा परिपूणता होस्, र यो
हरपल हरक्षण ताजा बनिरहोस् जहाँ अनुमति र सहमतिको उच्च स्थान सहित तिम्रो
जिन्दगीमा "म" हुनुको एहिसासमा कहिल्यै कमि नआओस्, हाम्रो प्रेमको डोरमा सदा
"हामी" कायम होस्, तिम्रा दु:खहरु मेरा
हुँदा मेरा सारा सुखहरु तिम्रा बनुन्, तिम्रो दु:खमा म
धर्यौ बनु, मेरा आँसुहरुमा तिमी
हौसला बनिदेऊ, हामी सदा एकाअर्काको
निम्ति प्रेरणा, प्रीत र प्रेम बनिरहन
सक्कौ बस यहि काफी छ जिन्दगीमा इज्जत सम्मान र प्रीत सहित बाँच्न ।
र एउटा सुन्दर संसारको सृजना गर्न ।।
#मार्च ८
#अन्तर्राष्ट्रिय
महिला श्रमिक दिवस