Yamunathapablog

Thursday, March 29, 2018

ए तिमी !!

मात्र चुढ्न सक्छौ तिमी 

फक्क्रीदै गरेका 
ती सुन्दर कोपिलाहरु
अह,सक्दैनौ 
तिमी ती पुन: उस्तै बनाउन,

मात्र सक्छौ तिमि 
इतिहास गाउन,अर्थशास्त्र घोक्न 
अनि समाजशास्त्रका 
ठुला ठुला भाषण छाट्न,

के सक्छौ तिमी इतिहास बन्न,
अनि के सक्छौ 
तिमी वास्तबिक मानव बन्न,

मानसिक सन्तुलन गुमाएकी
युवतिलाई सरेआम
बलात्कार गर्न सक्छौ, 
अनि सानी अबोध बालिकाको 
योनि च्यातेर मज्जा लुट्न सक्छौ,

तर अह सक्दैनौ तिमी
मिनिस्कट र बिकिनी लगाएर 
हिड्ने केटिलाई घरको शोभा बनाउन 
आफ्नी अर्धाङ्गिनी बनाउन,

साँच्चै तिमी जति कायर 
मलाई कोही लाग्दैन,
तिमी जति बिबस म कोहि देख्दिन,
अनि तिमी जति लाचार म
कोहि पाउदिन,

किनकि तिमी आफ्नो पुरुषार्थ देखाउन 
मात्र अध्यारोलाई हतियार बनाउछौ,

अह उज्यालोसंग सामाना गर्ने 
ताकत छैन तिमिसंग यदि छ भने 
निसंकोस भन .... यो चुनौति भयो 
तिमीलाई ए तिमी !!                                                        (पद्दम कन्या क्याम्पसको कलेज कविता प्रतियोगितामा लुन गंगा चौौधरी पुरस्कार जित्न सफल कविता 2018)

Wednesday, March 21, 2018

चुढिएको कोपिला

चुढिएको कोपिला

मैरै आँखा अगाडि 
फुल्नै लागेका कति
कोपिलाहरु चुढिएका छन् 
पत्र पत्र भएर 
अनि चुडिएकि छु म ति कोपिलासंगै,


अघि भर्खरै हास्दै गरेका ती सुन्दर 
फुलहरु छिनभरमै मस्किए छ्न
कतै घाम चर्को भएर पो हो कि,


साह्रै पीडा हुदोरहेछ 
आफुले हुर्काएको 
कोपिला चुढिदा,
आफुले फुलाएका फुल मस्किदा,


हो त्यसरी नै कति पीडा 
भयो होला ती आमालाई 
जसकी छोरी मार्च ८ कै दिन 
बलत्कृती भइन अनि 
कति पीडा भयो होला ती सानी नानिलाई 
जसलाई बलत्कार भनेको के हो भनेकै थाहा छैन,


सक्छु म त्यो पिडा आभास गर्न 
किनकी मैले हुर्काएका 
कयौं कोपिलाहरु चुढिएका छन् यसरी नै,


र सक्दिन पनि म त्यो पिडालाई आभास गर्न 
किनकि म मात्र देख्न सक्छु,
सक्दिन त्यो पीडा आफुमा सार्नलाई !!

Thursday, March 15, 2018

छाउसंगको पैठाजोरि

छाउसंगको पैठाजोरि
त्यतिबेला यस्तै कक्षा आठमा पढ्थे होला। जब पहिलो पटक महिनावारी भएकी थिए म ।त्यतिबेला धेरै नभएपनी अलि अलि जानकारी थियो महिनावारी स्वास्थ बारे । तैपनी हिन्दु समाज अनि यसको रुढीबादी परम्परासंग कस्ले सकोस् ।मनमा एक किसिमको डर बोकेर साथीलाई भने अनि साथिले घरमा आमालाई । अनि आमाले के सोच्नु भयो त्यतिबेला थाहा भएन । तर अहिले सोच्दा लाग्छ आमालाई लाग्यो होला छोरी ठुलि भई ।अनि आमाले साथी र घर वरपरका काकिहरुलाई भनेर घर बाट केही पर रहेको भैंसी गोठमा मेरो बस्ने ब्यवस्था गरिदिनु भयो । उफ् बालापन मनले के सोच्यो कुन्नि म रुन पो थालेछु साच्चै साह्रै दु:ख अनि नराम्रो लागेको थियो त्यतिबेला कहिल्यै घरबाट टाढा नगएकी म त्यतिबेलाको त्यो क्षण बनबास भन्दा कम लागेको थिएन मलाई । नजिकै जङ्गल अनि न साथीसंगि,स्कुल पनि जान नपाईने त्यो क्षण लाग्यो साह्रै ठुलो पापको सजाय हो महिनावारीको समय महिलाकोलागि । जतिजति महिनावारीका दिनहरु बित्दै जान्थे मेरा दिनहरु कष्टकर बन्दैथिए ।घरको धुरि,सुर्य किरण हेर्न नहुने बाको र भाईको मुख हेर्न नहुने,अनि दूधका परिकार खान नहुने उफ् ती दिन आज पनि कल्पना गर्न सम्म डराउछु म ।

जब एक दिन,दुई दिन हुँदै सात दिन बिते । म त्यतिबेला नै अलि बिद्रोह स्वाभाविकि थिए त्यसैले पनि होला मलाई अति भइसके छ क्यारे म त सात दिन मै घरमा आए ।वरिपरिका मान्छे हेर्न सम्मै आए रमिता भए झै गरेर, र त्यो कुनै रमिता भन्दा कम पनि थिएन।  किनकी त्यतिबेला थोरैमा पनि नौ वा एघार दिन त महिनावारी बार्नु नै पर्थ्यो र अझै पनि पर्छ । म घर त्यसरि आएको देखेर आमा हेरेको हेर्‍यौ हुनु भयो।।बहिनी भने खुशी भइ सायद सानै भएपनी बुझिछ त्यसले मेरो पिडा भन्ने लाग्छ त्यतिबेला,अहिले सोच्दा । आमाले खै के सोच्नु भो कुन्नि रातो टिका लाएर हातमा तेल दिएर भन्नू घर भित्र आइजा अब । त्यो क्षण मेरो जिन्दगीको साच्चै सबैभन्दा खुशिको क्षण थियो। महाभारत भन्दा पनि ठूलो युद्ध जितेकी थिए मैले त्यतिबेला। मैले त्यतिबेला जिते जस्तो लागेको युद्ध आज झन बिकराल रूपमा समाजमा जरा गाडेर बसेको देख्दा साह्रै दुख लाग्छ । यो कस्तो अन्याय हो महिलाहरुलाई । अस्तिभन्दा हिजो अनि हिजोभन्दा आज झन गम्भीर समस्याको रुपमा देखा परिरहेको छ हाम्रो हिन्दु अनि पश्चिमि समाजमा।


सुन्दर सुदुरपश्चिम सुन्दर पश्चिम यहि भनेर सम्बोधन गर्छौ हामी पश्चिम नेपाललाई हाम्रो पश्चिमलाई । हरेक कुरामा पोख्त देखिने पश्चिम किन यति नमिठो र अभद्र सुनिन्छ एउटै कुरा छाउपडिको कुरा आउदा ।जब कि हामि जान्दछौ यो प्राकृतिक प्रक्रिया हो भनेर । प्रकृतिलाई हामी भगवान मान्छौं र पुज्छौ भने हामीले प्रकृतिका हरेक नियम र प्रकृयाहरुको पुजा गर्नु पर्ने हो तर विडम्वना कतिपय ब्यवहारहरुमा प्रकृतिको यस्तो नियम लागु नहुने रहेछ बरु यो त पुजा नभएर पाप तथा अभिशापका रुपमा परिभाषित गरिने रहेछ । जसको ज्वलन्त उदाहरण हो हाम्रो पश्चिम  समुदायहरुमा प्रचलित छाउपडी प्रथा । महिलाहरुमा हुने रज्वश्वला अर्थात महिनाबारी प्रक्रिया ।

आज राष्ट्रले महिला सशक्तीकरणको नयाँ आयाम छोइरहेको बेला मध्य पश्चिम र सुदुर पश्चिमका छोरी बुहारीहरु छाउपडी कुडिमा बसि छाउ बार्न बाध्य छन्। छाउपडी जस्तो घिनलाग्दो परम्परामा जीवन मृत्युसंग जोरि खेल्न बाध्य छन् । शरिरमा आउने परिवर्तन र नयाँ जिबनको आरम्भ हो रजस्वला तर यहि कुरालाई हाम्रो समाजले बुझेर पनि बुझ्न नसक्दा र पचाउन नसक्दा सुदुर पश्चिम र मध्यपश्चिमका अधिकांश छोरिबुहारीहरुले अकालमा नै ज्यान गुमाउनु परेको घटना दिन प्रतिदिन आजकालका पत्रपत्रीका तथा रेडियो टेलिभिजनका मसालेदार तर लज्जास्पद समाचार बनिरहेकका छन ।यसतर्फ कहिले र कसरी ध्यान दिने ,समाज भन्न त भन्छ नारी लक्ष्मी हो,देबि दुर्गा अनि देबि सरस्वतीको प्रतीक हो ।
तर महिनावारी जस्तो संबेदनसिल बिषयमाथी समाजको लापरबाही देख्दा लाज लागेर आउँछ समाजदेखि ।देबिदेबता रिसाउछन्, गाईभैसी बौलाउछन भनेर, न त महिनावारीको समयमा घरमा बस्न दिइन्छ ,न त दुध दहि जस्तो प्रोटिन युक्त खाना नै । यो देख्दा अचम्म लाग्छ कि हाम्रो समाजलाई कहिल्यै नदेखेको भगवानको चिन्ता छ,जनावरको चिन्ता छ तर आफ्नै छोरी,बुहारिको ज्यानको चिन्ता छैन। यहाँसम्म कि उनिहरुलाइ नुहाउने र लुगा धुने ठाउसम्म पनि छुट्याइएको हुन्छ समाजको यस्तो रुप देख्दा समाजलाई समाज भन्न पनि रुचाउदिन म कहिलेकाही ।


जब छाउगोठ भत्काउदैमा  छाउपडिको अन्त्य हुन्छ भन्ने मानसिकताका साथ गाँउ गाँउ पसि धमाधम छाउगोठ भत्काइरहेका एनजीओहरु देख्छु हासो उठ्छ,महिलाहरुका नाममा फेरि अर्को उपहास गरे झै लाग्छ । जब म मध्य तथा सुदुर पश्चिमलाई आफ्नै नजरबाट निहाल्न खोज्छु किन आज सामान्य रजस्वलाको बिषय त्यहाँको बिकराल समस्या बनेको छ। महिला माथी हुने बिभेद र अन्यायको हद बनेको छ ।तर जवाफमा मौनता शिवाय केही पाउदिन । एकातिर सुन्दर पश्चिमको नारा जोरजोरले घन्किरहेको छ अनि अर्कोतिर हामी जस्ता छोरिहरुको रोदनको आवाज त्यो नाराभित्र गुमनाम भएको छ।

मान्छु  म पश्चिम नेपाल हरेक कुरामा पछाडि छ ।अशिक्षित छ,अबिकसित छ,तर त्यहा केही शिक्षित बर्ग पनि त छन्,हुनेखाने बर्ग पनि त छन् ।तिनीहरु बाट नै छाउपडिको अभ्यास धेरै भएको र महिनावारीको समयमा छिछी र दुरदुर गरेको देखेकी छु मैले । जब म पहिले पल्ट महिनावारी भएकी थिए । मलाई छाउगोठसम्म पुर्याउने मेरि आमा थिन् जो संग उच्छ शिक्षाको प्रमाणपत्र थियो । अनि त्यहा म जस्ता धेरै छोरिहरु छाउगोठमा बस्न बाध्य भएका थिए र छन् जबकी हाम्रो समाज त्यहाको शिक्षित र हुनेखाने समाजमा पर्छ। बारम्बार सुन्ने गरेकी छु मैले महिनावारी हुदा यो नगर,त्यो नगर देवाता रिसाउछन् यहाँ नजाउ,त्यहा नजाउ बस अब एकपटक ति देवतासंग भेट्नु छ अनि गर्नु यस बिषयमा सवाल जवाफहरु ।



छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित 'मुलुकी अपराध संहिता विधेयक, २०७४' पारित गरेको छ राज्यले तर यो लागू हुन हामिले कुन सदिको प्रतीक्षा गर्नुपर्ने हो थाहा छैन । छाउप्रथा जस्तो संबेदनसिल पक्षमा  राज्य ले खासै ध्यान दिए जस्तो लाग्दैन  यदि दिएकै भए पनि त्यो देखाओटी मात्र लाग्छ । कहिले हुने राज्य यसप्रति पुर्ण सचेत अनि उत्तरदायी ।अझ कहिलेसम्म पश्चिम नेपालका छोरिहरुले छाउसंग जोरि खेल्दै छाउसंग हारिरहनुपर्ने यो प्रश्न म अनि म जस्ता लाखौं छोरिहरुतर्फ बाट  समाजप्रति अनि राज्यप्रति ....

Wednesday, March 7, 2018

मार्च ८ : हर्ष कि बिस्मात

मार्च ८ : हर्ष कि बिस्मात
कलार जेट्लिन बाट सुरु भएको महिला आन्दोलनले करिब १०८ बर्ष पुरागरेको छ र पहिलेका बर्ष जस्तै यो बर्ष पनि १०८ औ महिला श्रमिक दिबस मनाउनको लागि शहरका ठुला ठुला होटेलका सेमिनार हलहरु बुक भइसकेका छन। एकातिर  सहरका ज्ञानि सज्जन र भ्रदभलादमि भनिएका अधिकारकर्मीहरु गोष्ठी गरि अनि महंगो बिल तिरि पिछडिएका महिलाहरुको नाममा महिला श्रमिक दिबस मनाएको भनेर गम्मक पर्छन तर उता तीनै हुम्ला, जुम्ला ,कालिकोट अनि डोल्पा दार्चुलाका महिलाहरु जसको नाममा यहाँ यति ठुलो कार्यक्रम गरिन्छ। उनिहरु स्वयमलाई नै यसको बारेमा न जानकारी हुन्छ, न नारी दिबस के हो भन्ने  कुरा नै थाहा हुन्छ ।
मार्च ८ के कोठाका चारदिबारीमा सेमिनार र गोष्ठी गरेर पूरा हुने यति सानो र कम्जोर बिषय हो । बर्षौ देखि महिला मुक्ति र महिला आन्दोलनको बिषयलाई लिएर ठुला ठुला घटनाहरु घटेका छन र घट्दैछन तिनको सार्थकता के यस्तै सेमिनार र गोष्ठीको भरमा पूरा हुन्छन् त ।आज यस्ता सवाल सबैका मन उठिरहेका छन् र उठ्नु स्वाभाविक पनि हो । अनि महिलालाई अधिकार दिने नाममा पनि  राज्यले महिलाको प्रति मीठो उपहास गरे झै लाग्छ। हामिले देखेकै छौ, राज्यको प्रतिनिधि सभा देखि लिएर गाउँपालिकाको मुख्य पदहरुमा महिला मात्र सोपिसको रुपमा देखिएका छन अझ भनै देखाइएका छन र महिलालाई प्रयोग पनि त्यसरी नै गरिएको छ । तर राज्य हामिले महिलालाई अधिकार दियौ भन्दै जोड जोडले नारा लगाउदै र आवाज ठूलो पार्दै आफैमा गमक्क परेर बसेको छ जुन हास्यास्मक लाग्छ।

महिलामुत्तिको आन्दोलन लडेर आएका र लडिरहेका धेरै महिलाहरुलाई देखेकी छु मैले तर उनीहरु वैवाहित सम्बन्धमा गासिएपछी एकाएक हराएका छ्न् र भएका छन गुमनाम ।कहाँ जान्छन् ती महिला किन हुन्छन् ती त्यसरी गुमनाम के कहिल्यै हामिले गम्भीर रुपमा सोचेका छौ ? अझ मार्च महिनालाई नै नारिको महिना मान्ने र यसैका मुद्दालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने भनिन्छ। के अब महिलाका मुद्दा उठाउन हामिले मार्च महिना नै कुर्नु पर्ने हो यदि हो भने खै त्यो सदियौ देखि लड्दै आएको लडाइको औचित्य अनि हामिले हासिल गरेको उपलब्धिको सार्थकता।

हामिले नेपाली समाजलाई गहनता पुर्बक अध्ययन गरेयौ भने थाहा पाउछौ ।आज पनि महिलालाई घर देखि आगन सम्म निस्कन छोरिलाई बाबुको,श्रीमतीलाई श्रीमानको अनि आमालाई छोराको अनुमति चाहिन्छ ।अनि खै कहाँ छन महिला स्वतन्त्र,अनि कहाँ छ महिलाको स्वतन्त्रतापुर्बक बान्च पाउने हक र अधिकार । भन्दा त भन्यो राज्यले पारीश्रमिक आयमा १० प्रतिशत र औद्योगिक आयकरमा ३३ प्रतिशत छुने दिने,उद्योग दर्ता(३५प्रतिशत),सम्पत्ति  पेटेन्ट २० प्रतिशत कर छुट,घरजग्गा रजिस्ट्रेसन दस्तुरमा छुट । तर के साच्चै ती लागू भएका छन त ब्यवहारमा के यति नै यथेष्ट छन सशत्तिकरणका लागि ?

आज हामीलाई बिस्व सामु गर्व गर्न ठिक्क छ कि हामिले महिला राष्ट्रपति,महिला प्रधानन्यायाधीश र महिला सभामुख पाएका छौ भनेर । के हामिले कहिल्यै सोचेका छौ यसपछी के ? कि यतिले नै पुग्यो हामिलाई । यति तीन जना महिला सशत्तिकरण हुदैमा हाम्रो आन्दोलन पुर्ण भयो त,होला यो हाम्रो लागि अवसर पनि तर अहिलेको अबस्थामा बिकराल चुनैतिको बिषय बनेको छ यो ।एकातिर आफुलाई प्रमाणित गर्नु पर्ने पुरुषका अगाडि, यो पितृसत्ताले जरा गाडेको समाजको अगाडि अनि अर्को तिर ती तमाम महिलालाई अगि सार्नु पर्ने छ जसकालागी हामिले यो आन्दोलन लडिरहेकाछौ ।

अनि अर्कोतिर दिनानुदिन बढै गएको छोरी भुण हत्या,जसलाई समाजका बुझेका र पढेलेखेका भनेका ब्यक्तिले नै राम्रोसँग अभ्यास गरिरहेका छन यस्तो समाचार दिनहु पढिरहदा र सुनिरहदा दिक्क लाग्छ अनि मनमा प्रश्न उठ्छ न त गर्भमा ,न त यो समाजमा नै आखिर कहाँ छन् महिला सुरक्षित ।महिला आन्दोलनको नारा चर्काउदै गर्दा,महिलाका मुद्दा सडकदेखि सदन  सम्म पुराउदा पुराउदा हामी महिला स्वयम् मेटिन्छौ होला एकदिन तर अह यो पितृसत्ताको जरा गाडेको समाजले पितृसत्ताको घुम्टो ओढेर बसेका समाजका टाउकेहरुले हाम्रो कुरालाई कहिल्यै पनि गम्भीरतापुर्बक लिने छैन । र यसै बिषयलाई लिएर एकदिन संसारमा सिरियामा जस्तै महिला पुरुषबिच भयङ्कर द्वन्द्व सिर्जना न होला भन्न सकिदैन ।

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...