Yamunathapablog

Tuesday, November 30, 2021

सती- आगो बिना जल्ने क्रम अझ उस्तै छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर महिला हिंसा विरुद्धको १६ दिने अभियान

मनाइन्छ । जहाँ महिलामाथि भएका र हुने शारीरिक, मानसिक र सामाजिक पिडाका बारेमा चर्चा गरिन्छ । विभिन्न सरकारि तथा गैरसरकारि संघ संस्थाले यसको बारे विभिन्न नारा लगाएर, क्याम्पिएन चलाएर र कार्यक्रमहरु गरेर यसलाई मनाउने गर्छन् ।

 यहि १६ दिने अभियानलाई साथ दिन र अझ विषेश बनाउन मैले केही समय अगाडि मात्र बजारमा आएको सुजित मैनालीको पुस्तक सतीका साथ सुरु गरें । 

 सती भन्ने बित्तिकै मैले लागेको थियो "होला कुनै उपन्यास जहाँ नारी पात्रलाई केन्द्रमा राखेर एउटा पिडादायिक कथा बुनिएको होला ।"यस्तै सोच्दै मैले सतीका पानाहरु पल्टाउन थालें; जति जति पानाहरु पल्टाउन थाले मेरो उपन्यास वाला मानसिकता भत्किदै गयो र मेरो अगाडी उपस्थित भयो एउटा नेपाली पुस्तकको नयाँरूप, नयाँपन जसले ममा पुस्तकलाई लिएर नयाँ उर्जा थपिदियो। मेरो पढ्ने जाँगरलाई दुई गुना बढाइदियो।

सती अर्थात 'चोखो,चरीत्रवान्, पवित्र' आदि आदि । हाम्रो समाजले नारीमा सँधै यहि कुरा खोज्छ र यहि कुरा हाम्रो मन मस्तिष्कमा बसाइदिन्छ र नारीहरु पनि सती हुन पाउँदा खुब गर्व गर्छन् ।

सती प्रथा के हो ? कस्तो होर यसले महिलालाई कसरी र कति सम्म शोषण गरेको छ? कुन कुन समयकाकालखंडमा यसले महिलालाई कसरी शोषण गर्यो ? भन्ने कुराबाट सुरु भएर पुस्तक पहिलो अध्याय देखि आठ अध्यायमा गएर सकिएको छ त्यसपछि केही किंवदन्तीहरु अनुश्रुति र अभिलेखहरुकासाथ पुस्तक सकिएको छ ।

महिलालाई तिमी महान छौ, तिमीमा देवीको रूप छ । तिमीले आफ्नो श्रीमानलाई सदा सर्वदा प्रेम गरिराख्नु पर्छ । तिमी श्रीमानको सम्पत्ति हौ । श्रीमानको जीवनलीला समाप्त भएपछि तिमीले पनि आफूलाई उसको प्रेयसी साबित गर्नुपर्छ, त्यसैले तिमी तिम्रा श्रीमानसँगै सती जानू पर्छ, उसको चितासँगै जल्नु पर्छ तब मात्र तिम्रो सत्यता प्रमाणीत हुनेछ जस्ता कुराहरुले महिलाको मानसिकतालाई आफ्नो बसमा गरेर यो पुरुषबादि समाज, अझ म यसलाई पितृसत्ताको भोको समाज भन्न रुचाउछु । जसले महिलालाई विवश पारेर उनीहरुको हत्या गरेको छ । उनीहरुको रगत पिएर आफू दिनप्रतिदिन जवान हुँदै गएको कुरा सतीको पहिलो अध्यायबाट नै प्रष्ट हुन आउँछ । 

सती देवि देखि सितासम्मको कुराहरु उठाएर लेखकले हाम्रो सामु सति प्रथाको विषयमा अझ उजागर गरेका छन् । मनुस्मृती कुराहरु जोडेर लेखकले महिलालाई प्रताडित गर्न हाम्रा स्मृतिहरु पनि कम छैनन् भन्ने कुरालाई हाम्रो सामु प्रस्ट्याएका छ्न् । महाभारतको कुरा अलग छ ।

सती प्रथा कहिलेदेखि सुरु भएको त्यो भन्न कठिन भए पनि यो मुसलमानको आक्रमण पछि यो अझ कडा हुँदै गएको र भारत हुँदै नेपालसम्म आइपुगेको अनि नेपालमा पनि यसको अभ्यास राम्रै भएको कुरा हामी पुस्तक अघि बढ्दै गर्दा थाहा पाउछौ । 

 पुस्तक पढी सक्दा मेरो मनमा प्रश्नभन्दा पनि बढी उत्तरहरू थिए । सायद यहि लेखकको बलियो पक्ष हो ।

हुन त कमजोर मान्छेका कथाहरु लेखिंदैनन् । त्यो समयमा आम महिलाहरु कति सती गए कति यसका सिकार भए त्यो भन्न कठीन छ । तर महिला हिंसा, महिलाको यौनजीवनमाथी नियन्त्रण, उसलाई मात्र यौन दासि सम्झिनु, सन्तान उत्पादन गर्ने फगत मेसिन सम्झिनु हिजोका दिनमा मात्र हैन आजका दिनमा पनि यो सोच उच्च धरानियाहरु राम्रै पाइन्छन् । बस हिजोका दिनमा महिलाहरु उनीहरुका पतिसँगै सती जान्थे र यी कुराहरु बाहिर कमै आउँथे आजका दिनमा यी कुराहरु छरपस्ट छन् तर पनि महिलाहरु बाध्य नै छन् ।

 सतीका बारेमा सती प्रथाका बारेमा पुस्तकले सके जति खुराकहरु पस्केको छ, पस्कने कोशिश गरेको छ । 

महिलालाई हाम्रो समाजले सधैँ दोस्रो दर्जा कै रुपमा हेर्छ । महिलालाई सती पठाउनुको प्रमुख कारण नै सम्पत्तिमाथी महिलाले हक दाबी गर्न नपाउन भन्ने थियो र यो आज पनि कतिपय कुराहरुमा झल्किन आउँछ अनि राज घरानाहरुमा रानीहरु सत्ताको भागिदार बन्न नसकुन भनेर जान्ने बुझ्ने पुरुषले गरेको बठ्याइ थियो तर जे थियो त्यो साह्रै क्रूर थियो । पाप थियो । र आजका दिनमा पनि हाम्रो समाजमा नारीको यहि अवस्था छ; बस जलाउने र जल्ने तरिकामा परिवर्तन आएको छ ।

समाज बदलिएको छैन, बस बदलिएको जस्तो मात्र देखिन्छ। समाजकोठूलैहिस्सामाआज पनि माहिलाहरुको योनिमा इज्जत बसेको छ । आज पनि छोरीलाई कन्यादान गरिदिन पाउँदा बाबाआमा खुसी हुन्छन् आज पनि महिनावारी हुँदा महिला स्वयमले आफु अपवित्र भएको महसुस गर्छन् । बोक्सीको आरोपमा कुटिनु होस्, बलात्कारको सिकार हुनु होस् वा तेजावबाट जलिनु होस् महिला जलेकै छन् । जलाएकै छन् ।

यी कुराहरु लेखकले पुस्तकमा राम्रोसँग पस्केका छन् । पुस्तक पढिसक्दा लेखनले यति धेरै कुरा लेखिरहँदा हामीले यो सोचलाई अत्यन्त गर्न अझ कस्ता कदम चाल्नुपर्ने हो भन्ने बारे खुलाएको भए हुन्थ्यो भन्ने लागेको थियो, त्योरहेनछ। तर लेखकले कति कुराहरु हामी पाठक स्वयंलाई सोच्न लगाएको अनुमानगर्नसकिन्छ ।

तरपनि अझ कतै लाग्छ जति पनि कुराहरु पुस्तकको सुरु देखि अन्त्यसम्ममा लेखिए ती सबै एउटा समयदेखि अर्को समयसम्मका दास्तान थिए जुन आज पनि हाम्रो समाजमा अवशेष बनेर रहिरहेका छन्।सती प्रथा देखि महिलामाथि जमाइएका अनेकौं प्रभुत्वहरु ती सबै पितृसत्ताका ज्वलन्त उदाहरण हुन् । लेखेकले यसरी लेखिरहँदा यी कुरालाई पनि समेटेको भए पुस्तक अझ सुन्दर हुने थियो जुन अवशेष हाम्रो समाजमा रहेको छ । यसलाई चिन्तनतर्फ कसरी लिन सकिन्छ भन्ने कुराको छलफल पनि जरुरी छ कि जस्तो लाग्छ मलाई ।

 अन्ततः पुस्तकमा राम्रो अनुसन्धान भएको कुरा पुस्तक पढ्दापढ्दै थाहा हुन्छ । पुस्तकमा कति कुराहरु यस्ता छन् जसले बिना आगो मन मुटु जलाई दिन्छन् । कति किंवदन्ती पढ्दा म आफै सिरिङ्ग भएकीछु । यस्ता कुराहरु पढिरहँदा लेखकको मेहनत नजर आउँछ र सबैभन्दा राम्रो कुरा यस्ता पुस्तक नेपाली बजारमा कमै लेखिन्छन् र यस्तो पुस्तक लेख्ने जमर्को सुजित मैनालिले गरेका छन् जुन आफैमा सराहनीय छ ।।

Sunday, November 28, 2021

मेरो प्रेमसँगको यात्रा

तिम्रो सानिध्यतामा

मैले आफ्नो सम्पूर्ण छहारी भेटेकि छु,


जहाँ, 

थकाइ मारेका छन्

मेरा धड्कका बेगहरुले

आँखाका खोजहरुले,


जहाँ,

सकिएको छ 

मेरो प्रेमको पर्खाइ 

अनि सुरु भएको छ 

मेरो प्रेमसँगको यात्रा

जहाँ मैले महसुस गरेकि छु-


आफ्नो स्वतन्त्रता, 

आफ्नो निम्ति तिम्रो सहृदयीता 

अनगिन्ती स्नेह, प्रेमिल स्पर्श 

अनि तिम्रो आँखामा 

आफ्नो निम्ति इज्जत, 


जसको हरेक पललाई बाधेको छ 

विश्वास,आफ्नोपन र आत्मियताको डोरले,


जहाँ,

सहजै सुनिन्नछन् 

मुटुका धकधकहरु

सहजै अहिसास हुन्छन् 

एकाअर्काका रोदनहरु,


जहाँ,

आँखाले मुस्कुराएको छ प्रेम 

ओठले गुनगुनाएको छ प्रेम

अनि वसन्त बिना पनि

स्वयम् वसन्त बनेको छ प्रेम,


जसमा समाएको छ जुनको शितलता,

सूर्यको प्रताप, ताराको चमक 

अनि स्वयम् सप्तरङ्गी इन्द्रधनुष,


र,

त्यहाँ बसेको छ एउटा यस्तो बस्ती 

जहाँ मौलाएका छन् प्रेमका 

अनगिनती रहरहरु

फूलेका छन् प्रेमका सुन्दर फूलहरु  

जसको सुगन्धले मगमगाइ रहेको छ सम्पूर्ण समष्टी 

जसको नूरले चम्किरहेको छ सम्पूर्ण सृष्टि ।।



Thursday, November 25, 2021

"तिमीसँग आफूलाई पाएर म खास महसुस गर्छु ।"

मैले बाँचिरहेको जिन्दगीको जिन्दगी हौ तिमी

जिन्दगीको हरेक पलको प्रीय मान्छे हौ तिमी,


संसारका सारा कुरा एकातिर 

तिमीलाई सम्झेको पल अर्कोतिर

साँच्चै, 

हरेक कुराको बारेमा म पुन:सोचेपनि 

किन किन तिमीलाई सम्झेर ढुक्क हुन्छु म,


यी दिनहरुमा,

तिमी कुन पलमा छौ यो सोच्न मन लाग्दैन

तिमी कुन पलमा छैनौ बस यहि अहिसास काफी भइदिन्छ,

मुस्कुराउनलाई, बाँच्नलाई अनि खुसी छर्नलाई


बादलबिनाका वर्षाहरु, घामपानी बिनाका 

इन्द्रधनुशहरु, क्यानभासबिनाका चित्रहरु 

रङ्गबिनाका रङ्गहरु ...... 


आहा! कती सुन्दर बनी दिन्छन् 

यी जब मात्र प्रेमको प्रेमिल रङ्गले रङ्गिनछन्, सिङ्गारिन्छन् 

म यसै यसै लजाउन पुग्छ जब 

यि मलाई आफूमा समाहित गराउन मेरो पछि भाग्छन् ...


भन्छन् "प्रेम खास हुँदैन प्रेमले प्रेमका 

ती प्रत्येक पलहरुलाई खास बनाइदिन्छ"।


थाहा छ,

"तिमीलाई आफूसँग पाएर म खास महसुस गर्दिन, 

तिमीसँग आफूलाई पाएर म खास महसुस गर्छु ।।"



उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...