
हेर्दाहेर्दै
नयाँ वर्ष आयो, गएको वर्षको अन्तिम महिनादेखि घरको कोठामा
बन्द भएका हामी कोठामा नै छौ तर नयाँ
वर्ष त नयाँ वर्ष नै हो अझ यो
वर्षको नयाँ वर्ष अलि फरक छ। मान्छेहरुसँग धेरै अपेक्षा छन्, आशा
छन्। खै थाहा छैन पूरा हुन्छन् कि हुदैनन् ।
नयाँ वर्षमा
आमाले फोन गर्नु भयो। आमासँगै बाबा, भाइ, बहिनिसँग
पनि कुरा भयो । गाउँको माया आफ्नाको माया मनभरी उर्लेर आयो।आखाँ रसाए। सम्झनामा
एकाएक गाउँ लटरम्म गरि छायो- “रुखमा आँप
फलेको” जस्तै गरि ।
मन गयो यो सानो
कोठाबाट गाउँ घुम्न वनभरी काफल टिप्दै, कोइलीका भाकामा
भाका मिलाउदै हिड्यो मन। खोलाको किनार बसेर खोलाबाट एक अञ्जुली पानी निकालेर
पानीको तिर्खा मेट्यो अनि फेरि, खेतबारितिर लगायो
एक नजर।
मनले डुलेको गाउँ
उस्तै थियो पहिला जस्तै, मान्छेहरू कहाँ सहरको जस्तो
लकडाउनमा थिए र ! उनीहरुको आफ्नै लय थियो कामको, चौतारीमा
उसैगरी भारि बिसाइ रहेका थिए बटुवाहरु, पसिना उस्तै
थियो। चौतारिमा गाइने भाका उस्तै थिए। सब सब उस्तै थियो त्यहाँ न सरकारको लकडाउन
थियो न प्रहरिको लाठि केहि थिएन। लकडाउन त सहरमा रहेछ अनि लकडाउनमा त म पो रै’छु। चौतारिका
बटुवाका बात उस्तै थिए, दु:खमा पनि मिठास भरिएका, आशा र
हौसलाका उहिँ एक छाक टार्न पाए सबैथोक पुरा भए जस्तो उनीहरुलाई …. जति
कमाए पनि नपुग्ने त सहरमा रहेछ।
गाउँको गति उँहि
थियो छुटेकि त म पो रै’छु मेरो आगनबाट पर देखिने त्यो क्षितिज
जसलाई भेटेर म आकाश छुने बाचा गर्थे, मेरो गुडिया जसको
बिहे गरेर राम्रो घर बनाई दिने कसम खान्थे ती सब छुटे।साथीसंगी छुटे, पुतलीको
पछि भाग्ने दिन छुटे, बाख्रा चराउने वन छुट्यो, भारि
बिसाएर पानि खाने त्यो धारो छुट्यो, पौडि खेल्ने खोला
छुट्यो। ।भाइबहिनिसंगको मस्ति छुट्यो।दुखका रमाइला दिन छुटे। के के छुटे छुटे।
छुटेका कुरा औला भाचेरै सकिदैनन्। साच्चै सबैभन्दा बढि त याद छुटे।
आज ती सबैकुरा
एकाएक ताजा भएर आएका छन्। त्यो घाम पनि कति प्यारो, त्यो
हावा कति मिठो, ती गुराँस कति सुन्दर साच्चै यादमा लहरमा सबै सबै साह्रै
सुन्दर छन् गाउँका।
म आफु सहरको
ठूलो घरको सानो कोठामा छु।
साच्चै नयाँ
वर्षले धेरै कुरा याद दिलाइयो। सहरदेखि गाँउसम्म पुरायो।गाँउका स्मृतिलाई ताजा
बनाइदियो। यस्तै सोच्दै घरि तल गर्छु घरी माथी गर्छु। घरी
वल्लो कोठा पल्लो कोठा, कतिबेला मन साह्रै छट्पटीन्छ। किताब हातमा
राखेर मनलाई शान्त पार्न खोज्छु एकछिन मोबाइल
हेर्छु यस्तै गरि बित्दैछन्, यो समयमा दिनहरु।
उता मेरो गाउँमा
खेतमा गहुँ पाकिरहेका होलान्, वैशाखको पसिना सुसाउदै कोइलिको
डाकोसँग मान्छेहरु गहुँ स्यार्दै होलान्, लालिगुराँस
ढकमक्क फुलाएर भनेर पहाड कति गमक्क परेको होला । यता मेरो
सानो कोठाको झ्यालबाट त अलिकति आकाश पनि बल्लतल्ल देखिन्छ र म मनको आकाशमा संसार
कल्पेर बसिरहेकी हुन्छु ।
आकाशको जुन
हेर्छु ताराहरुले इर्ष्या गरेको जस्तो लाग्छ। फेरि म तारातिर पनि हेरिदिन्छु ।
आजभोलि राजधानिको
आकाश मौन छ। राजधानि मौन छ। त्यहि प्रहरी र एम्बुलेनसका एउटा दुईवटा गाडीको आवाज
हो सुनिने भनेको ।भरिभराउ भएपनि शुन्य छ राजधानि, यस्तो
शुन्याको खै के कुरा गर्नु । मृत्युको मेलामा बाँच्नेको के कुरा गर्नु?
दिनहरु यसरी
बितेको कति भइसक्यो। अचेल भोलि त न दिनको याद हुन्छ न
रातको नै ठेगान हुन्छ, न
गतेको हेक्का हुन्छ न बारको नै। “आज
कति पो गते बिर्सिन्छु अनि हाम्रो पात्रो पल्टाउछु ए! आज २७ गते पो रहेछ”।
यस्तै बेला सम्झिन्छु हजुरबाका कुरा हाम्रा लागि “के
बार के दिन सबै उस्तै हुन बा”।
यसैबेला हजुर
धेरै याद आउनु हुन्छ सोच्छु कहाँ हुनुहुन्छ होला? के
गर्दै हुनुहुन्छ होला ? मरेपछि मान्छेले
जुनि बदल्छन रे साच्चै हाम्रो हजुरबा के हुनु भयो होला साह्रै कडा स्वभावको
हुनुहुन्थ्यो कहि बाघ त हुनुभएन फेरि सोच्छु मलाई त माया गर्नु हुन्थ्यो क्यार …. यस्तै
यस्तै ।
उमेर बित्दै
गएपनी मन झन झन बच्चा हुँदै जाने रहेछ। साथीसँग गट्टा खेल्छ मन कतिबेला काफल
टिप्न भनेर वन-वन चाहर्छ । कति बेला बेहुला बेहुलि खेल्छ।
मनको यो चन्चलपन देखेर कतिबेलाम आफै हैरान
हुन्छु।कतिबेला मुस्कुराउछु आफैलाई पत्तो हुदैन।
लेख्न न त ठुला
ठुला कुरा लेख्नु पर्थ्यो होला, इतिहास, विज्ञान, समाजशास्त्र
अनि विश्वका कुरा कोरोना र योसँग संबंधित कुरा मैले त यस्तो केही पनि लेखिन, खै
किन मन गाउँ मै छ । पुतलिको पछि भाग्न ठिक्क छ। गँहु स्यार्न, चौतारिमा
भाका मिलाउन अनि साना साना भाइबहिनीसँग लुखामारी खेल्न मन त्यतै व्यस्त छ ।
यसरि पनि चल्ने
रैछ जीवन। हिजो हतारमा पनि चलेकै थियो आज केहि नगरे पनि चलेकै छ। सम्झानामा पनि, बिर्सनामा
पनि। आँधीमा पनि समुन्द्रको शान्तपनमा पनि।
आखिर जसरि पनि चल्ने त रहेछ जीवन। बाच्नु त छ नै त्यसैले अब निराश र दु:खका कुरा
हैन, आशाका दिपहरु प्रज्वलित गर्दै आफुलाई नया नया सृजनामा
व्यस्त बनाउदै बाच्नु छ अनि अरुलाई पनि यसरि बाच्न आवाहन गर्नु छ।
No comments:
Post a Comment