उसको नाममा कोरेका
यी अनगिन्ती पत्रहरु
अझ प्रेमपत्रहरु
ऊ कोर्दै र फाल्दै गरिरहेकी छे
यसै गर्दागर्दै कतिबेला
उसको कोठकाे सानो डस्बिन
भरिन्छ उसलाई थाहै हुँदैन
फेरि के लाग्छ कुन्नी उसलाई
एकतमास ती फ्यालिएका
पत्रहरु खेलाउन थाल्छे
अक्षर र वाक्यका विशाल अर्थ संयोजन
यसरी मिल्छन् कि
उसको मायालुका सम्झना
उसको मुटुभरी छरिन्छन् कहिल्यै नमेटिने
मृगतृष्णा बनेर,
के थाहा थियो उसलाई
समय पनि कठोर हुँनेछ भनेर
बिकराल हुँनेछ भनेर
उसको प्रेमिले उपहार स्वरुप दिएका
यी नौरङी चुराहरुका रङ्ग उस्तै रहेनन्
गुलाफ उस्तै रहेन
यो सिंदुर, यो पोतो उस्तै रहेन
बस उस्तै रहयो त उसको प्रेमिप्रतिको
प्रेमिल सद्भाव
तर समयले उसको यो खुसी धेरै बेर थेकीरहन सकेन
वसन्तले उसको प्रेममा रङ्ग भरिरहन सकेन
बस सम्झनाहरु रहेछन् सधैँ जीवित रहने
जिन्दगी त भरोसा बिहिन रहेछ,
भन्छन्- जन्म,मृत्यु र प्रेम उसले लेखिदिन्छ
यदि यसो हो भने उसको प्रश्न छ
यो समयसँग
किन सुनिएन उसको प्रेमको आवाज
प्रेम त प्रकृतिको रचना हो
स्वयम् शिवशक्ति हो, राधा कृष्ण हो
अनि किन सुनिएन उसको
अन्तस्करणको आवाज
किन केही बोलेन राज्य
उसको प्रेमिले रेमिटान्समा पठाएको पैसाले
आफ्नो गोजी भर्ने यो सरकार
किन मौन रहयो
त्यो पराइ भूमिले उसको प्रेम खोस्दा,
जबजब ऊ सोच्छे
आफ्नै यथार्थको पहाड
स्वाभिमान बनेर आफ्नै अगाडि
ठडिदा
यो सरकार के गर्दो हो
यो रातो हुँदो हो कि कालो
आफ्नो हुँदो हो कि बिरानो
कहिल्यै दासत्त्व न भोगेको उसको देश
के सोच्दो हो यो लाचारिपनमा
के कहिल्यै यसले स्वतन्त्रताको सास
फेर्न पाउला यी दलालहरुको
पन्जाबाट फुत्किएर,
उसको प्रेमिको सपना थियो
देश हिमालदेखी फेदि, फाट हुँदै
महासिन्धुसम्म पुगोस्
देशको सभ्यता
जहाँ
सम्पूर्णको जीवन बाँचेको छ
जहाँ जिन्दगीहरु हाँसेका छन्
तर
थाहा छैन यो सुरुवात हो कि
एक अघोषित द्वन्द्व,
जसले देशको निमित्त आफ्नो देश छोड्यो
जसले देशका तमात ब्यासाहरुको भोक मेटायो
जसले बस दुईछाक खानलाई
देश र देशको माया बोकेर देश छोड्न बाध्य भयो
आज उसको निम्ति बोलिदिने कोहि भएन
राज्य बहिरो भयो
सरकार अन्धो भयो
हिजो ऊ झोला बोकेर गएको थियो
आज बाकसमा त्यही झोला सहित फर्किएको छ
बस साथमा छैन त सास,
जसले गरेको थियो देशसँग अमिमित प्रेम
आफ्नी प्रेमिकासँग अनगिन्ती बाचाहरु
प्रेम दिवसको अवसर पारेर
आज उहीँ प्रेमीको मृत शरीर
आफ्नो काखमा राखेर रोइरहेकी छ
एउटा प्रेमिका
र उसको आँखामा प्रतिबिम्बित भइरहेकोछ
एउटा यस्तो आगो जसको नाम हो - महाभारत ।।
No comments:
Post a Comment