“एक थोपा पानी, एक
धर्सो किरण, एक झोका पवन ..
बस अनि एक पल प्रेम जुन प्रेमिल बनिदिन्छ
तिमी साह्रै सुन्दर लाग्छौ, लाग्छ
संसार सुन्दरताको मोहोमा डुब्दैछ
.... त्यस पछि प्रेमको फुल कहिल्यै फुल्दैन”।
मुहार मनसम्मको
बाधक बनिदिन्छ, प्रेम गर्नेहरु मनको कुरा गरेर मुहारमा रुमलिरहेका हुन्छन्
अनि प्रेमलाई पाए भन्नेहरु मनसम्म कहिल्यै पुगेको जस्तै लाग्दैन। यो मेरो प्रेम गर्नेहरुलाई देखेर निकालेको निष्कर्स हो।
अब त हामिसंगै हुन्छौ
भन्ने आशा पनि सकिसकेको छ ... छ त केबल मीठो बिगत जुन आगमिक दिनहरुमा तितो याद
बनेर आउनेछ मलाई सताउन तर तिमी बिश्वास गर म कत्ति पनि आत्तिने छैन,
कम्जोर पर्ने छैन।बरु म डटेर
उभिनेछु यी यादहरुका सामुन्ने।किनकि
मलाई थाहा छ यौवनमा मात्र हो पिरतिको धुन
सुरिलो सुनिने, जिन्दगीको बसन्त त एकपटक
शिशिरमा बदलिए पछि जिन्दगीमा जति नै बहार आएपनी त्यो पुन वसन्त बन्न सक्दैन ।
यी दिनहरुमा तिमी
साह्रै नबुझिने मान्छे हौ
मेरो लागि, न तिमी मलाई
टाढा जान दिन्छौ, न
नजिक आउन नै त्यसैले पनि मैले टाढा जाने
फैसलालाई अमल गरेकी हुँ। आशाले मान्छेलाई
जती जिउने आधर दिन्छ। अपेक्षाले त्यति नै मान्छेलाई दुख दिन्छ यो तिमी र म दुबैलाई
राम्रोसंग थाहा छ।त्यसैले अपेक्षालाई एकातिर पन्छ्याएर अगाडि बढ्नु नै
उचित हुन्छ यस्तो मेरो मनले मेरो मस्तिष्कले निर्णय गर्यो जसलाई म पछ्याउँदै छु ।
तिमी जान्दैनौ मेरो यो फैसलालाई मेरो यो कदमलाई ...र
म चाहन्छु यि दिनहरुमा तिमी अन्जान नै बन
किनकि मलाई थाहा छ “मेरो
आकर्षणको जादु तिमीबाट सकिएको छैन”।
आकर्षण जादु गजबको
चिज हो यसले नाफा र नोक्सान दुबै गर्छ त्यसैले यो बिस्तारै बिस्तारै सकिएकै राम्रो र एकदिन सकिनेछ पनि। किनकि मलाई प्रेमलाई मात्र प्रेम सहित बाँच्नु छ बाँकि अरु थोक हैन।मलाई प्रेममा साउनको भेल जसरी हैन
समुन्द्र जसरी शान्त भएर बग्नुछ र गर्नुछ अनन्तसम्मको यात्रा चाहे त्यसमा तिमी साथ
हौ नहौ मलाई केही फरक पदैन बस मेरो प्रेम बदनाम हुनु भएन मेरो प्रेमको गरिमा
कुल्चिनु भएन।
मान्छेहरू जोडि
ढुकुरको कुरा गर्छन् .. किनारा हुनुको पनि त मज्जा बेग्लै छ .. अन्तिम समयसम्म साथ
निभाइ राख्न के जोडि ढुकुरले सक्छन् होला र ? तर
किनाराको साथ कहिल्यै छुट्दैन अनि त्यहाँ प्रेम
छैन कसरी भन्न सक्छौ तिमी ?
लाग्न सक्छ
तिमिलाई म भ्रमको खेती गरिरहेकी छु ...तर बिश्वास गर तिम्रो बिश्वासलाई म खेर जान
दिने छैन। र भन्ने पनि छैन कि तिमी मौसम सरि बदलियौ, बदलिनु
मौसमको रहर हैन यो त उसको बाध्यता र जिम्मेवारी
हो प्रकृतिको भलाईको निम्ति ..जुन मलाई राम्रोसंग थाहा छ अनि म कसरी
यती स्वार्थी बनेर मौसमलाई कारण देखाएर तिमीलाई दोषी
करार गर्न सक्छु। प्रेममा यो सब
हुदैन प्रेममा त बस कदर हुन्छ।र छ
मलाई कदर, प्रेमको कदर।
थाहा छ सानो सानो
कुरामा तिमीसंग बादबिबाद
गरिरहु, तिमीसंग घन्टौसम्म उल्झी रहु यस्तो नलागेको हैन.. तर फेरि
सोच्थे कहि कतै यहि बिच तिम्रो मन दुखाउन पुगेछु भने अनि
मलाई चुपचाप तिम्रो जित घोषणा गर्न मन लाग्थ्यो र म गर्थे पनि त्यसै।
न तिमिलाई पाउछु
भन्ने आश छ, न गुमाउछु भन्ने डर नै, किनकि गुमाउनलाई
तिमी म संग छैनौ र पाउनलाई तिमी मभन्दा टाढा छौ यस्तो कहिल्यै लागेन मलाई ....
तिम्रो
उपस्तिथिले महत्त्व नराख्ने हैन जिन्दगीमा धेरै धेरै
महत्त्व राख्छ .. तर कहिलेकाही उपस्तिथि मात्र पनि सबथोक नबन्ने रहेछ ..
साथमा माया, प्रेम, स्नेह र आफ्नोपनको चाहाना राख्ने
रहेछ जिन्दगीले ।
त्यसैले
छुट्नेबेला म चाहन्छु तिम्रा शब्दहरुमा कोरिन,अझ भनौ तिम्रा
शब्दले सजिन ताकि जान्न सकु ... तिम्रो नजर कि "म" तिम्रो शब्द कि
"म"।
त्यसपछि तिम्रा
शब्दमा कोरिन त म सकिन तर यी हरफहरु कोर्दै गर्दा कयौं पटक मैले तिमीलाई सम्झे अझै भनौ तिमिसंगको अन्तिम पललाई
सम्झे थाहा छैन मलाई प्रेमका अभिव्यक्ति कस्ता हुन्छन् अनि थाहा छैन मलाई प्रेमका
प्रेमिल पल कस्ता हुन्छन्। जुन
समयमा तिमीलाई नितान्त तिमी
सम्झेर प्रेम गरे तिमी मनमा मात्र थियौ।जब
भौतिक दुनियामा तिम्रो अस्तित्वको खोजे गर्न थाले तिमी टाढा चम्किने तारा जस्तै
बनेयौ। मैले तिम्रो अस्तित्व पाउनु अनि तिमी मैले खोजेको
अस्तित्व भन्दा परको मान्छे हुनु सायद एउटै
समय परेछ क्यार। जब आफू
पुर्णरुपमा प्रेममा परे लाग्यो तिमी पनि मसंगको प्रेममा छौ तर त्यो गलत आकलन थियो
मेरो। मैले तिमिलाई सम्झिने "तिमी" र तिमीले मलाई
सम्झिने "म" कति फरक थियो हाम्रो सोच।
यी दिनहरूमा तिमीसंग गरेको प्रेमले मलाई प्रेमलाई हेर्ने
दृष्टिकोणलाई नै बदली दिएको छ। मलाई
बारम्बार सोच्न बाध्य बनाउछ आखाँमा
नजर आउने त्यो चमक के प्रेम थिएन।तिम्रो
शब्दमा नजर आउने आफ्नोपन त्यो प्रबाह के प्रेम हैन। कि प्रेम त्यहाभन्दा छुट्टै हुन्छ।
जे होस् यी
दिनहरुमा सोच्न र सम्झिन भन्दा बढी म केही गर्न सक्दिन किनकि आज मेरो हातमा
बर्तमान मात्र छ बिगत छैन । र..... आउने भविष्यसंग म विलकुल अन्जान छु।




