Yamunathapablog

Monday, February 22, 2021

वसन्त ऋतुसंग जोडिएका यादहरु

फेरिँदै गरेका रुखका पालुवासँग हराएको छ मनवनभरि फुल्दै गरेका लालिगुँरासका कोपिलामा डुल्दै छ मनडाँफे मुनालको सुन्दर नृत्यसँगै नाच्दै छ मनजब यी सबै कुरालाई महसुस गर्छु लाग्छ वसन्तको आयु अझ लामो होस्! मलाई मन पर्ने ऋतुहरुमध्ये एक हो वसन्त ऋतु जसलाई हामी ऋतुराज वसन्त पनि भन्छौँऋतुराज वसन्तको आगमनसँगै प्रकृतिको सुन्दर रङ्ग देख्न पाइन्छ।प्रकृतिको अनुपम कलालाई महसुस गर्न पाइन्छ।जसै वसन्त ऋतुको आगमन हुन्छ म मेरा बालपनका दिनहरुमा हराउन थाल्छु।भर्खर फल्दै गरेका गुँरास टिप्न हामी बन बन कति चाहर्थ्यौँ । पालुवा फेर्दै गरेका रुखहरु देखेर छक्क पर्थ्यौ।अनि श्रीपञ्चमीलाई मज्जाले मनाउँथ्यौँ यसै पनि त्य दिनमा विद्यालयमा हुने रमम कुनै चाडभन्दा कम लाग्दैन्थ्यो हामी कलिला विद्यार्थीहरुलाई।

वसन्त ऋतुका यादहरु बालपनसँगै जोडिएका छन् यसै पनि जिन्दगीका धेरै यादहरु बालापनसँगै जोडिएका हुन्छन्।त्यसैले होला जब मन रोमाञ्चित हुन्छ म बालापनमा पुगिहाल्छु।बिना स्वार्थको साथीसँरगीसँगको त्यो प्रेम, बाबाआमाको माया, हजुरबुबा हजुरआमाको काख, भाइबहिनीसँरगको झगडा यी सबै बालापनका सुन्दर क्षणहरु हुन् जसमा मात्र इमानदरिता हुन्थ्यो, प्रेम हुन्थ्यो।हरेक सम्बन्धको सम्बन्ध मात्र मनसँगको हुन्थ्यो।

जसै वसन्त ऋतुको आगमन हुन्छ उता अङ्ग्रेजी महिना फेब्रुअरी भर्खरै छुटेको हुन्छ। फेब्रुअरी महिना छुटेर गएपनि फेब्रुअरीको प्रेमिल रंग झन गाढा भएर बसन्तलाई अझ प्रेमिल बनाएको हुन्छ र मलाई प्रेमको सुन्दर रंग साह्रै मन पर्छ।किनकि प्रेम आफैमा संसारको सुन्दर अनुभव हो, अनन्त र अनमोल चिज हो।प्रेमलाई मैले कुनै एक सम्बन्धको बुझाइमा मात्र सीमित रहेर बुझ्ने गरेकी छैन।मेरा लागि हरेक सम्बन्धको प्रेम पूजनीय छ, आदरणीय छ।

आमाबाबु र छोराछोरीबिचको प्रेम, भाबहिनीबिचको प्रेम, साथीसँगीबिचको प्रेम, लेखक र पाठकबिचको प्रेम, प्रेमी प्रेमिकाबिचको प्रेम।प्रेमका यी अनेकौँ रूपसँग मलाई औधी प्रेम छ।वास्तवमा भन्ने हो भने विश्वास र इमानदारीका साथ गरिने प्रेमलाई म पूजासरि मान्छु, भगवानको दोस्रो रूप मान्छु ।

यो सालको वसन्त ऋतु सदा सदा याद रहने छ किनकि देशमा भइरहेको उथलपुथललाई य वसन्तले टपक्क आफ्नो प्रेमका आँचलमा समेटेर यसका चोटहरुलाई आफ्नो प्रेमको मलम लगाएर यसको उपचार गरेको छ।देशको बिग्रेको अवस्था देखेर रोएका आँखाहरुको आँसु पुछेको छ। साँच्चै यति बेला हार जसको होस्, मेरो देशले जितेको छ, जित जनताको विश्वास र भरोसाको भएको छ।देशको माटोमा एकपल भए पनि खुसीको आँसु झरेको छ , देशले सन्तोषको सास फेरेको छ।

देशको हरेक सच्चा नागरिकले देशलाई जननीभन्दा माथिको दर्जा दिएको हुन्छ, देश दुख्दा थाहै नपाई उका आँखा रसाएका हुन्छन्, उसको मुटु दुखिरहेको हुन्छ। अनि उनीहरू देशका लागि प्रेम र शान्तिको कामना गर्न थाल्छन्। परेवा र बुद्धको आह्वान गर्न थाल्छन् र उनीहरूको कामनाले रङ्ग पनि ल्याउँछ। यति बेला संसद् विघटन भएर अस्थिरतातर्फ धकेलिएको देशले संसद् पुनर्स्थापनासँगै स्थिरता पाएको छ। देशको सङ्कट केही समयलाई टारिएको छ आशा छ यो ङ्कट सदाका लागि टारिने छ र मेरो देश शान्ति र समृद्धितर्फ अगाडि बढ्ने छ।

वर्षको वसन्त ॠतुसँगै एकातिर बिरुवामा नयाँ पल्लवहरु पलाइ रहेका छन् भने अर्कातिर देशको नूर फेरि फर्केको छ।देश बिहानको झल्के घामसँगै मुसुक्क मुस्कुराएको छ देश मुस्कुराउँदा मेरा ओठहरु यसै यसै मुस्कुराउन थाल्छन्, आँखाहरु खुसीले चम्किन थाल्छन्।

जब वसन्त ऋतुको आगमनसँगै आरुको फूल फुल्छ त्यो दृश्य मलाई बडा सुन्दर लाग्छ।मलाई आरुका फूलहरु साह्रै मन पर्छन्।आरुका फूलसँग म घण्टौँ समय बिताउँछु।आरुको फूल देख्‍ने बित्तिकै म नेपाली किताबमा पढेको आरुको फूल भन्ने कथा सम्झिन्छु जसमा एउटा केटीको बढ्दै गरेको उमेरलाई दाँजेर हेरिएको हुन्छ, आरुको फूल जस्तै ऊ सुन्दर हुन्छे।जसै जसै आरु कोपिलाबाट फूल र फूलबाट फल बन्छ उसै गरी एउटा केटी समयसँगै बढ्दै जान्छे र रज्यस्वलाको समयलाई पार गर्छे, उसको बालापन, ञ्चलता, निर्भीक स्वभाव कतै हराउँछ र ऊ लाजको घेरामा समाउन थाल्छे।उसको स्वतन्त्रता कतै कुण्ठित भएर रहन्छ। त्यति बेला य कथाको धेरै कुरा बुझ्दैनथेँ म तर हिजोआज जब यो कथा सम्झ्न्छु म आफ्ना भर्खर भर्खर रज्यस्वलाका दिनहरु सम्झिन्छु। म जस्ता लाखौँ युवतीहरुको मनोभाबलाई महसुस गर्ने कोसिस गर्छु।बढ्दै गरेका युवतहरुको अवस्थालाई बुझ्ने जमर्को गर्दछु।

जब बिरुवाहरुले नयाँ पालुवा फेर्थे बाबा आरुको बोटमा आरुको हाँगा काटेर आरुबखडाको सानो बिरुवालाई जोडिदिनु हुन्थ्यो र मेहेलको बोटमा मेहेलको हाँगा काटेर नास्पतीको सानो बिरुवा जोडिदिनु हुन्थ्यो।यसरी गाउँमा हामी आरुबखडा र नास्पती खान्थ्यौँ।वसन्त ऋतुमा रुखहरुले नयाँ पालुवा फेर्ने भएका कारणले गर्दा य समयमा गाउँघरमा आरुका बोटमा आरुबखडाको विरुवामेहेलका बोटमा नास्पतीको कलमी गर्ने गरिन्छ जसका लागि यो राम्रो सिजन मानिन्छ र य वैज्ञानिक दृस्ठिकोणले पनि प्रमाणि भएको कुरा मैले पछि मात्र थाहा पाएँ

हिजोआज वर्तमान र भविष्यभन्दा पनि मेरा खुसीका साँचोहरु बालापनामा नै पाउँछु।बदलिँदो देशको परिवेशले गर्दा पनि होला म जस्ता धेरै युवायुवतीहरुले यसरी सोच्न थालेको छन्।देशमा संसद् पुनर्स्थापना भएर खुसी त छाएको छ तर यो सङ्कट स्थायी रूपले टरेको छ जस्तो लाग्दैन। अझ देशले यस्ता कति सङ्कटहरु पार गर्नुपर्ने हो थाहा छैन जसको चपेटामा अझ कति जनताहरु पर्ने गर्दछन् त्यसको लेखाजोखा छैनसाँचो कुरा त के हो भने  कोही एक दुःखी भएर अर्कोको खुसी कहिल्यै स्थायी हुन सक्दैनअहिले देशको हालत ठ्याक्कै यस्तै भएको छ तर जे होस् देशका यस्ता तमाम सङ्कटहरु टर्दै जाउन्! आगामी दिनहरुमा देशले नैतिकवान् शासक पाओस्! हाम्रो अपेक्षा र कामना यही छ र रहिरहने छ।

वसन्त ऋतु प्रेमको महिना, अनि ज्ञानको महिना हो जहाँ प्रकृतिले आफूलाई सम्पूर्ण रूपमा न्यौछार गरेर प्रेमको अनगन्ती सुवास छरेको हुन्छ।यो वर्ष ऋतुले हामी सम्पूर्ण नेपालीलाई ठुलो खुसी दिएको छ।म जस्ता कैयौँ युवायुवतीमा आशाका किरणहरु छरेको छ। मलाई मेरो वर्तमानदेखि विगत र भविष्यसम्म पुर्‍याएको छ।

जब जब म वसन्त ऋतुलाई कल्पिन्छु सिद्धिचरण श्रेष्ठका यी शब्दहरु सम्झिन्छु -‍‌

समस्त माधुर्य लिएर साथमा

छरेर सौन्दर्य विशाल विश्वमा

सन्त मेरो हितमा निमग्न भो

अहो!छ कस्तो रस-रागयुक्त यो!

नवीनता नाच्दछ पुष्प-पुञ्जमा

कुहू-कुहू कोकिल बोल्दछ कुञ्जमा

प्रमोदले हृद्तल पार्छ शीतल

वसन्त मेरै हितमा छ तत्पर

नचाइ चारैतिर पल्लवी द्रुम

बिछाइ नाना थरिका नयाँ तृण।।

वसन्त मेरो कति गर्छ स्वागत

अहो!अहो!!सुन्दर यो सजावट

 

 

Sunday, February 21, 2021

छोरी आफ्नो लडाइँ अब तिमी आफै लड्नु

प्रेमको फूल फक्रदै गरेको 

पूर्व सन्ध्या भनू या 

कोपिलासरी निमोठि रहेका कलिला नानीहरुको कालो रात

 

साच्चै के भनू यो समयमा 

थाहा छैन मलाई म नि:शब्द छु

 

जति आज प्रेमको बगैंचामा गुलाफहरु भेटिदैन्न्,

त्यहाँ भन्दा कयौं बढि समाजमा

वासना र हबसको बीष बोकेर हिड्ने ब्वाँसाहरु भेटिन्छन्

कामुकता भिरेर कलिला नानी को शरिरमा क्याक्टस रोप्ने भेटिन्छन् 

 

एकातिर 

एक थुङ्गा फूलएक झोका पवनसँग                                    

फेब्रुअरीको प्रेमील मौसमसँगै चलिरहेको छ                                    

प्रेम सप्ताह ..प्रेम महिना चलिरहेको छ

अर्कोतिर रित्तीरहेको छ आमाको काख

वर्षिरहेका छन् आमा आँखा  

 

दोषिहरु को हुन अहिलेसम्म थाहा छैन

यहाँ सबैले चिच्याएनागरिक समाजमहिला सरोकारवालाहरु 

तर अह सुनेन सरकारले अझ देखेन कानूनले 

किनकि कानून अन्धो छसरकार बहिरो छ

 

कठै! प्रेमको नाममा कति छोरीहरु रम्दै होलान् 

प्रेमको साझ अझ कति छोरीहरु लुटिने होलान् 

 

भो प्रेम नगर कसरी भनु 

फेरि प्रेममा लुटिन हरकोही चाहन्छन् 

 

तर दुखको कुरा यो छ कि 

गुलाफका फूलमा कहाँ फक्रन्छ र विश्वास                                       

चक्लेटले कहाँ बन्छ र जिन्दगी मिठो 

 

यहाँ त प्रेम कै मापनमा लुटिन्छन् छोरीहरु 

यहाँ सत्ताको खेलमा नै दबाइन्छन् अपराधहरु 

 

त्यसैले छोरी अब तिमी गुलाफ हैनक्याक्टस बन्नु

हातमा फूल हैन काडाँ बोक्नु,                                                                                                 

अब तिमी तिम्रो कवज आफै बन्नु

तिमी सीता हैन अब द्रोपती बन्नु

छोरी आफ्नो लडाइँ अब तिमी आफै लड्नु ।।

 


उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...