मंसिरको महिना चलिरहेको छ । दशैँ-तिहारको रमझम सकिएपछि थोरै समयान्तरमा सुरु हुने यो महिनानेपालीहरुको खेतीका बाली भित्र्याउने महिना पनि हो । धान-धान्यको अन्नपूर्णता र समृद्धिसँगै यसै महिना विवाहका लगनगाँठो र उत्सवहरूले समाज तात्दै गतिमान भईरहेको देख्न सकिन्छ । विवाहको यस ऋतुसँगै विवाहसँग जोडिएर आउने परंपरा, मनोविज्ञान र प्रचलनहरूलाई आजको आँखाबाट थप घोत्लिँदै केही गहन पक्षहरूलाई पनि केलाउन जरूरी छ । खासगरी यौटी नवविवाहिता बधू बन्न तयार हुँदैगरेकी केटीको विवाहसँगका व्यक्तिगत, मनोवैज्ञानिक र आत्मीक अपेक्षाहरू र उनको आफ्नै विकास र स्वतन्त्रताका विविध पक्षहरूमा वैचारिक चर्चा जरूरी छ ।
यस मंसिर महिनालाई विवाहवारीको महिना पनि भनिन्छ किनकि मंसिर महिना लागेपछि विवाहका लगनहरू सुरु हुन्छन्। अनि बाबुआमालाई हतार हुन्छ विवाहको लगन छोप्न । केटा पक्षलाई केटीको खोजी, केटी पक्षलाई केटाको खोजी । यस्तो लाग्छ मानौ कुनै होडबाजी चलिरहेको छ । अझ धेरै केटीका बाबुआमाहरू यही कुरामा बढी सावधान हुन्छन् कि आफ्नी छोरीमा कुनै खोट नदेखियोस; सकभर पहिलो "केटाले नै विवाहको लागि हुन्छ भनिदियोस्। अझ पहिलो केटाले नै छोरीलाई मन पराइदियोस्" । किनकि पहिलो केटाबाट अस्वीकार हुनु भएको केटी र केटीको परिवारको लागि बढो हीनताबोधको कुरा हुन्छ किनकि यसरी पहिलो केटाबाट अस्वीकार भएको केटी र केटीको परिवारको लागि हेर्ने हाम्रो समाजको दृष्टिकोणमा अझै परिवर्तन आएको छैन । त्यसैले पनि आमाबाबु यो कुरामा बढी सजक देखिन्छन् । साथै आफ्नो क्षमतामा भन्दा माथि नै गएर छोरीको विवाह गरिदिन बाबुआमा तयार हुन्छन् । त्यसको लागि त्यो परिवार कति शिक्षित कति अशिक्षित, केटी कति क्षमतावान् त्यसको कुनै महत्त्व हुँदैन, बस् महत्त्व हुन्छ त विवाहको, केटा र केटाको परिवारको मर्जीको । यहाँ केटीको मर्जी, केटीको इच्छा कतै दबेर रहिदिन्छ, कतै हराइदिन्छ, गुमसुम भइदिन्छ ।
अनि केटीहरु पनि यसरी उपस्थित हुन्छन् मानौँ उनीहरु कतै सजाएर राखेका सुन्दर खेलौना हुन । जसलाई भर्खर दराजबाट बाहिर निकालिँदैछ र फेरि दु:ख त कहाँ लाग्छ भने केटीहरू पनि बिना विरोध, बिना सवाल जवाफ गुडिया बन्न तयार भइदिन्छ र गुडिया बनेर उपस्थित पनि भैदिन्छन् । कहिलेकाहीँ सोच्छु यो पितृसत्ताको सोच कतिसम्म हाबी हुन सकेको होला महिलाहरुको जिन्दगीमा अझ कहिलेसम्म होला यसले महिलाहरुलाई आफ्नो शिकार बनाउने अनि महिलाहरु यसको सिकार बनिरहने ।
अक्सर मंसिर महिनामा धेरै जसोको विवाह हुन्छ, हुने गर्छन् पनि । कतिको प्रेम सम्बन्ध छुट्छ, कतिको प्रेम सम्बन्धले पूर्णता पाउँछ । जे हो होस् मंसिरमा रुने र रुवाउने खेल राम्रै चल्छ । कतिको विवाह गर्ने सपना हुन्छ, कतिले घरकाको करले विवाह गरेका हुन्छन् । कतिलाई बाबुआमालाई मर्न सजिलो बनाइदिनलाई पनि विवाह गर्नुपर्ने हुन्छ जे होस् अनेकौं कारण सहित एउटा केटिले विवाहको जग्यदेखि केटाको घरसम्मको दूरि तय गर्छे ।
आफ्नो मनले राजिखुसिले बिहे गर्नेको लागि त ठीक छ बिहे तर हाम्रो समाजमा समाजले विवाहको लागि यस्तो मापदण्ड तय गरेको छ जसलाई पूरा नगर्नु ठूलै पाप सरह मानिन्छ । केटीले, केटीका परिवारले समाजका अनेकौं कुराहरु सुन्नु पर्ने हुन्छ । कहिलेकाहीँ त स्थिति यति सम्म बन्न जान्छ कि सुन्न सक्ने हौसला पनि सकिएर जान्छ ।
अझ अलिकति उमेर पुगेका केटीहरुकोलागि मंसिर महिना सकस नै हो । जसले पाइला पाइलामा एउटै सवाल खेप्नु पर्ने हुन्छ । मंसिर लाग्यो त भोज कहिले खुवाउने हो । यो पालिको मंसिर पनि जाला जस्तो छ, यस्तै यस्तै । मलाई विवाहसँग समस्या हैन विवाहलाई लिएर हाम्रो समाजले तोकेको मापदण्डसँग हो, विवाह आफैँमा समस्या नभए पनि यसैसँगै समाजले तोकेको मापदंडमा प्रचुर समस्याहरू छन् जसमा केटीको उमेर, केटीको संस्कार, केटीको कपाल र केटीको पहिरन आदि आदि प्रमुख कुरा हुन आइदिन्छ । एकपल त यस्तो लाग्छ हाम्रो समाजले "केटी पनि मान्छे" नै हो भनेर सोच्नै बिर्सन्छ । उसलाई मान्छेको दृष्टिकोणले हेर्नै चाहन्न, बस् हेर्छ त लिङ्गको रूपमा कि "ऊ छोरी हो, ऊ केटी हो" । बीस वर्ष पुगेपछि विवाह गर्नै पर्छ नभए विवाहको उमेर सकिएर जान्छ । यो उमेरमा विवाह भएन भने यो समाजको हिस्सा बन्न सुहाउँदिन ।
समाजको अर्को दृष्टिकोण यस्तो हुन्छ भने अर्कोतिर केलाउँदा केटाहरुलाई फेरी अर्कै सोचले प्रताडित गरिरहेको हुन्छ कि अब हाम्री प्रेमिकालाई कुन चाहिँ पि.आ.र वालाले उडाउँने हो ! जब जब यस्ता स्टाटस, ट्वीटहरू प्रकाशित भएका भेटिन्छन् अनि केटा मान्छेहरुका यस्ता सोचहरू सुनिन्छन्, तिनले अचम्मित पार्छन् । किनकि जुन प्रेम सम्बन्धमा विश्वासको डोरी नै कायम भएको हुँदैन, यस्तो प्रेमबाट कस्तो अपेक्षा राख्ने ? अनि केटीहरुले आफ्नो भविष्य सोच्नै नपाउने यो कस्तो दासत्व हो ? विवाह पछि अधिकांश केटीहरु श्रीमानको अधिनमा हुन्छन्, यो कुरा भन्नै पर्दैन अब कि विवाह अघि प्रेमीको अधिनमा पनि हुनै पर्ने । अझ दुईचार दिन भेटेर बोलेको मान्छेको अधिनमा हुनै पर्ने सोचको उपज केटीको जीवनलाई नै नियन्त्रित हुनेगरेको भेट्दा यस पंक्तिकारलाई बेलाबेलामा बढा अचम्मित पार्छ ।
अघिपछि छोरीको कपडा, संस्कार र कपालको कुरालाई नजरअन्दाज गरिरहेका बाबुआमा अब एक्कासि उनीहरूलाई छोरीको कपडा, संस्कार र कपालको चिन्ता हुन थाल्छ । हिजोसम्म पाइन्ट टिसर्ट लगाइरहेकी छोरीलाई आमाको उर्दी जारी हुन्छ कुर्ता लगाउ, सल ओढ, आफूलाई छोपेर हिँड, कपाल नकाट; उता केटाहरुलाई मन पर्दैन । खाना बनाउन सिक, तिमीलाई हेर्न केटाहरु आउदैछन् । चिटिक्क परेर बस । धेरै नबोल । बेस्सरी नहाँस । उर्खुट्टी हालेर नबस ओहो ! यस्तो कुरा कति हो कति । त्यतिबेला लाग्छ विश्वविद्यालयको प्रमाणपत्र फिक्का पर्दैछ । बरु भान्साको, घरको अनि केटाको अगाडि कसरी प्रस्तुत हुने भनेर कक्षा लिएको भए हुन्थ्यो होला ।
विवाहले किन एउटा केटीको लागि यति धेरै बारहरु, मापदण्डहरु निर्माण गरिदिन्छ होला ? आफ्नो जिन्दगी, आफ्नो सोच, आफ्नो निर्णय, आफ्नो फैसला आफ्ना अनुभुतिहरु पनि त हुन्छन् होला आफ्नो लागि के सही, के गलत भनेर । आफैँ पनि सोच्न सक्ने भएको हुनैपर्छ कि नितान्त मेरो तर्फबाट मलाई बुझेर यहाँ कस्ले सोचिदिने ? बाबु-आमाको त छदै थियो, दाइ-भाइको पनि राम्रै प्रभुत्व हुन्छ केटीको जिन्दगीमा । कहिलेकाहीँ सोच्छु यतिका मान्छेले प्रभुत्व राखिरहँदा कहाँ हुन्छे स्वयंमा यौटी केटी मान्छे ? कहाँ छ उसको स्वतन्त्रा, उसको सोचको सम्मान ? कहाँ छ उसको भावनाको सम्मान ? कहाँ छे ऊ स्वयम् ? कहिलेकाही यी र यस्ता प्रश्नले खुब रन्थल्याउछन् मलाई ।
विवाहको आफ्नै ठाउँमा होला हरेकको जिन्दगीमा। तर कयौं पटक असहमति जनाउँदा जनाउँदै पनि कयौं केटीहरूले आफ्नै केटा साथीहरुबाट दुर्व्यवहार सहनु परेको हुन्छ । प्रेम सम्बन्धलाई अस्वीकार गरेकै कारण जल्नु र जलाइनु परेको हुन्छ, तीब्र मानसिक वा एसिड आक्रमणसम्मका अपराधहरूका शिकार बनाईएको हुन्छ । यी सब आफैँमा साह्रै निकृष्ट कुराहरू हुन् ।
विवाहलाई नै जिन्दगी मान्नेको ठूलै संख्या छ हाम्रो वरपर । अधिकांश केटीहरू विवाहको सपना देखेर विवाहकै सिकार हुन्छन् हाम्रो समाजमा । विवाहलाई जिन्दगी एउटा सुन्दर पक्ष मानेर अगाडि बढ्ने हो नकि विवाहलाई जिन्दगी बनाएर जिन्दगी नै दाउमा लाउने हैन, यो कुरा बुझ्न केटीहरुलाई अझ कति समय लाग्ने हो, भन्न गाह्रो छ । र पितृसत्ताको यो जरो कहिलेसम्म हामीमा जीवन्त बनेर हामिलाई सताउने हो भन्न कठीन छ ।
विवाहको सकारात्मक र नकारात्मक पक्षलाई नकेलाइकन यसको पाईला चाल्नेहरूको समूह एकातिर छ भने विवाहको नकारात्मक पक्षलाई मात्र हेरर यसको आलोचना गर्ने समूह पनि कम छैन हाम्रो समाजमा । बदलिँदै गरेको समाज, बदलिंदै गरेको समय अनि यो समयसँग जुध्न नसकेका कतिपय युवा वर्गहरु... ? । विवाह जति केटीको लागि असहज र हाउगुजीको विषय बनेको छ, त्यती नै केटाको लागि पनि असहज विषय हो । प्रेम विवाह आफ्नो ठाउँमा छ तर आज पनि हाम्रो समाजले,
हाम्रा आमाबाबुले चाहने, खोज्ने र रोज्ने भनेको नै मागी विवाह हो । मागी विवाहको महत्त्व नै छुट्टै हुन्छ हाम्रो समाजमा । प्रेम विवाहलाई आज पनि हाम्रो समाजमा पूर्णतया राम्रो नजरले हेरिँदैन, न पाउनु पर्ने जति इज्जत प्रेम विवाहले पाँउछ । त्यसैले विवाह केटा पक्षको लागि पनि त्यति नै नयाँ, कौतुहलता र असहजताको विषय हो जति एउटा केटीको निम्ति हो तर बिहेकै नाममा केटाभन्दा केटीहरु बढी सिकार हुन पुग्छन् हाम्रो समाजमा ।
छोरीलाई पढाउन सक्ने, उनीहरुलाई हिम्मत र उँडान भर्न सपना देखाउने सक्ने बाबुआमाले किन छोरीको आत्मनिर्भर बन्ने चाहनालाई नजरअन्दाज गरिदिन्छन् ? छोराको आत्मनिर्भरतालाई खुसिका साथ स्वीकार गर्ने बाबुआमाले बुहारी घरेलु नै किन खोज्छन् ? यस्ता जिज्ञासाहरू यी दिनहरुमा धेरै नै उठ्न थालेका छ्न् मेरो मनमा ।
मैले आफ्नो जिन्दगीका परिपक्वतासँगै आफ्नो स्वतन्त्रतासँग केही चुनौतीपूर्ण वसन्तहरू पार गरिरहँदा जसरी मंसिर र भोजलाई लिएर प्रश्नहरू सुनेँ, तिनको सामना गरेँ, ती कुराले मलाई केही फरक तरिकाले सोच्न सिकायो जुन म आफ्नो उपलब्धि मान्छु । मलाई यी दिनहरुमा विवाहसँग समस्या पनि हैन तर मलाई जहिले आफ्नो स्वतन्त्रता, आफ्नो आत्मनिर्भरता र आफ्नोपनसँग प्रेम रहिरह्यो, र रहिरहने छ; यो सत्य हो ।
एउटा केटीले आफ्नो निम्ति श्रीमान भन्दा बढी एउटा साथी चाहन्छे जसले उसका सारा कुरालाई सहजै बुझिदियोस्, उसका खुशिहरु, उसका उमंगहरु सहजै बाँढिदियोस् । दु:खहरु त कसको जिन्दगीमा हुदैनन्, संघर्ष कसले गर्दैन र ? बस उसका खुसीमा ऊ जत्तिकै हर्षित र उत्साहित भएर उसका खुसीहरुको सहभागी भईदियोस् उसको जिवनसाथी । बस ऊ यति नै चाहन्छे, यति नै खोज्छे ।
जुन दिन हाम्रो समाजले छोरीलाई छोरी हैन यौटी पूर्ण मान्छे सम्झेर हेर्छ, केटाले आफ्नो लागि श्रीमती हैन साथी रोज्छ, त्यस दिनदेखि कुनै बाबुआमालाई छोरीको विवाह गर्न हतार हुने छैन । अनि आफन्तलाई सोध्न जरुरी पनि हुने छैन कि मंसिर सकियो भोज कहिले खाने भनेर ।