Yamunathapablog

Sunday, December 24, 2023

तिमी

 माया 

  घामले जुनलाई भेट्छ

 जुनले घामलाई भेट्छ

फेरि पनि

घाम  जुनको प्रेम

यो धर्तीमा स्मरणीए 

अनुपम 


मान्छेहरू भन्छन

प्रेम त्यहि सम्भव ,जहाँ सामिप्यता 

तर माया जबजब

 बिना कुनै अपेक्षा 

अबिरल बगिरहने

ती दुई किनाराहरु देख्छु

सारा दुनिया झुटो लाग्छ


प्रेम त्यहि मजबुत  देख्छु 

प्रेम त्यहि निखारिएको देख्छु 

जहा विश्वासको जरा बलियो 


दुनिया रातका कुरा गर्छन 

जब  चखेवाको जोडि देख्छु 

लाग्छ 

प्रेम कहा रातको मोहोताज   

प्रेम  भरोसा  आत्मसम्मानको 

आदि 


होलान संसारका 

आफ्नै रितहरु 

तर जब कुरा प्रेमको आउछ 

प्रेम सदा मनसंग जोडिन्छ 

 मनलाई साक्षी राखेर 

जोडिएको प्रेम 

हर सम्बन्ध भन्दा पर हुन्छ ।।

Thursday, November 30, 2023

आफ्नो भनि दिन मन लाग्छ ।

 सम्बन्धको

हिसाबकिताब एकातिर 

कहिलेकाहीँ 

जिन्दगी नितान्त 

आफ्नो पनि  हुन्छ 

सम्झ्नु पर्ने हजार कुराहरु हुन्छन 

कहिलेकाहीँ 

बिर्सन पनि  पाइन्छ 

 

आज तिमि हुनु नहुनुको 

सत्य एकातिर 

कुनैदिन तिमी 

सबैभन्दा प्रीय थियौ 

कहिलेकाहीँ 

यहि एहिसास पनि  काफि हुन्छ 

छलिन्छन कयौ कुरा नजरबाट

सबै आफ्नै हुनुपर्छ 

भन्ने पनि  छैन 

 

हो आफ्नो हुनु  आफ्नो लाग्नु 

फरक कुरा हुन 

कहिलेकाहीँ 

कुनै कुरा यसै मानिदिन 

मन लाग्छ 

आफ्नो हैन 

जान्दाजान्दै पनि 

आफ्नो भनि दिन मन लाग्छ 

 

बिर्सिएर दुनियाका सारा रित 

नितान्त आफ्नो बनि दिन मन लाग्छ 

चोरेर तिमिलाई 

आफै भित्र लुकाइ दिन मन लाग्छ ।।

 

 

Wednesday, September 13, 2023

कुशे औशी

बाबा

संघर्षको बाटोको तिमी 

कहिल्यै नथाक्ने अविरल यात्री हौ 

हाम्रो खुसीहरुको सम्पूर्ण 

तिमी खजाना हौ 

हामीले भरेका उडानहरुको तिमी 

पखेटा हौ 

.....

बाबा 

तिम्रो हात समाएर गरेको यात्रा 

सबैभन्दा सुन्दर यात्रा हो

तिम्रो काध चढेर 

देखेको संसार सबैभन्दा सुन्दर संसार हो 

....

थाहा छैन बाबा 

जिन्दगीको यात्रा कति 

सहज छ या छैन 

तर तिम्रो साथ बिना यो यात्रा

सम्भव पक्कै थिएन 

आफूलाई स्थीर राखेर 

मलाई चलाएमान बनाउने 

तिम्रो गुणको कायल छु म

सारा दुखहरुलाई एकातिर पन्छाएर 

मेरो ओठमा मुस्कान भरीदिने 

तिम्रो यो कलाको ॠणी छु म

बाबा अब पालो मेरो

सारा खुशी तिम्रा

सारा रहर र इच्छा तिम्रा 

बस त्यसको कारण म बन्न सकु 

तिम्रो माया प्रेम र आशीर्वादको

योग्य म सदा रहिरहु 

अझ भनु भने 

बाबा म तिम्री त्यहि सानी राजकुमारी सदा रहिरहु ।।

#बाबा #कुशे औशी 






Sunday, September 10, 2023

प्रीय सपनाहरु

प्रीय सपनाहरु


म स्विकार गर्छु कि

तिमीलाई

आफ्नो बनाउनु मेरो भूल थियो

त्योभन्दा ठूलो भूल थियो

तिमीलाई आफूबाट अलग गर्नु

...

थाहा छ तिमीलाई

तिमीलाई आफ्नो

बनाउन जति मूल्य चुकाएकि थिए

मैले

त्योभन्दा बढी मूल्य चुकाउनु परेको छ

तिमीलाई आफूबाट अलग गर्दा

...

जुन आफ्नोपनका साथ

तिमी मंसग थियौ

तिमीलाई आफूबाट अलग

गर्दा मैले ती प्रत्येक कुरालाई

आफूबाट अलग गरेकी छु

जसले मलाई पूरा गरेका थिए

.....

आज त केवल मसंग तिनै

कुरा मात्र बाकी छन्

जुन मेरा हुँदै होइनन्

......

प्रेम, आफ्नोपन, सद्भाव

र जिन्दगीका रङ्गहरुले भरीएकी म

यी दिनहरुमा लाग्छ

मसंग "म" नै बाकी छैन

प्रीय सपनाहरु ।।

Wednesday, August 23, 2023

एउटा सपना

एउटा सपना 

जहाँ 

तिम्रो साथ होस्

हातमा हात होस् 

मुस्कुराउने बाहाना हुन 

फकाउने कारण हुन

दुखहरुसंगै बाढ्न सकियोस् 

खुसीहरुसंगै साट्न सकियोस् 

.... ....

दिनको प्रतीक्षा 

साझसंगै सकियोस् 

चियाको कप एक्लै नहोस् 

तिमी हुनुको आभास 

कल्पनामा सिमीत नरहोस् 

तिम्रा खुशिहरुको

तिम्रा रोदनहरुको 

साक्षी बन्न सकियोस् 

... ...

तिम्रा खुशिहरुको

तिम्रा रोदनहरुको साक्षी 

बन्न सकियोस् 

... ...

एकाअर्कासंग 

हुनुको आनन्दलाई

समीप भएर 

महसुस गर्न सकियोस् 

सबैभन्दा प्रीय कुरा 

जिन्दगीको सफरमा 

हामसफर बन्न सकियोस् 

#माया 


 

Monday, August 21, 2023

मनको उडान

 प्रीयतम


बाहिर एक तमास

वर्षिरहेको छ झरी

टेबलको चिया चिसिनलाई 

छिनभर पनि लागेको छैन

मेरा हातहरु चिसिएको चियालाई

पुन तताउन भन्दा पनि

मेरा नजरहरु चिसिदै गरेको र 

उड्दै गरेको 

चियाको बाफमा टक्क अढिएका छन् 

... ......

मनको कल्पनाले त्यही नै बेला

एउटा उडान भर्छ 

तिमी एक्कासि 

नजरमा नजर जुधाउन आइपुग्छौ 

मेरा नजरहरु 

लजाउन भन्दा पनि 

तिम्रो नजरसंग नजर जुधाउनमा 

हानथाप गर्छन् 

नजिकैको चिसो चियाले 

हाम्रो अझ आरिस गर्छ 

....

झरिको लय उस्तै छ 

यी नजरहरु उस्तै छन् 

नजरै नजरमा व्यक्त भएको 

प्रेम भाव उस्तै छ

उतिकै प्रेमिल 

उतिकै शान्त 

अनि उतिकै सुन्दर

जसै म हराउन थाल्छु प्रेममा

डुब्न थाल्छु नयनमा 

सलबलाउन थाल्छौ तिमी ममा 

त्यतिनै वेला 

डोर बेलको आवाजले झस्काउछ मलाई

टिङ टिङ .... ... !!



Tuesday, August 15, 2023

मन हिम्मत

प्रीयतम


कहिलेकाहीँ भावी हुनेरहेछन्

रहरहरु

वास्तविकता माथी


चाहे वास्तविकताको

स्वरुप जति नै क्रूर किन नहोस्

मन हराउने रहेछ

कल्पनाको आगनमा

र कल्पिदोरहेछ तिमीसंगको

सुन्दर सामीप्यतालाई


पन्छाएर  सारा रितहरु

नाच्दो रहेछ मन

गुनगुनाएर आफ्नै भाकामा


बिर्सिएर सारा थकानहरु

मन ओत लाग्छ आफ्नै मनको

चौतारीमा र बुन्न थाल्छ तिमीसंग

संसार घुमेको सपना


भ्रमहरु क्षणिक हुन

जान्दाजान्दै पनि

मनले हिम्मत गर्दो रहेछ

उत्साहको न्यानोपन सहित

बोकेर स्वतन्त्रता

आफ्नै आकाशमा उड्ने ।।



Sunday, July 16, 2023

बजारको रङ्ग



माया

जसरी लाग्थ्यो

तिमीले दिएको

गुलाब कहिल्यै ओइलाउने छैन

त्यसरी नै लाग्थ्यो

तिम्रो नामको मेहिन्दी

कहिल्यै फिक्का पर्ने छैन


प्रेमसंग जोडिएको विश्वास

प्रेमसंग जोडिएको आफ्नोपन

अनि प्रेमसंग जोडिएको

इज्जत र सम्मानको

रङ्गमा कहिल्यै कमि आउने छैन


तर कहाँ थाहा थियो माया

जुन प्रेमको रङ्गमा

मलाई यति धेरै विश्वास थियो

यति धेरै अभिमान थियो 

त्यही प्रेमको रङ्ग

बजारको रङ्ग भन्दा छिटो उत्रीनेछ

छिटो फिक्का पर्नेछ ।



Monday, June 5, 2023

किस्मत, प्रेम अनि दिल

किस्मत 

बाध्य बनाइदिन्छ प्रेम गर्नेहरुलाई

एक अर्कासंग टक्राउन 

दिललाई सम्झाउने लाख कोशिश गरे पनि

दिल बेखर बनिदिन्छ ति कोशिशहरुसंग 

किनकि

दिल प्रेमभन्दा टाढा रहनै सक्दैन 

अझ भनौ 

प्रेम गर्नेहरूको दिल सधै संगै हुन्छ

अनि संसगै धड्किरहेको हुन्छ 

चाहे प्रेम गर्नेहरु 

आफूले गर्ने प्रेमसंग जति नै अन्जान किन नबनुन

तरपनि दिल, 

दिललाई सब थाहा हुन्छ 

त्यसैले त दिल  बाध्य बनाइदिन्छ 

किस्मतलाई

प्रेम गर्नेहरुको अगाडि झुक्न 

प्रेम गर्नेहरूको अगाडि नतमस्तक हुन ।।

Sunday, May 14, 2023

रहरहरुको अवसान

तिमीसंग अङ्गालोमा 


बेरिएर रुने रहर

रातभरि सङ्घर्षका

तितामिठा क्षणहरु साट्ने रहर 

तिम्रो काखमा शिर राखेर पोखिने रहर,


यो बाध्यताले बाधेको शहरमा

तिमीलाई सम्झेर मुस्कुराएको क्षण

हार्दा हार्दै पनि जीतको अनुभूति 

संगालेको पल

भिडमा एक्लिनु, रुनु 

अनि सम्मालिनुको खुशी 

सपनाहरु छुट्नुको दु:ख

आफ्नाहरु हराउनुको पीडा 

अनि आफ्नै रहरहरुको चिता सजाउनुको

त्यो कहालिलग्दो समय,


हरेक कुरा सुनाउन मन थियो तिमीलाई

तर तिमी यसरी पराइ भयौकि

मेरा सबै सबै रहर, रहर नै भए

यी रहरमा नै 

सिमित भएका रहरहरुलाई 

आफ्नो आँचलभरी समेटेर 

म तिम्रो आगनबाट 

कहि पर निस्किसकेछु

अब मलाई 

तिम्रो त्यो आगनमा  टेक्न पटक्कै मन छैन

हो मलाई 

तिमीसंग फेरि कहिल्यै भेट्न मन छैन ।।


Tuesday, March 7, 2023

नारी दिवस नारीको दिवस

 प्यारी आमा

असिमित सम्झाना अनि सम्मान सहित सादर प्रणाम ! 

सम्भवत लामो समयपछि होला तिम्रो नाममा यसरी पत्र कोरेको आमा । पत्र कोर्नु पर्ने खास कारण केही थिएन तरपनि सम्झनाहरु अक्षरमा पस्केर पोको पार्दाको आनन्द पनि त बेग्लै हुन्छ । कहिलेकाही सोच्छु प्रविधिको यति धेरै विकास हुँदाहुदै पनि मान्छे किन पुरानै कुरामा रमाई बस्छ होला । फेरि लाग्छ सायद प्रविधिमा त्यो प्रेम र आत्मियता गासिएको हुँदैन जुन आफ्नै मौलिक कुराहरुमा गासिएको हुन्छ ।

आज देशका सवै कार्यलयहरु विदा छन् र म पनि घरैमा छु। अझ भनु राजधानिको सानो कोठा बसेर आधा आकाश ढाक्ने महिलाको बारेमा सोच्दै आकाशतिर रुमलिदै छू । थाहा छ आमा आज किन विदा छ किनकि आज नारी दिवस हो, अन्तर्राष्ट्रिय नारि दिवस जसको अवसरमा राज्यले एकदिनको विदा घोषणा गरेको छ। राजधानीको बाटो, चोक, गल्ली सबैतिर नारि दिवसका नाराहरु चर्किरहेका छन्।साना देखि ठूला होटलेहरुमा गोष्ठि र सेमीनार चल्दैछन्।आजको दिन सबैलाई आफ्ना छोरी, बुहारि र पत्नी खुब प्रीय लाग्दैछन्।समानता,समता,इज्जत,मान सम्मानको कुरा खुव चल्दैछ यता।आजको दिन खुब नारिमय बनेको छ राजधानी ....फेरी पनि किन हो आज राजधानीको आकाश खुलेको छैन, चम्केको छैन।

यताको कुरा यस्तै हुन आमा जति गर्यो उति रङ्गीन तर पनि साह्रै फिक्का फिक्का .. । हरेक दिन फोन संवाद हुँदा तिमी सन्चै छु भन्छौ।तिमिले सन्चै छु भन्दा नपत्याउनु पनि कसरी। फेरि पनि सोध्न मन लाग्दोरहेछ आमा तिमी सन्चै छौ नि ..... !

नारी दिवसको बारेमा यति धेरै कुराहरु गरिरहदा मैले यो सोच्नै विर्सेछु आमा कि आज नारी दिवस हो भन्ने पनि तिमीलाई थाहा  होला कि नाई। तर मलाई यत्ती थाह , आज पनि तिमी सखारै उठेयौ होला, दैलो कुच्चो गरी वस्तुभाउलाई घाँसपात गरेयौ होला,घरकाहरुको निम्ति जति सक्दो मिहिनेत गरेर मीठो खाना बनाए पनि तिमीलाई जस भन्ने पक्कै मिले होला .... !  पनि तिमीले आफनो दैनीकि पुरा गरेयौ होला । बुहारी हुनुको कर्तव्य, पत्नि हुनुको धर्म अनि आमा हुनुको जिम्मेवारीलाई तिमीले आफूले सक्के जती राम्रो गरी निभायौ होला । 

साँच्चै! आमा तिमीलाई आज कसैले भन्यो होला कि नाई आज नारी दिवस हो, महिलाको दिन हो, तिम्रो दिन हो ... तिमी मुस्कुराउ, आजको दिन तिमीलाई भयो । जाऊ तिमी आफ्ना पखेटाहरु फिजाएर संसारलाई एक फन्को मारेर आऊ......!

आमा यो राजधानीमा बसेर यो राजधानीका सेमिनार,गोष्ठी,र्यारीमा समावेश भएर मैले कति जना आमा,दिदिबहिनी,बुहारी,पत्नी  छोरीहरुको जीवनमा परिवर्तन ल्याउन सके,सामाजिक संञ्जालका भित्ताहरु रङ्गाएर कति जनाको जिन्दगीलाई राहत महसुस गराउन सके साँच्चै मैले यो आजसम्म बुझेकी छैन । बरु मैले हरदिन देखेकी छु, हरपल महसुस गरेकी छु कि एक दिन नारी दिवस मनाएको जस्तो गरेर हरेक पटक यो समाजले मलाई कति हिनताबोध गराएको मलाई आफ्ना गिद्दे नजरले कतिपटक घेरेको छ । मेरो स्वतन्त्रतामा बार लगाएको छ,मेरो  आत्मसम्मानमा ठेस पुर्याएको छ  मेरा पखेटा काट्न तम तयार भएर सेको छहरेक पाइलामा आगो बिछ्याएको छ।आमा यी दिनहरुमा जिन्दगीले स्वतन्त्रता सास कति फेर्यो  फेरिरहेको  भन्न मुस्किल छ तर तिमीसँग हुदाँका हरेक पल उन्मुक्त   निस्फिक्रीका थिए,उमंग  हौसलापूर्ण थिए सुन्दर  प्रेमिल थिए जुन यो नारी दिवसले व्याख्या गर्ने खुशि, स्वत्रन्ताभन्दा कयौं गुना प्रीय थिए, छन् र रहिरहनेछन्....सम्झेजती सबै पलहरु सुखद हुदैनन्, न हर्षपूर्ण नै हुन्छन् बस तिम्रो आचलमा बिताएका पलहरु हुन आमा जसले जिन्दगीको हरेक समयामा पुनरताजगी छरिरहन्छन्  जिन्दगीलाई जिन्दगी जस्तै बनाइदिन्छन् 

कहिलेकाही सोच्छु  हुर्केको, बढेको त्यो गाउँमा नारी दिवस उँछ होला कि नाई,ल्लो घर कि सरिताले आजको दिन मात्र पनि डोको बिसाइ होला कि नाई, पल्ला घरकि काकिलाई उनका श्रीमानले छोराको निहुँमा हातपात गर्न छोडे होलान कि नाई आजै कै दिन भएपनि त्यस गाउँका पुरुषहरु भान्सासम्म पुगे होलान कि नाईतासको गड्डी एकातिर पन्छाए आफ्ना छोरीहरुलाई प्रेमले धाप मारे होलाकी नाई  स्तै यस्तै ....!

मलाई थाहा छ आमा यि सबै मेरा सोचाई मात्र हुन् । किनकि मैले एकदिन सोच्दैमा, तिमिले, हामिले सोचेको जस्तो परिवतर्न पनि सम्भव छैन।यसको निम्ति त सम्पूर्ण राज्य सत्ता, सरोकारवाला र शिक्षित वर्ग नै एक हुनुपर्छ।कलमले लेखेसरी सोचाईमा जागरुपता आउनु पर्छ। तिमी जसरी आफूलाई बाबाकि अर्धागिनी मान्छौ त्यसरी नै तिमीलाई पनि बाबाले जीवनसाथी मान्नु पर्छ  जसरी तिम्रा पाईला भान्छा सिमित छन् ति पाईलालाई घर बाहिर राख्न बाबाले तिम्रा हातहरु प्रेमले समाउनु पर्छ । तिमी बाबाको धौर्य बनिरहदा बाबा तिम्रो हौसला हुनुपर्छ ।

अनि यो राज्यले बुझ्नुपर्छ कि नारी सम्मान, नारी अधिकार र नारी समानताका कुरा वर्षको एक दिन मात्र गरेर पुग्दैन कुनै एकदिन छुट्याउदैमा नारीप्रतिको राज्यको जिम्मेवारी पुरा हुँदैन, यसको निम्ति हर घर, हर समाज, अनि सम्पूर्ण राष्ट्र नै लागी पर्नुपर्छ। नारीको पहिचानको लागी, नारीको सम्मानको रक्षाको लागी, नारीको समानता स्थापित गर्नको लागी  नारीको शिक्षामा पहुच पुर्याउनको लागी उनीहरुलाई सृजनात्मक र रचनात्मक कुरामा अभिवृद्धि गर्नको लागी अनि महत्वपूर्ण कुरा उनीहरुको निम्ति यस्तो वातावरण तयार गर्नको लागी जहाँ उनीहरु आफूलाई सुरक्षीत स्वतन्त्र महसुस र्न सकुन ।तब मात्र नारी दिवसको मर्म पुरा हुन्छ  र नारी दिवस नारीको दिवस बन्छ ।

#"लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार"

#११३  अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस

# मार्च

#शुभकामना

 

 

 

Monday, February 13, 2023

प्रेम,प्रेमप्रत्र अनि अनुभूति


                                                                                                                                                       मिती                                                                            २०७९/११//०२
 प्रीयतम 
यो प्रेमको मौसममा तिमीलाई प्रेम सहित अनगिन्ती सम्झना 

लामो समयपछी तिमीलाई यो पत्र लेख्ने हिम्मत गरेकी छु ।पत्र पनि के भन्नु माया केहि मनका भावहरु, केहि अनुभूतिहरु अनी केहि जिन्दगीका तितामिठा क्षणहरु ...!! माया यो पत्र यसकारण लेख्दै छैन कि भन्नलाई धेरै कुरा थिए अथवा छन् बरु यस कारण लेख्दै छु कि प्रेमलाई बोल्नु, भन्नु, जताउनु भन्दा शब्दहरुमा पस्कनुमा नै निकै आनन्द छ र हुन्छ माया, कयौं कुराहरु यस्ता हुन्छन् जुन सबै सहजै अभिव्यक्त हुँदैनन्न अभिव्यक्त गरेर नै सकिन्छन् बस तिनै कुरामा मिठास थपेर पस्किदा तीनको सुन्दरमा अझ निखार आउँछ।

जिन्दगीको भोगाइमाजिन्दगीको परिक्षामा अनि जिन्दगीको कसौटिमा सबैभन्दा सुन्दर भनेकै प्रेम हुने रहेछ माया जो संगको एकपलको सानिध्याताले पनि जिन्दगिभर पुग्ने ताजापन दिने रहेछ। यादहरुको संगालोमा आफैलाई कयौं पल बेर्दाको आन्नद नै बेग्लै हुने रहेछ।माया, प्रेम सबै सबैसंग , अनगिन्ती , यो सृष्टि, यो प्रकृति, यो जल, यो हावा, यो आकास सबै प्रेमको अनुभुती दिने सबैभन्दा सुन्दर माध्यम हुन्।साँच्चै माया कहिलेकाही यस्तो लाग्छ अस्ताउदै गरेको घामको रङ्ग चोरेर आफ्नो सिउदोमा सजाउ, सप्त रङ्गि इन्द्रेणीको रङ्गमा घुलेर हराउ, मेघको झरिमा छमछम गर्दै नाँचु र सबैलाई नचाउ.... जब जब यि सबैको कल्पनामा डुब्छु आफ्नै अगाडीको दर्पणले आफैलाई जिस्काएको जस्तो लाग्छ ।

 माया हिजोआज प्रेम बदनाम छ, प्रेम मान्छेहरुको निम्ति प्रेम हैन हवस बनेको छ।मनको पर्वाह कँहा रहयो  अब कसैलाई बस सबैलाई मन भुलाउने आकर्षक बहाना चाहिएको छ।पुजा गर्ने मन हैन, खेल्ने तन चाहिएको छ।यस्तो सम्झिदा, देख्दा साह्रै नरमाइलो लाग्छ।मान्छेहरुले बिर्सि सके कि प्रेम  त्यो हो जो बगिरहेको गंगा जस्तै हुन्छ चंचल अनि कन्चन, जहाँ संसारका सारा फोहोरहरु पनि छानिएर शुद्ध बन्छन्, प्रेम  त्यो फूल हो जसको बास्नामा कुनै भेदभाव हुँदैन जसको सुगन्धमा हरपल हरक्षण सारा संसार मग्मगाई रहन्छ ।प्रेम त जिन्दगीको तपस्या हो जसलाई हासिल गर्छु भन्नेहरु प्रेमको तापमा जलेर भस्म हुन्छन्।प्रेम  त्यो हो जसले आफूलाई मेटाएर अरुमा जीवन भरिदिन्छ।प्रेम  त्याग, तपस्या  लुटाउन जानेपछि प्राप्त हुने भगवानको प्रसाद हो जो थोरै धेरै भन्ने हुँदैन।बस हुन्छ  सम्पूर्ण जीवन नै सबारिदिन्छ।

माया, प्रेम अनुभुती, समर्पण  भावको सुन्दर संगम हो जसले हामीलाई एकाअर्कामा मिसाउदै लैजान्छ  प्रीत बनेर स्वयम हामीलाई आफ्नो बनाउछ। साँच्चै प्रीयतम जब जब म प्रेमको त्यो भाव समर्पणमा डुब्छु त्यतिबेला तिमीसँगको प्रेमको उच्चतम बिन्दुमा आफूलाई पाउछु  तिमीसंगको प्रेम अझ गहिरिएको आभास हुन्छ।जिन्दगीको यात्रामा तिमी त्यस्तो साथी हौ जोसंग  बेपर्वाह मुस्कुराउन सक्छुधोको पुग्नेगरि रुन सक्छु, रिसाउन सक्छु, गुनासो गर्न सक्छु अनि तिमीलाई सताउन सक्छु।तिमी त्यो प्रेरणा हौत्यो हौसला हौ जसलाई सम्झेर म सारा दुःखहरुसंघर्षहरु यसै यसै पार गर्न सक्छु।

 माया यी दिनहरुमा सोच्छु तिमीसंग भेटे पछिका यि दिनहरु कसरी पलमा बदलिय मैले चालसम्म पाइन।जिन्दगिमा अज्नवि लाग्ने रङ्गहरुसंग म कसरी आफ्निदै गइ मैले पत्तोसम्म पाइन।प्रीतमा प्रीत सहित मिसिदा त्यसको रङ्ग कति सुन्दर हुदोरहेछ भनेर मैले यो समयमा अनुभव गरिरहेकि छु   

 साँच्चै माया जब प्रेमको सुन्दर भावसहित कसैले कसैलाई अँगालोभरी समेटेर आफ्नोपन सहित आफ्नो बनाउँछ तब त्यो प्रेम कति जीवन्त बन्दो रहेछ भन्ने कुरा मलाई तिमीसँगको यात्राले बोध गराइरहेको छ।प्रेम गर्नेहरुलाई आफूमा समेट्दाको आनन्दको अगाडी शब्दहरु पनि फिका पर्ने रहेछन्।यि गोरेटोहरु, यि डाँडाँपाकाहरु, यि नदिनालाहरु, यि पलाउदै गरेका पालुवा, यि चिरबिर गर्ने चरिहरु प्रत्येकले तिमी मसँगै हुनुको एहिसासलाई जगाइराख्छ्न्  म त्यो एहिसाससंगै हराउछु प्रेमको सुन्दर बगैंचामा जहाँ आफैलाई बिर्सेर प्रेमको संसारमा हराउनुको आनन्द नै बेग्लै हुन्छ 

मायालु तिमीमा कोरिनु, तिमीमा हराउनु, तिम्रा अनुभुतीहरुमा आफूलाई सम्पूर्ण निछावर गर्नु सायद यहि प्रेमको सुन्दर रङ्ग होला।कहिलेकाँही सोच्छु कस्तो अचम्मको  यो प्रेमको संसार जहाँ सम्पूर्ण आफ्नो हुदाँहुदै पनि केही आफ्नो लाग्दैन।आफैलाई बिर्सिएर बस लाग्छ  उनको माया.... हराइन्छ त उनको सम्झनामा ...!! जब ति सम्झनाहरु मीठो झ-झल्को बनेर आउछन् त्यतिबेला लाग्छ त्यहि नै जिवनको सबैभन्दा अनमोल क्षण हो जसलाई बोध गर्न पाउनु नै मेरो सौभाग्य हो।

माया जब जब हामी कसैलाई प्रेमको सुन्दर भावसहित अँगालोभरी समेटेर आफ्नोपन सहित उसलाई आफ्नो बनाउँछौ तब त्यहाँ जीवन्त प्रेमको आभास हुन्छ। प्रेमलाई तनको दुरीले कहिल्यै फरक पार्दैन बस प्रेम त मनको सामिप्ता खोज्छ र त्यसैको न्यानोपनमा आफूलाई जगाई राख्छ ।

माया भन्नलाई त भने प्रेम पत्र लेख्दैछु तर यो अनुभूतिको संगालो पनि हो जहाँ नितान्त अनुभूतिहरु छन्, तिमिले बुझ्छौ भन्ने एउटा विश्वास छ ... सबै भन्दा धैरै त प्रेम छ ...... प्रेम सहित गरिएका उम्मिद छन्, लेखिएका भावहरु छन् ।माया, प्रेम छ र प्रेम रहिरहनेछ ...... तिमि आफ्नो ख्याल राख्नु प्रेम सहित तिमीलाई आँउदै गरेको प्रेम दिवसको धेरै धेरै शुभकामना !!
                                          
                                                                 नीला
 
 

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...