मिती २०७९/११//०२
प्रीयतम
यो प्रेमको मौसममा तिमीलाई प्रेम सहित अनगिन्ती सम्झना ।
लामो समयपछी तिमीलाई यो पत्र लेख्ने हिम्मत गरेकी छु ।पत्र पनि के भन्नु माया केहि मनका भावहरु, केहि अनुभूतिहरु अनी केहि जिन्दगीका तितामिठा क्षणहरु ...!! माया यो पत्र यसकारण लेख्दै छैन कि भन्नलाई धेरै कुरा थिए अथवा छन् बरु यस कारण लेख्दै छु कि प्रेमलाई बोल्नु, भन्नु, जताउनु भन्दा शब्दहरुमा पस्कनुमा नै निकै आनन्द छ र हुन्छ माया, कयौं कुराहरु यस्ता हुन्छन् जुन सबै सहजै अभिव्यक्त हुँदैनन्, न अभिव्यक्त गरेर नै सकिन्छन् बस तिनै कुरामा मिठास थपेर पस्किदा तीनको सुन्दरमा अझ निखार आउँछ।
जिन्दगीको भोगाइमा, जिन्दगीको परिक्षामा अनि जिन्दगीको कसौटिमा सबैभन्दा सुन्दर भनेकै प्रेम हुने रहेछ माया जो संगको एकपलको सानिध्याताले पनि जिन्दगिभर पुग्ने ताजापन दिने रहेछ। यादहरुको संगालोमा आफैलाई कयौं पल बेर्दाको आन्नद नै बेग्लै हुने रहेछ।माया, प्रेम सबै सबैसंग छ, अनगिन्ती छ, यो सृष्टि, यो प्रकृति, यो जल, यो हावा, यो आकास सबै प्रेमको अनुभुती दिने सबैभन्दा सुन्दर माध्यम हुन्।साँच्चै माया कहिलेकाही यस्तो लाग्छ अस्ताउदै गरेको घामको रङ्ग चोरेर आफ्नो सिउदोमा सजाउ, सप्त रङ्गि इन्द्रेणीको रङ्गमा घुलेर हराउ, मेघको झरिमा छमछम गर्दै नाँचु र सबैलाई नचाउ.... जब जब यि सबैको कल्पनामा डुब्छु आफ्नै अगाडीको दर्पणले आफैलाई जिस्काएको जस्तो लाग्छ ।
माया हिजोआज प्रेम बदनाम छ, प्रेम मान्छेहरुको निम्ति प्रेम हैन हवस बनेको छ।मनको पर्वाह कँहा रहयो र अब कसैलाई बस सबैलाई मन भुलाउने आकर्षक बहाना चाहिएको छ।पुजा गर्ने मन हैन, खेल्ने तन चाहिएको छ।यस्तो सम्झिदा, देख्दा साह्रै नरमाइलो लाग्छ।मान्छेहरुले बिर्सि सके कि प्रेम त त्यो हो जो बगिरहेको गंगा जस्तै हुन्छ चंचल अनि कन्चन, जहाँ संसारका सारा फोहोरहरु पनि छानिएर शुद्ध बन्छन्, प्रेम त त्यो फूल हो जसको बास्नामा कुनै भेदभाव हुँदैन जसको सुगन्धमा हरपल हरक्षण सारा संसार मग्मगाई रहन्छ ।प्रेम त जिन्दगीको तपस्या हो जसलाई हासिल गर्छु भन्नेहरु प्रेमको तापमा जलेर भस्म हुन्छन्।प्रेम त त्यो हो जसले आफूलाई मेटाएर अरुमा जीवन भरिदिन्छ।प्रेम त त्याग, तपस्या र लुटाउन जानेपछि प्राप्त हुने भगवानको प्रसाद हो जो थोरै धेरै भन्ने हुँदैन।बस हुन्छ र सम्पूर्ण जीवन नै सबारिदिन्छ।
माया, प्रेम अनुभुती, समर्पण र भावको सुन्दर संगम हो जसले हामीलाई एकाअर्कामा मिसाउदै लैजान्छ र प्रीत बनेर स्वयम हामीलाई आफ्नो बनाउछ। साँच्चै प्रीयतम जब जब म प्रेमको त्यो भाव समर्पणमा डुब्छु त्यतिबेला तिमीसँगको प्रेमको उच्चतम बिन्दुमा आफूलाई पाउछु र तिमीसंगको प्रेम अझ गहिरिएको आभास हुन्छ।जिन्दगीको यात्रामा तिमी त्यस्तो साथी हौ जोसंग म बेपर्वाह मुस्कुराउन सक्छु, धोको पुग्नेगरि रुन सक्छु, रिसाउन सक्छु, गुनासो गर्न सक्छु अनि तिमीलाई सताउन सक्छु।तिमी त्यो प्रेरणा हौ, त्यो हौसला हौ जसलाई सम्झेर म सारा दुःखहरु, संघर्षहरु यसै यसै पार गर्न सक्छु।
माया यी दिनहरुमा सोच्छु तिमीसंग भेटे पछिका यि दिनहरु कसरी पलमा बदलिय मैले चालसम्म पाइन।जिन्दगिमा अज्नवि लाग्ने रङ्गहरुसंग म कसरी आफ्निदै गइ मैले पत्तोसम्म पाइन।प्रीतमा प्रीत सहित मिसिदा त्यसको रङ्ग कति सुन्दर हुदोरहेछ भनेर मैले यो समयमा अनुभव गरिरहेकि छु ।
साँच्चै माया जब प्रेमको सुन्दर भावसहित कसैले कसैलाई अँगालोभरी समेटेर आफ्नोपन सहित आफ्नो बनाउँछ तब त्यो प्रेम कति जीवन्त बन्दो रहेछ भन्ने कुरा मलाई तिमीसँगको यात्राले बोध गराइरहेको छ।प्रेम गर्नेहरुलाई आफूमा समेट्दाको आनन्दको अगाडी शब्दहरु पनि फिका पर्ने रहेछन्।यि गोरेटोहरु, यि डाँडाँपाकाहरु, यि नदिनालाहरु, यि पलाउदै गरेका पालुवा, यि चिरबिर गर्ने चरिहरु प्रत्येकले तिमी मसँगै हुनुको एहिसासलाई जगाइराख्छ्न् र म त्यो एहिसाससंगै हराउछु प्रेमको सुन्दर बगैंचामा जहाँ आफैलाई बिर्सेर प्रेमको संसारमा हराउनुको आनन्द नै बेग्लै हुन्छ ।
मायालु तिमीमा कोरिनु, तिमीमा हराउनु, तिम्रा अनुभुतीहरुमा आफूलाई सम्पूर्ण निछावर गर्नु सायद यहि प्रेमको सुन्दर रङ्ग होला।कहिलेकाँही सोच्छु कस्तो अचम्मको छ यो प्रेमको संसार जहाँ सम्पूर्ण आफ्नो हुदाँहुदै पनि केही आफ्नो लाग्दैन।आफैलाई बिर्सिएर बस लाग्छ त उनको माया.... हराइन्छ त उनको सम्झनामा ...!! जब ति सम्झनाहरु मीठो झ-झल्को बनेर आउछन् त्यतिबेला लाग्छ त्यहि नै जिवनको सबैभन्दा अनमोल क्षण हो जसलाई बोध गर्न पाउनु नै मेरो सौभाग्य हो।
माया जब जब हामी कसैलाई प्रेमको सुन्दर भावसहित अँगालोभरी समेटेर आफ्नोपन सहित उसलाई आफ्नो बनाउँछौ तब त्यहाँ जीवन्त प्रेमको आभास हुन्छ। प्रेमलाई तनको दुरीले कहिल्यै फरक पार्दैन बस प्रेम त मनको सामिप्ता खोज्छ र त्यसैको न्यानोपनमा आफूलाई जगाई राख्छ ।
माया भन्नलाई त भने प्रेम पत्र लेख्दैछु तर यो अनुभूतिको संगालो पनि हो जहाँ नितान्त अनुभूतिहरु छन्, तिमिले बुझ्छौ भन्ने एउटा विश्वास छ ... सबै भन्दा धैरै त प्रेम छ ...... प्रेम सहित गरिएका उम्मिद छन्, लेखिएका भावहरु छन् ।माया, प्रेम छ र प्रेम रहिरहनेछ ...... तिमि आफ्नो ख्याल राख्नु प्रेम सहित तिमीलाई आँउदै गरेको प्रेम दिवसको धेरै धेरै शुभकामना !!
नीला
