…… प्रेम त्यो हैन जसलाई एकपटक पोखिसकेपछि रित्तियोस, एकपटक निछावर गरेपछि खालि होस प्रेम त त्यो हो जो आफैमा भरीपूर्ण छ, आफैमा सुन्दर छ अनि आफैमा तृप्त छ । जसले हरपल हरक्षण हामीलाई हामी हुनुको बोध गराइराख्छ, स्वतन्त्रता र सिमाको आभास गराइ राख्छ आफ्नो हुनुको आफ्नोपन जगाइ राख्छ। रोएका आँखाहरुमा मिठो मुस्स्कान छरिदिन्छ, उजाड मरभूमीमा हरियाली वर्षात गरिदिन्छ, शिशिरको उजाडपनमा वसन्तको बहार ल्याइदिन्छ। मनसंग मनलाई जोडेर प्रकृतिको समिप पुर्याइदिन्छ अनि विना रङ्गमा पनि प्रेमको रङ्गले रङ्गाएर चिटिक्क बनाइदिन्छ।
….. र खालि क्यानभासहरु प्रेमको रङ्गमा रङ्गिन अनि कोरिन आतुर हुन्छन इन्द्रेनी आफूमा आठौ रङ्ग भर्नको लागि लोभिन थाल्छ, रङ्गहरुको मिश्रणमा सबैभन्दा सुन्दर रङ्ग भनेको प्रेमको रङ्ग हुन्छ जसले जलेका मुटुमा प्रेमको शितल भरिदिन्छ अनि रुझेका आँखाहरु यसै यसै लोलाउछन ।
प्रेम हो नै यस्तै, रहेछ नै यस्तै प्रेममा प्रेमिका त्यतिबेला सुन्दर हुन्छे जब प्रेमीले प्रेमको हात थामीरहेको हुन्छ।म कहिलेकाहीँ सोच्छु प्रेम दुबैले उस्तै र उसैगरी गरेका हुन्छन तर प्रेम भार किन प्रेमी माथि मात्र निहित हुन्छ होला। सायद प्रेमको रितै यस्तो हो कि!
सोह्र शृङ्गार किन एक्लै सुन्दर लाग्दैन होला गुलाफ एक्लै किन पुरा हुदैन होला यस्तै यस्तै ।
हरकसैले प्रेमलाई आफ्नै ढङ्गबाट मापन गरिरहेका हुन्छन ... आफ्नो आफ्नो विष्लेषणमा प्रेमको लेखाजोखा राखिरहेका हुन्छन । तर हरेक पटक म प्रेमलाई नयाँ कोणबाट हेर्ने,बुझ्ने र महसुस गर्ने कोशिश गरिरहेकि हुन्छु । हिजोसम्म आफ्नै सवाल थिए कसैकि सम्मानित प्रेमिका, सम्मनित पत्नि अनि बुहारी बन्न सक्छु होला कि नहोला, आम केटि देखि कसैको प्रेमिका, पत्नि र बुहारी बनिरहदा त्यो इज्जत, त्यो मान मर्यादा, त्यो प्रेम, त्यो आफ्नोपन र सम्मान पाउछु होला कि नहोला ... तर आज यि सबै सवाल जवाफबाट भिन्न उभिएर म आफैलाई सवाल गर्न थालेकि छु जति अपेक्षा मैले अरुबाट गरेकि छु के म त्यति नै अरुको अपेक्षा पुरा उत्रीन सक्छु होला कि नहोला यस्तै यस्तै .....।
जिन्दगीको मझदारमा उभिएर कहिलेकहीँ कयौं प्रश्नहरु आफै माथि तेर्साउन मन लाग्दो रहेछ । जस्तो प्रेम।प्रेमीका र जीवन साथिबिच भिन्नता छुट्याउन मन लाग्दो रहेछ । प्रेमी।प्रेमीका जीवन साथी बनेपछी प्रेमी।प्रेमीका बनिरहन्छन् कि रहदैनन् होला सोच्न मन लाग्दो रहेछ। सधै आफ्ना कुरा मात्र प्राथमिकतामा राख्ने म जस्ता केटिहरुले यस बारेमा के सोच्छन मलाई थाहा छैन तर मलाइ लाग्छ कसैलाई जीवनसाथि भने पछि जीवनसाथिको स्थानमा राख्नु पर्छ, त्यहि सम्मान र त्यहि इज्जत दिनुपर्छ। हुना त नेपाली समाज त्यति पनि आधुनिक भइसकेको छैन कि पत्निका कुरालाई प्राथमिकतामा राखोस तर यो मेरो नितान्त मेरो सोच हो ।
होलान जिन्दगीका आफ्नै संघर्षहरु …… फेरि पनि म शब्दहरु कोर्दैछु, प्रेम लेख्दैछु र प्रेमसंगै तिमिलाई पनि कोर्दैछु । हो, कयौं पटक मैले तिम्रा कयौं सवालका जवाफहरु यसै टालेकि छु। तिमीसंग जिद्दी गरेकि छु। हुनात यो मैले प्रेमिका हुनुको हक अदा गरेकि हुला अनि तिमिले पनि प्रेमि हुनुको जिम्मेवारी बोध गरेर होला। तर म फेरि पनि म मेरा कयौं कुराहरुमा स्पष्ट छु, जस्तो मेरो स्वतन्त्रता, मेरो आत्मनिर्भता, मेरा सिमाहरु अनि तिमिसंगको असिमित प्रेम तिमीप्रतिको आदरभाव अनि तिमिप्रतिको जिम्मेवारी ........... ।
र, मलाई बोध छ सम्बन्ध मात्र सम्बन्ध हैन यो जिम्मेवारी पनि हो । सम्बन्धले आफूसंग कयौं सम्बन्ध र जिम्मेवारीहरु बोकेर आएको हुन्छ। जिम्मेवारीसंगै सम्बन्धमा उतारचढाव आउनु स्वभाविक हुन जान्छ ।तर जीवनका प्रत्यक क्षणहरुमा तिमि र म “हामी हुनु र रहनु महत्वपूर्ण कुरा हो।
……… र यो सफरमा हामी सदा “हामी” रहिरहने छौ । जसरी म तिम्रो सम्पूर्ण संघर्षको साक्षी बनिरहेकी छु त्यसरी नै तिमी मेरो सम्पूर्ण संघर्षको हौसला हौ। प्रीय साथी यो साथको निम्ति,यो सानिध्यता अनि आफ्नोपनको निम्ति असिमित प्रेम … असिमित आदरभाव ।