थाहा छ जब जब म शब्दहरु कोर्न थाल्छु तिमी अनायासौ
थाहा छ मेरो शहर केही पलको झरिले भिजि रहदा म तिम्रा यादहरुको प्रेमलतामा भिजिरहेकी हुन्छु हरेक पल .. प्रेमको रङ्ग सुन्दर हुन्छन् मैले कयौं पटक लेख्ने गरेकी छु, मैले कयौं पटक प्रेमलाई सुन्दर शब्दमा पस्केकी पनि छु । मैले प्रेम कहिलेदेखि लेख्न सिके, मेरा औलाहरुमा प्रेम कहिलेदेखि यसरी बस्यो म आफै जान्दिन ।
तर तिमीसँगको यात्रामा मैले प्रेमलाई साह्रै नजिकबाट महसुस गर्न थालेकी छु, तिमी सोध्छौ "जीवनका सुन्दर पलहरु धेरै हुन्छन् कि धेरै ?" साँच्च भनु "जीवन हरेक पलमा सुन्दर छ"। मैले यो यस कारण भनेकी हैन कि म तिमीसँगको प्रेममा छु अथवा यो समयमा मैले प्रेमलताको शैर गरेकी छु । मैले जीवनलाई साह्रै सरलताका साथ आत्मसात गर्ने गरेकी छु र जतिजति म यो सरलताको नजीक पुग्छु मलाई जीवन उतिउती सुन्दर लाग्छ, उतिउती रसमय लाग्छ र प्रेमिल लाग्छ ।
तिमीले साँच्चै भनेयौ हाम्रो बीच समय वास्तवमा रोकिएको हुन्छ त्यसैले हाम्रो बीचका संवादको कुनै अन्त्य हुँदैन । अझ भनौँ सबैथोक रोकिएको हुन्छ: सीमा, परिभाषा, तर्क आदि आदि
र त मनमा यस्तो लाग्छ यो पल लाई सधैँ कैद गरूँ ताकि यस पलको परिपूर्णता पछि अन्य पलको कुनै जरुरत नै नपरोस् ।
सायद प्रेम गर्नेहरुले अझ भनौ प्रेमलाई हृदयबाट आत्मसात गर्नेहरुले प्रेमको गरिमालाई उच्च स्थानमा राखेर यसरी नै सोच्छन् होला जस्तो तिमीले सोच्छौ । जस्तो तिमीले मलाई महसुस गराउछौ ।
साँच्चै तिमी सहि सोच्छौ अनुभवको संसारमा यो पनि प्रवाहमय नै हो, यो अस्थिर हुन सक्दैन, यो त झन झन पूर्ण गतिशील हुन्छ ।र त यो अन्तरतम हृदयको गहिराईमा शाश्वत हिसाबले सधैँ बाँचीहरन्छ । जीवनलाई भोग्दै जादाँ जीवनका बाह्य, पारिस्थितिक, व्यवहारिक, चुनौतीहरू र लक्षहरूका संघर्षमा जीवनका कोमलतम पक्षहरू कतिपय नाजुक पनि हुने गर्छन् । तर प्रेम अपवाद छ किनकि यो शाश्वत छ र यसलाई शाश्वत भनिसकेपछि यो कमजोर हुन्छ भनेर सोच्नु नै मूर्खता हुन्छ ।बस परिस्थितिका चुनौतीमा यसले जीवनलाई कसरी, कहाँ, कुन चुनौतीमा लाने गर्छ त्यो मात्र अर्को पाटो हो ।
जीवन पनि त यौटा प्रवाह हो - नदीजस्तै कहिले शान्त हुन्छ कहिलो यसमा घनघोट बाढीहरू पनि त आउने गर्छन् । तर हामी जीवनलाई बाँच्न कहाँ छोडेका छौ र, जीवनका प्रत्येक चुनौतीमा हामी अझ मजबुत भएर जीवनको अगाडि उभिने गर्छौ सायद यहि जीवनको सुन्दर पाठ हो जसलाई सबैले जीउछन् तर कमले मात्र बाँच्छन् ।
मलाई थाहा छैन प्रेमलता विशुद्ध र निरपेक्ष हुन सक्छ, या सक्दैन । बस मलाई यति थाहा छ कि प्रेममा मात्र "प्रेम" हुन्छ प्रेम बाहेक प्रेममा बाकीँ कुरा गौण हुन्छन् । प्रेमले जीवनको यौटै यात्रा कहाँ खोज्छ र प्रेम यति स्वार्थी कहाँ हुन्छ र प्रेमले त सबैलाई आफूमा समेटेर राख्छ, सबैलाई समेटेर सबैमा जिन्दगी भर्ने काम गर्छ र जीवनको यात्रालाई मजबुति दिँदै जान्छ, स्वार्थी भयो भने त यो निरस भईहाल्छ, अझ भनौँ प्रेम स्वार्थमा जाँदा अलग भएर अन्तै हराईसकेको हुन्छ, र त्यहाँ प्रेम क्षिण हुन्छ। अनि अर्को कुरा समयले, ठाउँले, व्यक्तिले प्रेमलाई कत्ती पनि फरक नपार्ने रहेछन् किनकि प्रेम गर्नेहरुले प्रेम हृदयसँग गरेका हुन्छन् र हृदय यी सब कुराको कायल हुँदैन । र तआन्तरिक हृदयमा प्रेमको झरना सधैँ जहाँ, जहिले, जसै गरे पनि नरोकिईकन बगि नै रहेको हुनेरहेछ । व्यक्तिले त्यस बोधलाई वास्तविक र गहन स्पर्शमय प्रतिमूर्तिको स्थूलता दिने रहेछ ।
प्रेम व्यक्तिको कायल हुन्छन्, उसको हृदयको कायल हुन्छ, जसले प्रेमलाई हृदयलाई लगाउन सक्यो प्रेम उसैको हुन्छ । प्रेमले दुखाउछ या दुखाउदैन म यी दिनहरुमा यी कुराहरु सोच्न चाहादिन बस म तिमीलाई जिउन चाहन्छु प्रेम सहित, तिमीसँग जिउन चाहन्छु प्रेम बनेर .....
तिमीलाई थाहा छ नि जिन्दगीमा जति नै कुरा गरेपनि जिन्दगी जिउने भनेको बास्तबिकताको धरातलमा नै हो । र मलाई त्यही धरातलमा टेकेर तिमीसँग प्रेमको उडान भर्नु छ, तिम्रो आलिङ्गनमा बेरिएर तिमीमा हामी भएर बाँच्नु छ बस ...... ...... ....... ..... .....!!
No comments:
Post a Comment