थाहा छ तिमीलाई
प्रेमको गहिराई कति छ
भनेर कहिल्यै
बताउन सकिँदैन,
म यहि सोच्छु
प्रेम हृदयमा समाएको छ,
धड्कनले प्रेमको
आभास गरेको छ
अनि तिमीलाई
आफ्नो भनेर
सम्बोधन गरेको छ,
तिमी सोध्छौ नि
"तिमीले प्रेम गरेयौ कि
प्रेममय भयौ भनेर ?"
साँच्चै भनु
प्रेममा हुनु भनेको
प्रेम गर्नु हो
जोसँग प्रेम छैन
उसले कसरी प्रेम
दिन सक्छ,
प्रीयतम मैले तिमीलाई
प्रेम गरिरहेकी छु
किनकि म प्रेममय छु,
तिमी सबै सवालहरु
जवाफमा नखोज्नु
किनकी हरेक सवालका
जवाफ हुदैनन्,
अनि
सबै जवाफहरु सधै शब्दमा
पूरा हुदैनन्,
बरु कहिलेकाहीँ तिमी
स्वयम् आफ्नो हृदयको
गहिराईमा डुबुल्की मार्नु,
तिम्रो हृदयको प्रेमिल
आभास नै तिम्रा तमाम
सवालहरुको जवाफ हुनेछ,
त्यही जवाफ हाम्रो
प्रेम हुनेछ
अनि त्यही प्रेम हाम्रो
सुन्दर प्रीत बन्नेछ ।।
No comments:
Post a Comment