लामो समयको अन्तराला पछि ऊ आफ्नो गाउँ जादै थिई । गाँउसंगको खुशी, हावासंगको चञ्चलता अनि
अनगिन्ती
यादहरु बोकेर वसन्तसँग वसन्तको बहाबमा उडेर ऊ गाउँ जादैथिइ । उसले बाटोमा धेरै
कुराहरू सोचिसके कि गाउँमा यो गर्छु त्यो गर्छु कति कति ..... जसै जसै ऊ गाउँको
नजिक नजिक पुग्दै जान्थी उसै उसै उसलाई आफ्नो बालपन याद आउदै जान्थ्यो । धारामा
साना साना केटाकेटीको ताँती देख्दा उसलाई साथिहरुसँग कम्मरमा पानी बोक्दै
गुनगुनादै हिडेको याद आइहाल्थ्यो । बनजङ्गलमा बाख्रा चराउदै,
काफल टिप्दै गरेको ऊ खुब याद गर्थी
। यस्तो लाग्थ्यो ऊ यादहरुसँगै आफ्नो बालापनका ती सुन्दर दिनहरुमा पुग्दैथी ।
जसै ऊ गाउँ पुगि । गाउँमा त नयाँ बाटो बनेछ। पुरानो ढुङ्गे धारा नयाँ सिमेन्टको धारामा बदलिएछ
। साथिसंगीसँग खेलेको बनजङ्गल कहाँ हो कहाँ पुगेछ । हिजोआज गाउँमा केटाकेटीहरु
साथिसंगीसंग भन्दा पनि बढी मोबाइलसँग रमाउन थालेका रहेछन् । यो सब देख्दा ऊ धेरै
दुखी भएकी भई ।
गाउँमा पहिलेको जस्तो गाउलेपन कहाँ थियो र गाउँ त शहर बन्ने धुनमा
ब्यस्त थियो । गाउँको त्यो साधा र सरलपन अब कहाँ पाउनु । नयाँ पुस्तासँगै भित्रीदै
गरेको बिकृती बोकेको आधुनिकपन जसमा सबै ब्यस्त देखिन्थे ।
आफ्नो पुरानो गाउँ त्यहाँको सभ्यता त मानौ उसको कल्पनामा मात्र बाँकी
थियो । ऊ अलमल थिई के यो उसको त्यही गाउँ हो जहाँ उसले आफ्नो जिन्दगीको सबैभन्दा
सुन्दर समय बिताएकी थिई ?
उसले चिनेका मान्छे धेरै कम थिए गाउँमा त्यसैले पनि ऊ गाउँका घरहरु
हेरेर अलि पुरानो जस्तो लाग्ने घरमा केही दिनलाई बस्ने सोच बोकेर पुगेकी थिई ।
घरमा बुढी आमा मात्र थिन
। उनका छोराछोरी धेरै पहिलो शहर हिडिसकेका रहेछन् । छोराछोरी, नातिनातिना भएर पनि ती बुढि आमा
एक्लै भएको देख्दा उसलाई कस्तो कस्तो लाग्यो । अनि उसले केही दिन बुढी आमासँगै
बस्ने सोच बनाई ।
उसको केही दिनको बसाई बुढी आमाको लागि निकै खुशी बनि रहेको थियो । ती
बुढी आमाको आँखामा खुशी प्रष्ट नजर आउथ्यो । ऊ सोच्थी उसका हजुरबुबा, हजुरआमा उसलाई यी दिनहरुमा देखेको
भए कति खुशी हुनुहुन्थ्यो होला तर अब यो सम्भव कहाँ थियो र ! उसले आफ्नो सानै उमेरमा
आफ्ना हजुरबाबा,
हजुरआमा
गुमाएकि थिए । हजुरबुबा हजुरआमा त अब उसकालागी मात्र रहर थिए । तर उसको केही दिनमा
नै ती बुढिआमासँग गहिरो आत्मीयता बसेको थियो । ती बुढिआमाको आँचलमा उसले आफूले
खोजेको जस्तो सकुन भेटिरहेकी थिई ।
शहरको कोलाहल, घना
मान्छेहरुको बस्ती दिन रातको कामबाट केही दिनलाई सकुनसहित बाँच्न ऊ शहरबाट
बाहिरिएकी थिई । उसले गाउँ छोडेको ठ्याक्कै कति समय भयो त्यो त उसलाई पनि थाहा छैन
। आफ्नो स्कुले जीवन पूरा गरेर उच्च शिक्षा हासिल गर्न र सुन्दर भविस्य बनाउनको
लागि ऊ शहर भित्रीएकि थिई ।
शहर पनि त कहाँ सजिलो थियो र उसको लागि आफ्ना सारा रहरहरु एकातिर
पन्छाएर दिनरात नभनी उसले मेहनत गरेकी थिई । जिन्दगीको सफरमा जिन्दगीलाई दाउमा
राखेर उसले आफ्नो आज निर्माण गरेकी थिई ।
सङ्घर्षका ती कहालीलाग्दा दिनहरु आज सपना जस्ता लागे पनि ती साह्रै कठिन
थिए । कति दिन उसले भोक प्यास केही नभनी दु:ख गरि, कति दिन काम नपाएर कामको खोजिमा भौतारी यी कुराको
साक्षी त केवल समय मात्र छ ।
उसलाई महसुस भएको कुरा- एउटा उमेरमा पुगेपछि हरेक केटि मान्छेलाई धेरै
सोधिने सवाल हो “ बिहे कहिले गर्छौ ?” र उसले पनि उसका साथिहरुबाट चिनजानका आफन्तबाट यो सवालको
सामना धेरै पटक गरेकी थिई । मान्छेहरु कति सजिल्यै यो सवाल उसलाई गरिदिन्थे तर
उसलाई यसको जवाफ दिन साह्रै गाह्रो लाग्थ्यो । ऊ सोच्थी के उसले गरेको मिहेनत उसले
गरेको सङ्घर्ष यहि सवालको सामना गर्नको लागि थियो त ।
बितेका तीस वर्षलाई फर्किएर हेर्दा उसलाई आफ्नो जिन्दगीमा कहि कतै कसैको
कमि महसुस भएको जस्तो लागेन । महसुस भएपनी उसले कसको नै साथ पाउने थिई र ! अनि
उसलाई लाग्थ्यो जो उसको दु:खमा साथ हुन सकेनन्, ती उसलाई उसको सुखमा के काम ? मान्छेहरुलाई जोड्ने भनेको त
दु:खले हैन र ! आत्मीयता अनि आफ्नोपनले हैन र ! कहाँ पाई उसले आफ्नोपन कसले राख्यो
उसको आत्मीयताको मान ।
त्यसैले पनि यी दिनहरुमा विवाह उसको मस्तिष्कबाट टाढाको कुरा थियो । अब
त ऊ त्यसको बारेमा सोच्न पनि चाहन्थी ।
बितिसकेको समय फर्केर आउदै तर त्यसैलाई पुन महसुस गर्न सकिन्छ भनेर ऊ आफू
जन्मिएको, आफू खेलेको, आफू पढेको
गाउँ जाने सोच बनाएर गाउँ झरेकी थिइ ।
गाउँ पुग्दा गाउँले काचुली फेरेको देखेर जति उसलाई खुशी लाग्यो त्यति नै
आफ्नो बालपन बितेको ठाउँ उस्तै नपाउदा उसलाई दु:ख पनि लाग्यो ।
ऊ ती सबै सबै ठाउँ पुगि जहाँ जहाँ उसको बालपन बितेको थियो । खेल्ने चौतारी, डुल्ने डाँडापाखा, बाख्रा चराइने बनजङ्गल पढेको
स्कुल। स्कुलको नाम उहीँ थियो बस उहीँ थिएन स्कुलको स्वरुप, स्कुलको ड्रेस पनि फेरिएको रहेछ ।
उसको त्यतिबेलाको ड्रेस त्यो सेतो सल, सेतो सुरुवाल अनि शिरिशको फूल रंगको कुर्ता खुब मिस गरि ।
उसलाई आज पनि याद छ पारिजातको शिरिषको फूल उपन्यास अनि त्यो रंगको कुर्ता । त्यो
कुर्ता उसलाई खुब मन पर्थ्यो त्यसैले उसले त्यो कुर्तालाई निकै समयसम्म खुब
सम्मालेर राखेकी थिई किनकि जब जब ऊ त्यो कुर्तालाई सुमसुमाउथी उ आफ्नो स्कुले जीवनमा
पुग्थी र तिसँग जोडिएका यादमा घण्टौ रुमलिन्थी ।
बिस्तारै गाउँमा उसको बसाइँ सकिदै थियो । ती बुढि आमालाई उसले आफूसँगै
लैजान खुब चाहेकी थिइ तर ती आमा उसँग आउन मानिनन् । आखिर ती बुढी आमासँग भेटेको
कति नै दिन भएको थियो र! तर
छुट्दा उनीहरू एकाअर्कालाई अंगालोमा बेरेर खुब रोएका थिए । ती बुढी आमाले उसलाई
आफ्नो हातमा लगाई राखेको पुरानो चुरा उसको हातमा लगाइ दिएर भनिन् – “ यो मलाई मेरो आमाले दिएकी थिन अब मलाई यसको जरुरत छैन । यो
तिमी आफ्नो हातमा लगाउनु यसलाई मेरो आशीर्वाद सम्झिनु ।” उसले आफ्नो आँसु रोक्नै सकिन ...
सायद उसको गाउँ आउनुको उदेश्य पूरा भएको थियो कि !
ऊ आफ्नो बालपन बाँच्न गाउँ आएकी थिई तर उसले कहाँ सोचेकी थिइ उसलाई
जिन्दगीको त्यो पलले पुन नयाँ जिन्दगी दिनेछ भनेर ! किनकि ऊ जिन्दगीबाट जिन्दगी
उपहार पाएर फर्किदै थिई ......
उसले पर पुगेर फर्केर हेरि बुढी आमा ऊ गएको बाटो हेरेर उसलाई बिदाईका
हातहरु हल्लाई रहेकी थिन ...
No comments:
Post a Comment