Yamunathapablog

Monday, June 14, 2021

"हजुरको बिहे भएको हो ?"

"हजुरको बिहे भएको हो ?"

मेरो सिउदोको सिंदुर, मेरा हातका चुरा, मेरो गलाको पोते यि सबै


म विवाहिता हुनुको पर्याप्त परिचय भएन सायद उसको लागि त्यसैले उसले मबाट नै सुन्न चाहयो म विवाहित हुँ कि हैन भन्ने तथ्य कुराको प्रमाण।

त्यतिबेला उसको अनुहारमा एक किसिमको अत्यास थियो । एक किसिमको हतारो थियो मेरो बारेमा जान्ने हतारो, मेरो बारेमा सुन्ने हतारो । सायद मैले उसलाई आफ्नो बिहेको कार्ड पठाउन बिर्सेछु । तर हैन, हैन मलाई रामरी याद छ । मैले सबैभन्दा पहिले उसैको नाम लेखेर आफ्नो बिहेको कार्ड उसको ठेगानासम्म पठाएकी थिए । 

मैले आफ्नो बिहेमा सबैभन्दा बढी खोजेको पात्र पनि उहि नै हो क्यार तर ऊ आएन सायद । 

बिहे मैले मेरै मर्जीले गरेकी थिए  रोजाइ आमाबाबाको भए पनि सायद मेरो मर्जी हुँदैन थियो भने मेरो आमाबाबाले मेरो बिहे गरिदिनु हुदैनथ्यो होला । आमाबाबाले मेरो लागि रोजेको मान्छेमा मैले कहि कतै खोट लगाउने ठाँउ भेटेकी थिएन । न चित्रमा, न चरीत्रमा । न मान सम्मान र इज्जत दिने ठाउँमा, न जिम्मेवारी निभाउने सवालमा । यो भन्दा बढी एउटा केटिमान्छेलाई के चाहिन्छ र सम्बन्धमा । तर पनि मैले उसको सवालको जवाफ दिनु थियो । सायदले मेरो जवाफले उ केही सन्तुष्ट हुन्थ्यो होला । उसको बेचैनी केहि कम हुन्थ्यो होला । 

ऊ त्यही मान्छे थियो जसले मलाई पहिलो पटक प्रेम गर्छु भनेको थियो । जसको हात समाएर मैले पहिलो पटक यो शहर घुमेकि थिए । जसको सिंदुर लगाएर आफूलाई सौभाग्यवति बनाउने सपना देखेकी थिए । उसको सवालले मात्र हैन उसको उपस्तिथिले पनि मलाई यतिबेला हुत्याएर मेरो बिगत तिर पुर्याइरहेको थियो । हुना त उसको सम्झनाले मात्र पनि मलाई कयौं पटक मेरो बिगत तिर न पुर्याएको भने हैन तर आज म बिगत तिर ढल्किनु फरक कुरा थियो । 

ऊसँग छुटेको करिव तीन वर्षपछि म मेरो विवातहित सम्बन्धमा गासिएकी थिए र यतिबेला मेरो बिहे भएकै करिव दुई वर्ष भइसकेको थियो । उससँग छुटेपछी उसको यादमा मैले कयौं पटक आँसु बगाए यसको लेखाजोखा म आफैसँग छैन । उसलाई एकपटक भेट्ने, उसलाई एकपटक देख्ने प्रार्थना भगवानसँग मैले कयौं पटक गरे यसको कुनै हिसाब छैन । तर बिहे भएको यतिका समयपछि उसँग यसरी भेट हुनु, उसको मुखबाट यसरी यो सवाल सुन्नु म आफैलाई बारम्बार सपनामा छु जस्तो महसुस भइरहेको थियो । तर यो सपना थिएन हकिकत थियो जसलाई मैले सामना गरिरहेकि थिए ।

कुनैबेलाको प्रेमी थियो ऊ मेरो। कुनै बेला कि प्रेमीका थिए म उसकि आज यो कुरा म आफैलाई मजाक जस्तो लागिरहेको थियो । सपनाको विशाल महलमा चढेर उसले मलाई मेरो धरातलमा छोडेर बिदाइका हातहरु हल्लाएर बाई भनेको अहिले जस्तै लाग्छ । अनि म त्यो बाईलाई स्विकार गर्न नसकेर भूइमा गर्द्याम लडेको भर्खरै जस्तै लाग्छ । त्यसपछिका कयौं दिनहरु पनि मेरा रातमा बदलिएका थिए। आफ्नो हालत म अरुको सामुन्ने जाहेर गर्न सक्दैन्थे। दुखेको मनमा म अरुको हातको मलम लगाउन सक्दैन्थे । बस त्यतिबेला म जसले जे भने पनि मुस्कुराएर जवाफ दिनमा माहिर भइसकेकी थिए । साँच्चै ! मनमा खसेको प्रेमको पहिरो कसलाई सुनाउने, सुनाएको पछिको पुरस्कार के थियो ? मैले प्रेम गरे अनि मेरो प्रेमले मलाई धोका दियो ओहो! सुन्नेलाई कस्तो सस्तो भोग्नेलाई कति मारमार र अन्त्यमा त्यसको निचोड के त ? छोरीले गरेको प्रेमको प्रतिफल छोरिका आँखाभरीको आँसु आमाबाबालाई पनि कति गहिरो चोट । मुख खोल्नु भन्दा मुख बन्द गर्नु कति जरुरी भएको थियो त्यो समयमा मेरो लागी । 

कतिधेरै मानसिक उतारचढाव, कयौं बेचैनी र कयौं मानसिक छट्पटीपछि  यि सबैलाई भुल्नको लागि गरेको कयौं कोशिशपछि मैले बुझे मैले गरेको प्रेम मात्र समयसँग उडेर आएको हावाको झोका रहेछ जसको भुमरीमा म नराम्ररी घुमेकि रहेछु । तर  ऊ भने फरक रहेछ उसकोलागि म मात्र केही समयको समय हसिन बनाउने जरिया रहेछु जसै उसले अर्को जरिया भेट्यो ऊ उसैसँग उडेर गयो । म भने त्यही भुमरीमा कयौं समयसम्म छ्ट्पट्याइ रहे । 

आफ्नो त्यतिबेलाको हालत म आज कल्पना गर्दा पनि सोच मग्न हुन्छु । म कति कमजोर मनस्थितिको रहेछु । ममा कति धेरै  नादानिपन र बच्पना रहेछ । जुन प्रेमलाई मैले प्रेम सम्झेर दुख मनाए यो प्रेम नभएर यौवनको आकर्षण रहेछ अहिले सम्झिदा लाग्छ मैले मेरो जिवनको कति महत्त्वपूर्ण समय यसै बर्बाद गर्न पुगेकी रहेछु । मैले त बुझेकी नै रहेनछु प्रेमको गरिमालाई, प्रेमको महिमालाई। आज जब ऊ मेरो अगाडि उपस्थित भएर मेरो बिबाहिताको प्रमाण मेरो मुखबाट मागिरहेको थियो । तब म स्तब्ध भएर आफ्नो बिगतमा रुमलिरहेको थिए । र बिगतदेखी वर्तमानसम्मका कुराहरुलाई आफ्नो नजर अगाडि देखिरहेकी थिए । र  ती हरेक कुरा मेरा मानसपटलमा चलचित्रको पर्दामा झै एक एक गरि घुमिरहेका थिए ।

त्यति नै बेला आफ्नै अगाडिको आवाजले म झस्किए । र म देख्छु उसलाई मेरो जवाफ सुन्नलाई कति हतारमा थियो । 

नजर उठाएर हेर्दा त्यो आवाज अरु कसैको नभएर मेरो श्रीमानको थियो । मैले मेरो श्रीमानलाई ऊ तर्फ देखाउदै भने "ऊ मेरो कलेजको पुरानो साथी" । अनि उसलाई भने "उहाँ मेरो श्रीमान ।" यति भएपछि उसको सवाल "हजुरको बिहे भएको हो"?  को जवाफमा बढी भनिरहनु पर्छ जस्तो मलाई लागेन र मैले "म गए" भनेर श्रीमानसँग त्यहाँबाट फटाफट निस्किए । 

No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...