Yamunathapablog

Wednesday, December 21, 2016

समर लब सम्बन्ध

समर लब सम्बन्ध
हिजो कोठामा आइपुग्न अलि अबेर भयो। अबेरसम्म जागा रहने काठमाडौंका लागि यो त्यति ढिला समय हैन, तर काठमाडौंका घरधनीलाई कस्ले सम्झाइ देओस्? यसमाथि यो घरका घरबेटी बा। यिनलाई बेलुकाको ६ बज्दा पनि रातिको एक बजेको झैँ लाग्छ क्यार! सात बजे नै कोठामा पुग्दा पनि 'कति ढिला आकि नानी? छोरी मान्छे भएर यति ढिला आउने हो?' भन्दै कोठा मै आइपुग्थे बुढा। झन, हिजो त नौ बजेछ ! 'के के सुनाउने हुन् बुढाले' यस्तै यस्तै सोच्दै कोठाको ढोका समेत नढप्काई ब्याग टेबलमा राख्दै बस्न मात्र के भ्याएकी थिए घरबेटी बा टुप्लुक्क देखा परे। बुढालाई देख्दै दिक्क लाग्यो 'के के सुनाउने हुन् फेरि' भनेर। तर अचम्म ! बुढा केही नबोली मेरो हातमा बिहेको कार्ड थमाएर गए। बिहेको कार्डले म झन अचम्ममा परेँ। 'मेरा मिल्ने-नमिल्ने प्राय सबैजसो साथीहरुले घरजम त भैसकेको छ। हैन, यो फेरी कसको बिहेको कार्ड हो यो!' बेडमा बसेर यस्तै सोच्दै कार्ड हेरे। निम्तो मेरै नाममा थियो। फेरि छक्क परे, खोलेर हेरे। 

कार्डमा लेखिएको वरको नामले मलाई एकाएक मेरो वर्तमानबाट अतितमा पुर्‍यायो। कुरा केही वर्ष अघिको हो। प्रज्ञा भवन कमलादीमा पुस्तक मेला लागिरहेको थियो। पुस्तक भनेपछि हुरुक्कै हुन्छु । किन किन मलाई किताबका सुगन्धित पानासँग मेरो जन्म जन्मको नाता छ लाग्छ। जताततै फिजाइएका पुस्तक हेर्दै जाँदा मेरो नजर 'समर लभ' शीर्षकमा गएर पज भयो। माया प्रेम लभसभ वाला कथाले नतान्ने मलाई 'समर लभ' ले अड्काएको थियो। यो किताबको चर्चा यति धेरै सुनेकी थिएँ कि मेला हात एकछिनमै किताब खेलाउन थालेछन्। उठाउन खोज्दा थाहा भयो त्यो किताबलाई एक युवकले त्यो किताब उठाउनै खोज्दा मेरा हात त्यहाँ पुगेका रहेछन्। अप्ठ्यारो मान्दै स्टलवालासँग अर्को प्रति मागे। 

उसले भन्यो 'एउटा मात्र बाकीँ छ, सबै सकिसक्यो मिलेर हेर्नुहोस दुबै जना।' भो हेर्दिन जस्तो नलागेको पनि कहाँ हो र ! तर, नजर परिसकेपछी नहेरि छोड्दिन, त्यो पनि त्यो युवकभन्दा पहिले भन्ने लाग्यो। उफ ! यो इगो म मा कहाँ बाट आयोहोला? अचम्म लाग्छ अहिले सम्झिँदा मात्र पनि। त्यहीँबाट सुरु भएको हो मेरो 'प्रेम' ऊसँग। अनि, उसको र मेरो दोस्ती। उसले मलाई कहिल्यै प्रेम गरेन, म उसलाई कहिल्यै प्रेम नगरी बस्न सकिँन। वास्तवमा त्यो प्रेम र दोस्तीको सुरुवात, परिचय गरेर पालैपालो 'समर लभ' हेर्ने मेरो मनले ठीक मानेको निर्णयबाट सुरु भएको थियो। 
'हाई, मेरो नाम यमुना।' 
'म समीर बसाइँ' जवाफ आयो। 
अनि कुरा अघि बढ्यो। कुरा गर्दै हामी बानेश्वरसम्म सँगै आयौं। अब कुरा गर्ने माध्यम भयो 'अनुहार पुस्तिका'। अनुहार पुस्तिकाको भर्चुअल हाँसो, ठठ्टा र कुराकानीले हामी फिजिकल दुनियाँमै छौं कि भन्ने फील हुँदै थियो मलाई। ऊ मेरो नजिक हुँदैछ भन्ने लागिरहेको थियो। तर, म उसको नजिक ! मलाई बिस्तारै थाहा हुँदै गयो, 'उसको नजरमा म एक साथी भन्दा बढी छैन।' तैपनि, मेरालागी ऊ सब थोक थियो। यति सम्म कि उसको लागि म आफूलाई बिर्सिदै थिए। उसँग एकपल बाँच्न पाए म वर्षौं वर्षको उमेर कुर्बान गर्न सक्थे। उसँग रुनु र अरुसँग हाँस्नु मलाई सरोबर हुन लागेको थियो। 

मैले कहिल्यै चाहिँन- उसले मलाई, मैले उसलाई गरे झैं प्रेम गरोस्। म चाहन्थे, 'प्रेम त यस्तो होस्, न पाउने आश न गुमाउने डर, बस प्रेम रहिरहोस। अनन्तः अनन्त कालसम्म। तर, खै मैले उसलाई बुझाउन नसकेको हो कि उसले नबुझेको हो ! ऊ मबाट एकाएक टाढा भयो। उसलाई लाग्यो होला, 'मबाट टाढा भए भने ऊ मलाई बिर्सलिन्।' उसलाई के थाहा मेरो प्रेम भुल्न र भुलाउनलाई थिएन भनेर। 'मैले तिमीलाई प्रेम गर्छु भन्दैमा तिमीले मलाई प्रेम गर्नै पर्छ भन्ने जरुरी छैन', भनेर ऊ मेरो नजिक हुदैँमा मेरो प्रेम बढ्ने र टाढा हुदैँमा घट्ने दृष्टि जस्तो हैन भन्ने उसलाई एहसास नदिलाएको पनि कहाँ हुँ र मैले ! तर, उसले खै के सोच्यो? त्यसपछि हाम्रो भेट हुन छोड्यो र पहिलेजस्तो दोहोरो कुरा हुन पनि छोड्यो। तर, ऊ मेरो मनमा आज पनि उस्तै छ। ऊ प्रतिको मेरो प्रेम पनि उस्तै छ। सबै थोक उस्तै छ। 

उफ् ! म पनि के के सोच्छु ! कार्डमा लेखिएको नाम थियो - समीर। उसको भोलि बिबाह हुँदै रहेछ। घरबेटी बा को हातको मार्फत भएर समीरको बिहेको कार्ड आएछ। उसको स-सानो खुशी नै आफ्नो खुसी मान्ने म उसको जिन्दगीको यति ठूलो खुसीमा कसरी पो बेखुसी हुन सक्थेँ र? बिहानै उठेर सबै सरसफाइ गरी फूलको पसलमा गए। एउटा रातो गुलाबको बुकि किनेँ।  एउटा कार्डमा लेखे -दाम्पत्य जीवन सुखमय रहोस् समीर!   म बिहेको लागि निम्तो आएको ठेगान तर्फ लागेँ...।

No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...