Yamunathapablog

Tuesday, September 28, 2021

सम्बन्धका डोरहरु

सम्बन्धको धागोमा गासिएर साँच्चै कति खुसी छौ तिमी, खुसी


छौ नि ?  तिम्रो खुसीको लागि प्रीत गासेकी थिए फेरि तिम्रै खुसीका लागि प्रीतको धागो आफैसम्म मात्र सिमित पारेकी थिए, थाहा छ यी दिनहरुले मलाई के महसुस गराउदैछन्, प्रेमले खुसी दिन्छ, आत्मालाई तृप्त गराउछ आफ्ना वरपरकालाई हर्षित बनाउछ ।

यो प्रेममा मैले राधा देखि मीरासम्मको यात्रा तय गर्ने मौका पाए, राधा जसले कृष्णलाई मात्र प्रेम गरिरहिन, अनि मीरा जसले कृष्णको प्रेमलाई पुजा बनाएर पुजि रहिन । अरुको खुसीमा खुसी हुनुपर्छ भनेर मैले तिमीबाट सिकेकी हुँ अनि तिम्रो खुसीमा खुसी नहुने त्यस्तो हुनै सक्दैन । तर कहिलेकाही मन साह्रै लोभी हुन खोज्छ र जान्न खोज्छ तिमी नयाँ सम्बन्धको धाँगोको कसरी गाँसिदै छौ, गाँसिएर उनिदै छौ कि छैनौ । किनकि तिम्रा साना साना कुरालाई मैले नजिक बाट कुनै समय निहाल्ने मौका जो पाएकी थिए । 

थाहा छ कहिलेकाही आँखाहरु अनायासै तिम्रो प्रतीक्षामा बसिदिन्छन् । मन कहिलेकाही तिम्रो यसै कल्पनामा हराइदिन्छ । विना वसन्तको बहारको अपेक्षा गरिदिन्छ त्यतिबेला तिम्रो यादले साह्रै सताउछ तिमीसँगका पलहरुले साह्रै व्यतीत बनाउछन् । तिमी यादमा, मनमा, मस्तिष्कमा सबैतिर बेमौसमी वर्षात बनेर वर्षिन थाल्छौ अनि एक्कासि आफैलाई सपनाबाट बिउझेको भान हुन्छ र आफैलाई सम्मालन थाल्छु ।

यसै कहिलेकाही सोच्न मन लाग्छ कास त्यो जुन ऐना भएको भए तिम्रो तस्बिर देख्न पाउथे होला तर फेरि सोच्छु त्यो जुनमा प्रतिबिम्बित हुने मेरो तस्बिर के तिमीले स्वीकार थियौ होला ? 

तिम्रो गाउँसम्म पुग्ने, तिम्रा बादलहरु छुने, ती बादलसँगै उड्ने यी त हामीले साथै देखेका सनपा हैनन् र फेरि आज यि मसँग मात्रा किन छन् ... सवाल आफैसँगका हुन तिमीसँग गुनासो गरेको हैन, पटक्कै गरेको हैन तिमीले जवाफ दिनु पर्दैन ।

बुझ्छु म कहिलेकाँही यस्तै हुदोरहेछ सम्बन्धका डोरहरु निभाउछु भन्दाभन्दै आफैबाट छुट्ने रहेछन् । मलाई पनि हिजो जस्तो लाग्छ तिमीसँग भेटेको आज तिमी कहाँ म कहाँ ..... यस्तो लाग्छ हामी भेटिएकै थिएनौ छुटिसकेयौ एकाअर्काको लागि अज्नबी भइसकेयौ ..सोच्छु हामी भेटिएकै छुट्नका लागि थियौ र छुटेयौ गुनासो पनि कोसँग गर्नु के गर्नु .... ?  त्यसैले लाग्छ समयले न पराई बनाउन समय लगाउछ, न आफ्नो बनाउन नै समय लगाउछ । 

रुनु, हास्नु, रमाउनु, मुस्कुराउनु यी सब त जिन्दगीका अभिन्न अङ्गहरु हुन् यी बिना न बाँच्न सकिन्छ न यो सम्पूर्ण जिन्दगीको नै कुनै अस्तित्व छ । त्यसैले हिजोआज मनले बस यहि सोच्न थालेको छ तिमी कतै भेटियौ ... केही यादहरु बने जसले अब लामो यात्र तय गर्ने छन् । थाहा छ यादहरु बन्नु पनि ठूलो कुरा हो किनकि हरकोही याद बन्दैनन् । हामी जहाँ छुटेयौ त्यही अन्तिम भेट हो भन्ने पनि हैन त्यसैले हाम्रो कुनै दिन भेट भइहाले छ भने पनि आँखामा कुनै सवालजवाफ नराख्नु तिमि किनकि जवाफ माग्नेहरुले अक्सर प्रेम गर्दैनन्, प्रेम गरेको जस्तो मात्र गर्छन् .... र म चाहन्न हाम्रो प्रेमको दर्जा यति तल होस् किनकि मैले हाम्रो प्रेमलाई प्रेमको सबैभन्दा उच्च दर्जामा राखेर पुजेकी छु, यसको सामुन्ने शिर झुकाएकी छु ।

एउटा कुरा भनु आखिर यी सम्बन्धहरु पनि कति दिनका हुन र! हामी कतिजेल यो धर्तिमा सर्वशक्तिमान भइ राखौला र ! यहाँ न तिमी अजम्बरी छौ, न म अजम्बरी छु न अरु कोहि नै अजम्बरी छ फेरि यति धेरै अपेक्षा किन ? मन दुखाई किन ? थाहा छ धेरै मान्छेहरु भेटिन्छन् जिन्दगीमा तर थोरै मान्छेसँगका यादहरु मात्र सुन्दर हुन्छन् अन्तमा । कहिलेकाही मलाई लत्पतिएको रङ्ग पनि  खुब मन पर्छ, त्यतिबेला सोच्छु कुरुपताको सिमा कहाँसम्मको होला अनि फेरि त्यही कुरुपता कहाँबाट सुन्दर लाग्न थाल्छ होला यस्तै यस्तै .... !! 

तिमी नराम्रो नमान्नु है!  मलाई फेरि तिमीसँग कहिल्यै भेट्न र भेटिन मन छैन किनकि अब तिमी त्यो "तिमी" रहेनौ जसलाई मैले माया गरेकि थिए, जोसँग मैले मेरा सुख दु:ख साटेकी थिए । किनकि  मलाई यस्तो लाग्छ "म" अब तिमीलाई चिन्दिन होला । किनकि मैले चिनेको "तिमी" ती पलहरुसँगै हरायौ जुन पलमा हामी छुटेका थियौ । म आफूसँग तिमीसँगका तिनै पललाई साथ राख्न चाहन्छु जुन मेरा लागि हसिन थिए सुन्दर थिए । 

हुना त मलाई पनि थाहा छैन म यो प्रेमलाई कतिन्जेलसम्म निभाउन सक्छु तर कोसिस यहि रहेनछ कि निभाइरहु ....!!

आफूले गरेको प्रेमलाई आफूमा जिउँदो राखेर यो प्रेमलाई सदासदा प्रेम गरिरहु, गरिरहु ..... ।।

No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...