मार्च महिना भन्ना बित्तिकै हाम्रो मानसपटलमा महिलाहरुको महिना अझ महिलाका मुद्दाहरु
शिर्ष स्थानमा राखेर छलफल गर्ने र गोष्ठी सेमिनारहरु गर्ने महिना भनेर बुझिन्छ।
वर्षौ पहिला देखि यो महिनामा महिलाका कुरालाई विषेश मनन
गरि सुनिने हुँदा महिना र मार्च ८ लाई अझ विशेष रूपमा हेरिन्छ।
मार्च ८ को सुरुवात सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी माक्र्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका रूपमा मनाउन थालेका हुन्।जसलाई हामी नेपाली महिलाहरुले पनि धुमधामका साथ मनाउछौ ।
विश्व समाजमा वर्षौ देखि मार्च ८ लाई मनाउदै आइएको भए पनि नेपालमा भने यसको धेरै पुरानो इतिहास छैन।तर कागजी रुपमा नै सहि महिलालाई अधिकार दिने कुरामा अन्य देशभन्दा अग्रगामी छलाङ मारेको देखिन्छ हाम्रो देश नेपालले जसको उदाहरण हो देशको राष्ट्रपती देखि लिएर सभामुख, प्रधानन्यायाधीश र देशका अन्य महत्त्वपूर्ण क्षेत्रमा महिलाहरुको प्रत्क्षय सहभागिता हुनु।जुन हाम्रो विषेश उपलब्धि हो।तर यसलाई झट्ट हेर्दा ठूलो उपलब्धि माने पनी अधिकांश आम नेपाली महिलाहरूका लागि भने यो व्यवहार भन्दा पनि बढी कागजमा मात्र लिपिबद्द भएर रहेको छ।
महिला अधिकारकर्मि र सरोकारवालाहरुले जती नै महिला अधिकारको पैरवी गरेपनी, सफलता हासिल गरेयौ भने पनि यहाँ वास्तविकता धेरै फरक छ। यसको लागि धेरै टाढा जानै पर्दैन यहि राजधानीलाई नै निहालेर हेर्यो भने पनि फरक प्रष्ट देखिन्छ। राजधानीको सहर उहीँ हो राजधानीको आकाश एउटै हो तर आकाशमुनि बस्नेहरु प्रत्येकको वास्तविकता यहाँ फरक फरक रहेकोछ। एकातिर राजधानीका तारे होटेलमा मार्च ८ धुमधामले मनाइन्छ भने एर्कोतिर राजधानीको सडकमा बसेर मकै पोल्ने देखि चिया बच्ने महिलाहरुलाई मार्च ८ आएको गइकोसम्म पत्तो हुदैँन। उनीहरुसँग एक पटक बसेर कुरा गर्यो भने यस्तो लाग्छ उनीहरूले पहिलो पटक मार्च ८ को बारेमा सुन्दै छन्। तर त्यहि उनीहरूको नाम बचेर अर्को कुनै पक्षले महलसम्मको यात्रा पुरागरि सकेको हुन्छ।तारे होटेलको तमात सुख सुबिदा भोगिसकेको हुन्छ तर उनीहरु भने यो शब्दसँग नै बेखबर हुन्छन् जुन सुन्दा आफैलाई खल्लो लाग्छ। ती मकै पोल्ने महिलाहरुलाई कहिल्यै नारी दिबस आउदैन, ती चिया बेच्ने आमा दिदिहरुलाई कहिल्यै महिला दिवस आउदैन, डोकोमा साग बेच्चा बेच्दै कयौं आमाहरुले चितासम्मको यात्रा तय गरिसक्छन् तर तिनका दुखले न कहिल्यै कुनै अधिकारको बारेमा सुन्छन्, न कुनै अधिकार भोग्न नै पाउछन्। तर अचम्म त के लाग्छ भने यस्ता कुराहरुको बारेमा न महिला अधिकार कर्मिहरुलाई केहि थाहा हुन्छ न सरोकारवालाहरुलाई नै यसप्रति चासो हुन्छ ।
राजधानीमा बसेर
राजधानीका आम महिलाहरुको बारेमा अन्जान हुने अधिकारकर्मी र सरोकारवालाहरु दुर
दराजका कर्णाली र सुदुर पश्चिमका दु:ख आफ्नै आँखाले देखे झै कुरा
गरेर सभा सेमिनारहरु सम्पन्न गरेको देख्दा अट्टाहास लाग्छ। कहिलेकाही सोच्छु
कहिलेसम्म होला कर्णालीका महिलाको नाममा सानुभुति समेट्ने। सुदुरपश्चिमका महिलाको
नाममा राजनीति गर्ने । आखिर कहिलेसम्म .... ?
सडकमा नारा लगाएर, मान्छे
बटुलेर ठुलो काम गरेयौ भनेर सोच्ने अधिकारकर्मिहरुलाई ठूलो चुनौती हो ती
महिलाहरुको सङ्घर्ष जसलाई न नारी दिवसको बारेमा थाहा छ, न
महिला अधिकारको बारेमा नै थाहा छ, उनीहरूको जिन्दगी त चिया बेच्दैमा
र मकै पोल्दैमा कहिले जान्छ उनलाई स्वयमलाई पत्तो हुँदैन। कर्णाली, सुदुर पश्चिम र मधेस त भन्न मात्र हुन। न
कहिल्यै कर्णालीमा विकास आयो न कहिल्यै महिला अधिकार आयो बस यहाँ त यीनका नाममा
ठूलो राजनीति मात्र भयो र भइरहेको छ।
आज पनि हाम्रो
समाजमा महिलाहरु महिला हिंसा, बोक्सीको आरोप, बालबिबाह, दाइजो, छाउपडि र बलात्कारजस्ता अपराधको शिकार भइरहेका
छन्। छोरीहरुको मृत्यु गर्भबाट सुरु भएर कहाँ गएर अन्त्य हुन्छ भन्ने कसैलाई थाहा
छैन। आफ्नै घरभित्र डर र त्रासको जिन्दगी महिलाहरुले वर्षौ देखि बाँच्दै आइरहेका
छन्। आजभोलि त छोरीहरुलाई एक्लै हिड्न खतरा छ, साँझ परेपछी
घरबाट बाहिर निस्कन खतरा छ। बलात्कारको सिकार हुँदै मरेका छोरीहरूको चित्कार कानमा
यसरी ठोकिन्छ कि कान बन्द गर्दा पनि त्यो चीत्कार शान्त हुँदैन।कानूनको बन्द आँखाले
न्याय दिन नसकेको देख्दा मन स्तब्ध हुन्छ। न्यायको मन्दिर नै अँध्यारो लाग्न थालेको छ। यि दिनहरुमा आमाहरु प्रार्थना गर्न थालेका छन् कि
आफ्नो गर्भबाट छोरीहरु कहिल्यै
नजन्मिउन भनेर ।
अर्कोतिर यो
पितृसत्ताले जकडिएको मानसिकताले महिलालाई घर देखि काम गर्ने कार्यलयसम्म पेलेको छ।महिलाको
सोचदेखी ब्यक्तिगत निर्णयमा सम्म प्रभाव पारिरहेको छ।आफ्नो निर्णयहरु स्वस्फूर्त
रुपमा लिन पनि महिलाहरु हिच्किचाउने पर्ने अवस्था छ।आज आम महिला देखि लिएर सदनका
महिलाहरु समेत यसका सिकार भइरहेका छन्। महिलाको चरीत्र हत्या समेत आम कुरा बन्न
गएको छ। जसको विरूद्धमा सबै महिला एकजुट भएर आवाज उठाउन जरूरि छ। किनकि यो हामी सम्पुर्ण
महिलाहरुको लडाइँ हो।हाम्रो समाजमा पितृसत्ताले यति सम्म जरा गाडेको छ कि यसमा पनि महिला कै पहिरन देखि लिएर उसको
हाउभाउलाई दोष दिँदै आइरएको छ।यसको बारेमा हामीले गम्भीर भएर अब
सोच्नै पर्छ किनकि हाम्रो लडाइँ जहिले व्यक्तिसँग मात्र भयो, राज्यमा
शक्तिको बाँडफाँडको लागि मात्र भयो तर हामी कहिले लड्ने यस्तो प्रवृत्ति विरुद्ध, आफूलाई
मात्र सबथोक ठान्ने सत्ताको विरुद्ध, महिलालाई लिएर
सोच्ने एउटा साँघुरो मानसिकताको विरुद्ध आखिर कहिले लड्ने हामी यस्तो खराब सोचको
विरुद्ध।अबको हाम्रो लडाइँ हाम्रो लागि हुनुपर्छ। हामी महिलाको
अस्तित्व रक्षाका निम्त हुनुपर्छ।
सीमोन द बोउवार
भन्छिन् -"यदि इतिहासमा धेरै कम स्त्रीहरु प्रतिभाशाली भएका छन् भने, यसको
कारण उनीहरु स्त्री हुनु होइन बरु यो समाज हो, जसले स्त्रीका
सारा अभिव्यक्तिलाई नियन्त्रण गरिरहन्छ, उनीहरूलाई प्रत्येक सुबिधाबाट बन्चित राख्दछ। बुद्धिमान बुद्धिमान स्त्रीको पनि
सार्वजनिक हितहरुको लागि आहुती दिइदिइन्छ।यदि उनीहरुलाई बिकासको पूरा अवसर मिल्यो
भने, यस्तो कुनै काम
छैन जुन उनीहरु गर्न नसकुन।"
तर आज पनि हाम्रो समाजमा महिलाहरुलाई खेलौना बनाएर राखिएको छ।बच्चा
जन्माउने मेसिनको रुपमा हेरिन्छ। यौनको प्यास बुझाउने कुनै साधनको रुपमा लिन्छन् ।उनीहरुको स्वतन्त्रमा
बन्देज लगाएर आफूलाई महान ठान्न यो समाज अलिकति पनि हिच्किचाउदैन। महिलाका पनि
आफ्ना इच्छा छन्, चाहाना
छन् । बिचारहरु छन् भन्ने कुरा यो समाज मान्न तयार नै छैन।
त्यसैले अब
हाम्रो लडाइँ यो सत्ता र सोचको विरुद्ध हुनुपर्छ।राज्यका हरेक महिलाहरुलाई सचेत
गराउनु, जागरुक गराउनु हामी सबैको दायित्व हो।जबसम्म महिलाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदैन, तबसम्म
महिला यसरी नै पीडित भइरहनुपर्ने छ।यस्तो दमन, अतिक्रमण र
प्रभुवादी सोचलाई परास्त गर्नै पर्छ। समान हक र अधिकारका भागिदार महिला पनि
उत्तिकै हुन जति पुरुष छन् भन्ने कुरालाई सामाजिक, सांस्कृतिक, राजनीतिक
तथा अन्य विभिन्न क्षेत्रहरुबाट पुष्ट्याइँ गरी समान हक र समान पहुँचका लागि नारी
आन्दोलन अझै अपरिहार्य देखिन्छ।अब हाम्रो समाजलाई यो कुराको विश्वास दिलाउन आवश्यक छ कि महिलाहरु यो समाजका महत्त्वपूर्ण
पक्षहरु हुन जो बिनाको पूर्ण समाज कल्पना नै गर्न सकिदैनन्।
यसको लागि अब आम रूपमा यो दिवसप्रति सबैको चासो बढ्दै जानुपर्छ मार्च ८ लाई सरकार र एनजीओको
सिकार हुन दिनु हुँदैन।कर्णाली,
सुदूरपश्चिम र मधेसका महिलाले समेत
यसको आभास गर्न सकुनु अबको हाम्रो कदम त्यता
तिर हुनुपर्छ ।त्यसको लागि हामी सम्पूर्ण महिलाहरु एउटा हुङ्कार हुनुपर्छ तबमात्र नेपालको पूर्वमेची देखि पश्चिम महाकालीसम्मका महिलाहरुको अधिकारमा समान पहुच हुनेछ, सबै क्षेत्रमा उनीहरूको समानता सहितको प्रतिनिधित्व हुनेछ । जुन मार्च ८ को अभिप्राय रहेछ ।
No comments:
Post a Comment