Yamunathapablog

Thursday, April 12, 2018

सम्झनामा हजुरबा.......

सम्झनामा हजुरबा.......


हजुरबाले संसारबाट बिदा लिएको पनि दुई वर्ष बिति सकेछन्, तर हजुरबाका यादहरु,उहाँका संस्कारहरु उस्तै ताजा छन्। जहाँसम्म मलाई याद छ,मेरा हजुरबाले यो सुन्दर धर्तिमा ७२ वसन्त बिताउनु भएको थियो।आज पनि मेरो यादहरुको थैलिमा हजुरबा यसरी बस्नु भएको छ कि मलाई लाग्दैन मेरा हजुरबाले यो संसारबाट बिदा लिइसक्नु भएको छ। होउहाँले देशको निम्त कुनै ठुला युद्ध लड्नु भएको थिएनन देशको नाममा कुनै प्रमाणपत्र नै प्राप्त गर्नु भएको थियो। तर मेरि फुपुहरुले कहिलेकाही भनेको सुन्थे "देशमा भोकमरी लाग्दा पनि हाम्रा बाले हामिलाई कहिल्यै भोको राख्नु भएन"। यी कुरा सुन्दा मलाई लाग्छ यो कुनै युद्धभन्दा कम थिएन। किनकि मेरा हजुरबा नौ सन्तानका पालनकर्ता हुनुहुन्थ्यो तर उहाँले कहिल्यै आफ्ना सन्तानहरुलाई हुर्काउन,पालन पोषण गर्नुमा कुनै कमि राख्नु भएन । 

 

मेरा हजुरबा वि.स.२००० सालमा जन्मिनु भएको थियो र त्यो जमानामा उहाँले तीन कक्षासम्म पढ्नु भएको थियो र पछी गाउँको बैदार हुदै विचारी पदसम्म पुग्नुभएको थियो। त्यसैले पनि गँउघर मान्छेहरु मलाई आजपनि विचारिकी नातिनी भन्छन्। आज पनि अलि बुढापाकालाई “म विचारिकी हुँ” नातिनी भन्यो भने ठ्याक्कै चिनिहाल्छ्न्। हजुरबा आफ्ना गाँउका वरपरका गाउँसम्म निकै प्रचलित हुनुहुन्थ्यो । गाँउमा कसैको झै-झगडा मिलाउनु पर्यो भने हजुरबाको नाम नै पहिला आउथ्यो । गाउँमा बिकास केही कार्यक्रम गर्नुपर्यो भने हजुरबा कै नाम अगाडि आउथ्यो।साँच्चै भनौ भने हाम्रो समाजको सिङ्गो विम्ब हुनुहुन्थ्यो मेरा हजुरबा। हजुरबा कहिकतैबाट फर्किदा सधै चक्लेट र बिस्कुट बोकेर ल्याउनु हुन्थ्यो। मेरै पनि भाइबहिनी थि अन्कल आन्टिका पनि छोराछोरी थिए तर पनि उहाँको पहिलो आवाजमा मेरै नाम हुन्थ्यो । म बरु मेरा आमाबाबाको नजरमा ठुली भएकी थिए होला तर हजुरबाका नजरमा म कहिल्यै ठुली भइन सधै उस्तै रहे सानी नै। आज पनि हजुरबाको त्यो हसिलो अनुहार आखाँमा झलझली नाच्छ र लाग्छ हजुरबा यहि कतै हुनुहुन्छ र यमुना भन्दै बोलाउनु हुन्छ।

 

हजुरआमासंग म त्यति नजिक भइन किनकि हामी सानै छदा उहाँले संसार छाड्नु भएको थियो।हजुर आमा बित्दा हजुरबा कति मलिन हुनुभएको थियो। हजुर आमालाई रातो सारी लगाएर दुलही झै सजाएका थिए अरु मान्छेहरुले सायद अन्तिम पटक भनेर पनि होला हजुरबाले हजुर आमाको सिउदो रातो सिन्दुरले रंगाउनु भएको थियो अनि आखाभरी आँसु पार्दै एकटकले हजुर आमालाई निहाल्नु भएको थियो। हजुर आमा बितेपछी हजुरबा एक्लै हुनु भो सायद! त्यसैले पनिबिरामी पर्न थाल्नु भो। अनि रक्सि र चुरोटको साहारा लिन थाल्नु भो! त्यतिबेला म सोच्थे आफ्नो स्वास्थ्यको पनि ख्याल नगरि किन खानु परेकोहोला रक्सि र चुरोट” ? तर अहिले लाग्छ आफुले माया गरेको मान्छे एकछीन कतै हराए त कति पिर लाग्छ झन हजुरआमाले त संसारबाटै बिदा लिसक्नु भएको थियो कति एक्लोपन महसुस भएको हुदोहो हजुरबालाई हजुरआमासंगको साथ छुट्दा।सधैसंग जिउने भनेर कसम खाएका दुजनामा एकजना एक्लै पर्दा साह्रै पिडा हुनेरहेछ क्यारे त्यसैले त हजुरबा घरिघरि टोलाउने गर्नु हुन्थ्यो अनि के-के सोची बस्नु हुन्थ्यो। म प्राय हजुरबाको पछिपछि लाग्थे । जहाँ जानू हुन्थ्यो त्यहि त्यहि जान्थे । एकछिन एक्लै छड्दिनथे। हजुरबा जहाँ जादापनी पनि मलाई साथै लिएर जानू हुन्थ्यो

 

जब म एस.एल.सि.सकेर काठमाडौं आउदै थिए। हजुरबाले भन्नू भएको थियो राम्रो पढ्नु कतै केही गाह्रो भयो भने मलाई भन्नू त्यहाँ मेरा मान्छे धेरै छन् यहिबोली हजुरबाको त्यहि बोलि मेरा लागि साहस भएको थियो किनकि मैले देखेकी थिए गाँउमा हजुरबाको रबाफ। हजुरबा गाँउकै जमानाका कहलिएका वकिल हुनुहुन्थ्यो र आफ्नो सपनालाई अझ अगाडि लैजाउस भनेर हजुरबाले मेरा बुवालाई पनि वकिल पढाउनु भएको थियो,त्यो जमानामा।

 

काठमाडौं आएपछि म दसै बिदामात्र घर जान थाले हजुरबासंगको सामीप्यता पनि अलि पातलिन थाल्यो ममा उमेर भरिदै थियो हजुरबाको उमेर सकिदै थियोघर जादा म हजुरबाका लागि केही न केही लिएरै जान्थे। हजुरबा भन्नू हुन्थ्यो तेरो बाले बिर्सयो तर त सम्झिन्छेस। साच्चै म हजुरबालाई साह्रै माया गर्थे। हजुरबाको त्यो मुस्कानले भरिएको अनुहार अग्लो कद सधै लामो कोट लगाएर ठाटका साथ हिड्ने त्यो रबाफ आजपनी मेरा अगाडि संग्लो भएर आउछ। कहिलेकाही हजुरबालाई भेट्न अलि ढिला भयो भने हजुरबा यमुना भन्दै आउनु हुन्थ्यो। त्यसैलेपनी घर जादा म सबैभन्दा पहिले हजुरबाकोमा जान्थे पछिपछि त उहाँ बिरामी हुनुहुन्थो त्यसैले उहाँलाई धेरै हिडडुल गर्न मनाही थियो। यति धेरै माया गर्ने हजुरबाको जीवनका अन्तिम दिनहरुमा म उहाँसंग्ग हुन सकिन यहि कुराको सधै अपशोच हुन्छ मलाई । अन्तिम पटक पनि उहाँलाई भेट्न पाइन् उहाँको अनुहार आँखामा कैद गर्न सम्म पाइन ।

 

यता मेरो बि.ए.अन्तिम र्षको अन्तिम परिक्षा आइरहेको थियो। उता हजुरबा जीवन र मृत्युसंग संघर्ष गर्दै हुनुहुदोरहेछ। ममिले फोनमा भन्नू पनि भएको हो नभनेको हैन। पहिला पनि बिरामी भएकै हो,सन्चो हुन्छ होला भन्ने सोचेर परिक्षाको तयाइमा जुटे तर घरमा हजुरबाका दिनहरु सकिदै गएका रहेछन् उहाँ दिनप्रतिदिन मृत्युको नजिक पुगिरहनु भएको रहेछ। यसै चैतको महिना एक साझ मोबाइल बज्यो हेरे मम्मिको फोन रहेछ ।मैले हलो मम्मि मात्र के भनेकी थिए। मम्मिले भन्नू हो “नानी हजुरबा बित्नु भोसाँच्चै त्यो क्षण मैले संसार यति अँध्यारो देखे कि त्यति अँध्यारो मैले औसिको रात पनि देखेकी थिन।यसरी रुन मन लाग्यो कि सारा आँसु रित्याउन मन लाग्यो र म रोए पनि। साथिहरुले सम्झाए। हजुरबाको सपनाको थियो कि म धेरै पढु र उहाँ भन्दा पनि धेरै काम गरु दिनदुखिको सेवा गरु।एकातिर हजुरबा बितेको खबर,अर्को तिर अन्तिम परिक्षा,म घर जान पनि पाइन । जब घर गए हजुरबा हुनुहुदैनथ्यो। थिए त बस उहाँका यादहरु, उहाँका पदचापहरु। त्यतिबेला मलाई थाहा भयो म किन घर गएनछु मलाई आज पनि साह्रै पछुतो लाग्छ हजुरबाको अन्तिम समयमा उहासंग हुन नपाएकोमा।

 

आजपनी जब म घर जान्छु ती प्रत्येक ठाउँ निहाल्छु जुन हजुरबाका लागि प्रीय थिए। हजुरबा भन्नु हुन्थ्यो तेरो फोटो ठुलो बनाएर यहाँ राक्नु पर्छ। घरमा सबैको फोटो ठूलो बनाएर एउटा कोठामा राख्ने चलन थियो त्यतिबेला,र अझै पनि छ यो चलन। जब हजुरबाको कोठा हेर्छु लाग्छ हजुरबा यहि कतै हुनुहुन्छ र अहिले नै यमुना त आइस भन्दै आउनु हुन्छ। सायद उहाँलाई अन्तिम पटक नदेखेर होला हजुरबा हुनुहुदैन भन्ने आभास नै हुदैन मलाई । भन्छन् शरीर मर्छ,आत्मा हैन त्यसैले पनि यस्तो लाग्छ हजुरबाको आत्मा पनि यहि कतै छ र हामिलाई हेरिरहेको छ।

 

हजुरबा मैले कहिल्यै हजुरलाई नयाँ र्षको शुभकामना दिएन अझ भनौ दिनै पाईन। कस्ले भन्छ जिउदोहरुमात्र शुभकामनाका पात्र हुन्छन् भनेर। हजुरबा हजुर यो दुनियाँमा नभए पनि कहिन कति त पक्कै हुनुहुन्छ होला। एक न एक दिन हाम्रो भेट कसो नहोला र! यो दुनियाँमा नभए नित्यो दुनियाँमा नै सहि। यो दुनियाँमा सबैले नयाँ बर्षको शुभकामना आदान प्रदान गरिरहेछन तर मलाई यो नयाँ र्ष हजुरको आशीर्वादले सुरु गर्न मन लाग्यो। यो वर्षको शुभकामना हजुरसंग साट्न मन लाग्यो मलाई थाहा छ हजुरबा हजुर जहाँ हुनुहुन्छ मलाई देख्नुहुन्छ र सधै मलाई हौसला र प्रेरणा दिरहनु हुनेछ।मेरो प्यारो हजुरबा हजुर जहाँ भएपनी जुन दुनियाँमा भए पनि हजुरलाई नयाँ बर्षको धेरै धेरै शुभकामना अनि असिमित सम्झना हजुरबा ........!!

 

No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...