Yamunathapablog

Saturday, April 10, 2021

... मृत्युको पर्खाइमा

तिमीले खाएको कसम पनि त्यही हैन र जुन

मैले खाएको थिए अनि

तिमी अगाडि म पछाडी यहि सोच्छु यो भूल भयो कसरी

ये भाग्य लेख्ने विधाता तिमीबाट ...

 तिमी चितामा जल्दै गर्दा म खरानी भएको थिए । छोराले तिमीलाई मुखाअग्नी दिदा म जलिरहेको थिए । आज तिमीले छोडेर गएको ठ्याक्कै पाँच वर्ष भएको छ। र यो पाँच वर्ष म कयौं पटक मरेको छु तिम्रो यादमा, जलेको छु तिम्रो प्रेममा । मलाई हरेक पटक तिमीसँगको पहिलो भेट याद आउँछ। तिम्रो निश्चल कञ्चन मुस्कान याद आउछ । र ति यादमा तिमी अझ संग्लो भएर आउँछौ अनि आँखामा आँसु यसै टलपल हुन्छन्। घरपरिवारले तिमीलाई मेरो लागि रोजेपनि मेरो मनले तिमी जन्मौ देखि मेरि नै थियौ भन्थ्यो । बाबाआमासँग तिमीलाई पहिलो पटक हेर्न जाँदा कसरी जुधेका थिए हाम्रा नजर अनि लाजले राती भएकी थियौ तिमी। सायद त्यही प्रेमको पहिलो सुरुवात थियो । त्यसपछि तिमीसँगका ३५ वर्ष कसरी बिते मैले थाहासम्म पाएन। तिमीले पत्नी देखि आमासम्मको सफर तय गर्दसम्म कहिल्यै उफ! सम्म गरिनौ । मेरा हरेक राम्रा नराम्रा कुरा कति मज्जाले स्वीर्कायौ। मेरा बाबाआमालाई तिमीले आफ्नै बाबाआमा मानेर सेवा गरिरहेहौ। तिम्रो प्रेमको, तिम्रो धैर्यको, तिम्रो सेवा भावको म भक्त हुँ प्यारि। तिमीले अपनाउने जीवनशैलीको कायल हुँ म । मृत्युले शरीरसँगको साथ छुट्न सक्छ। आत्माको मेल हैन बस म यहि कुरालाई आत्मसात गरेर बाँचिरहेको छु ।

 तिम्रो प्रेमको म आदि भइसकेको रहेछु राधा त्यसैले त म जहाँ जहाँ जान्छु तिम्रो उपस्थित पाउँछु फुलेको फूलमा तिमीलाई देख्छु, पूर्णिमाको जुनमा तिमीलाई देख्छु, आफ्ना वरपर उड्ने पंछीमा म तिम्रै छाँया देख्छु । थाहा छ तिमीलाई हाम्रा छोराछोरी ठूला भएका छन् बुझ्ने भएका छन् । घरमा परी जस्तै सानी नातिनिको आगमन भएको छ । जोसँग म तिम्रो कुरा गर्दै समय बिताउने गर्छु।मेरो पक्का साथी जस्तै भएकी छिन् सानि नातिनी । छोरीले पनि बिहे गरिन् । हामी त हजुरबुबा हजुरआमा भइसकेका छौ राधा । म तिम्रो कमि जतिसक्दो कम गर्ने कोसिस गर्छु तर पनि कहि न कहि खालीपन रहिजाने रहेछ। छोरी आज पनि तिमीलाई सम्झेर मलिन हुन्छिन् । छोरो तिम्रो कुरा निक्लना बित्तिकै कोठातिर जान्छ । 

 थाहा छ बुहारी ठ्याक्कै तिमी जस्तै भएकी छिन्, अरुको ख्याल राख्ने, तिमी गएपछि घरको सबै जिम्मा उनले त लिएकी थिइन् मेरो पनि सुद्दिबुद्दी सब हराएको थिए । कति सममयसम्म त मेरो होसै थिएन राम्रोसँग तर अब म ढुक्क छु बुहारीले घर समालेको देखेर सबैको राम्रो ख्याल गर्छिन् । सबैलाई माया गर्छिन् । 

  कहिलेकाही सोच्छु राधा तिम्रो साथको जरुरत जहाँ सबैभन्दा बढी थियो त्यहीँ तिमीले छोडेर गयौ । सँगै प्रेम गरेपनी सँगै मर्न नमिल्ने रहेछ । प्रेम गर्नेहरु पनि प्रेमको माया मारेर जाने रहेछन्।मलाई एकपल एक्लै नछोड्ने तिमी कसरी मलाई एक्लै छोडेर जान सकेयौ मान्नु पर्छ तिम्रो त्यो हिम्मतलाई,तिम्रो त्यो साहसलाई । म त साह्रै कमजोरी पो रहेछु हेर त एक्लै कसरी लाज नमानेर बसिरहेको छु तिमीसँगै जाने हिम्मत किन नआएको होला त्यतिबेला । हिजोआज यो कुरा खुब सोच्न थालेको छु  । 

  राधा जिन्दगीको सत्तरी औ वसन्त पार गर्दै गर्दा पनि मलाई त्यही उकालिको खेत नजर आउँछ जहाँ मैले पहिलो पल्ट घाँस काट्दै गरेकी तिमिलाई देखेको थिए । तिमीलाई फर्की फर्की हेरेको थिए । तिम्रो त्यही गुन्युचोली लाएको तस्बिर आजपनी आँखाभरी आएर बस्छ । तिमी जताततै हुन्छेयौ । म तिम्रो मन्दमन्द मुस्कानमा अझ कायल हुदै जान्छु । तिम्रो आँखाको गहिराईमा झनझन डुब्बै जान्छु । अनि प्रेम वर्षा बनेर वर्षिन थाल्छ र मलाई भिजाएर जान्छ ।

 शरीर बूढो हुँदै गएपनी तिमीलाई प्रेम गरेको मन आज पनि उस्तै छ । तिमीसँग बिताएका सुखदुःखका पलहरु आज पनि उसैगरी मस्तिष्कमा ताजा छन् । बस केही छैन भने त्यो हो तिम्रो भौतिक शरीर । तिम्रो भौतिक अस्तित्व । हो राधा बस त्यसैको कमिले हो कहिलेकाही साह्रै सताउने भनेको । 

 तिम्रो आत्माको शान्तिको कामना हरवक्त रहन्छ प्यारि। तिम्रो सपनामा प्रतीक्षा पनि हरवक्त रहन्छ । छोराछोरीलाई तिम्रो कमि महसुस हुन दिएको त छैन मैले तर सबै कमि कहाँ पूरा हुन्छन् र जिन्दगीमा । "तिमी भएको भए यसो हुन्थ्यो तिमी भएको उसो हुन्थ्यो" सोच्दैमा कति दिन गए । दिन गएको समेत पत्तो हुन्न कहिलेकाही त आफैलाई। यी दिनहरुमा तिम्रो याद खुब आउँछ राधा। जब जब जिन्दगीले कोल्टो फेर्दै जान्छ तिमीसँगको सानिध्यताले सताउन थाल्छ ।

  बिवाहको मण्डपमा दुबैले खाएको कसम एउटै थियो तर तिमी अगाडि म पछाडि कसरी भए यहि सोच्छु। तिमी प्रेममा अगाडि, सम्बन्ध र जिम्मेवारी निभाउनमा अगाडि हरेक कुरा तिमि अगाडि भएको खुब मन पर्थ्यो मलाई तर यो कुरामा तिमी अगाडि भएको पटक्कै मन परेको छैन ।

  थाहा छ राधा म किन बाँचिरहेको छु किनकि तिमीसँगको पुनर्मिलन अझ सुन्दर हुनेछ भन्ने आशा छ मलाई।तिमीलाई भेट्दा खुसी कुरा सुनाउन सकु तिमीलाई अझ प्रेम गर्न सकु  .... 

 यी दिनहरुमा सोच्छु राधा बाँच्नु भन्नू पनि के नै रहेछ र आखिर त्यही मृत्युको पर्खाइ न हो। हो म बाँचिरहेको छु मृत्युको पर्खाइमा अनि तिमीलाई भेट्ने मीठो कल्पनामा। बस म यी दुई कुराको साहारमा बाँचिरहेको छु राधा .. बस म बाँचिरहेको छु तिमीसँग मिलन गराउने मृत्युको पर्खाइमा  ।

 





No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...