उसको नाममा कोरेका
अनगन्ती प्रेमपत्रहरू
ऊ कोर्दै र फाल्दै गरिरहेकी छे
यसै गर्दागर्दै कति वेला
उसको कोठाको डस्टबिन भरिन्छ
थाहै हुँदैन उसलाई
फेरि के लाग्छ कुन्नि उसको मनलाई
ती फालिएका पत्रहरु
खेलाउन थाल्छे एकतमास
अक्षर र वाक्यका अन्तरकुन्तर खोतल्छे
उसको मायालुको सम्झना मुटुभरि छरिन्छ
के वसन्तले उसको प्रेममा रङ्ग भर्न सक्ला ?
प्रजातन्त्रको उज्यालोतिर चियाउँछे ऊ ।
थाहा थिएन उसलाई
समय कति कठोर हुने छ भनेर
हातका नौरङ्गी चुरा
उस्तै रहन्छन् कि रहन्नन् भनेर
साँच्चै, गुलाफ उस्तै रहेन
सिँदुरपोते उस्तै रहेन
तर उस्तै रह्यो
प्रेमीप्रतिको उसको गहिरो सद्भाव
प्रजातन्त्रप्रतिको अटल विश्वास ।
थाहा छ उसलाई
जन्म र मृत्यु शाश्वत छ
जीवन त प्रकृतिको रचना हो
तर थाहा छैन उसलाई
किन
प्रजातन्त्रमै जीवन लापत्ता भइरहेछ ?
रेमिटान्समा र्याल चुहिरहेछ ?
ताता तावामा अमूल्य जीवन डढिरहेछ ?
दासत्व कहिल्यै नभोगेको देशकी स्वाभिमानी ऊ
सक्तिन आँसु बगाउन बाकसका लास कुरेर
बरु निम्त्याउँछे एउटा महाभारत
गर्दै उद्घोष जय जन्मभूमि ।।
No comments:
Post a Comment