Yamunathapablog

Sunday, July 19, 2020

माटो र जीवन


माटोमा सुन फल्छ, भन्छन्।माटो जननिभन्दा पनि माथी हुन्छ, उच्च हुन्छ भन्छन्। आमाले जीवन दिएकी हुन्छिन् र जीवनलाई अनेकौं किसिमका रंगले रङ्गाएकि हुन्छिन्।आमा बिनाको जीवन साह्रै कहालीलाग्दो हुन्छ, जसलाई कल्पना पनि गर्न सकिदैन। मैले माटोमा सुन फलेको देखेकी छैन, न फूल फुलेको नै देखेकी छु। माटोमा जीवन पाएर आकाशमा फुल्ने फूललाई माटोसँगको नाता थाहा नहुँदोरहेछ। माटोको रगत चुसेर फूल बाँचिरहेको हुन्छ, फुलिरहेको हुन्छ। सुवास छर्न सके छर्छ नसके छर्दैन। मिठा लागे भँवराको साथ पाउछ नलागे कसैले वास्ता गर्दैनन्। तर पनि माटोलाई यो सबसँग केहि वास्ता छैन, न ऊ केही बोल्छ नै बरु आफ्नो छातीमा उम्रिएका अमृत होस् वा बिष सबैलाई माया गरिरहन्छ, आफ्नो नियती सम्झेर सबैलाई एकनास रक्तसेचन गरिरहन्छ।


जीवन आफैमा जटिल पनि छ अनि सरल पनि छ। जीवनलाई जिउन जान्यो भने त्यो सरल बन्छ।जीवन खुसी हो, सङ्घर्ष हो, अनुराग हो अनि आशिष हो। भन्छन् स्वर्गका देवता मानिस भएर जीवनलाई भोग्ने सपना देख्छन् रेयस्तो रहर लाग्दो जीवन हामिले पाएको छौ। कसैले जीवनलाई थोरै भोगेर धेरै व्याख्या गरेका हुन्छन्। कसैले धेरै भोगेर थोरै व्याख्या गरेका हुन्छन्। वास्तवमा जीवन भोगाइ हो। नभोगेसम्म जीवन यस्तो छ उस्तो छ भन्न मिल्दैन। अनि मान्छे अनुशार भोगाइ पनि फरक­-फरक हुन्छन्। सबै मान्छेले जीवनलाई एकै किसिमले भोगेका पनि हुदैनन्, उनीहरूको सङ्घर्षको पाटो पनि एउटै हुदैन तर सिकाई उस्तै हुन्छ। दु:खमा खस्ने आशु उस्तै हुन्छन्। खुसीमा छाउने मुस्कान उस्तै हुन्छ। जीवन बुझ्न मान्छेहरु किताबका दानाहरु टोक्न खोज्छ्न्। तर किताबका दाना टोकेर जीवन बुझे भन्ने मान्छेहरु एकदम कम भेटेकी छु मैले। बरु दु:ख र सङ्घर्ष गर्नेहरुले जीवनलाई नजिकबाट निहालेका हुन्छन्। आमाको माया खुब लाग्छ यो समयमा अझ बढी लाग्न थालेको छ सायद आमाबाट टाढा भएर हो कि।साँच्चै जतिजति आमाबाट टाढा हुँदै छु जीवनको अझ नजीक पुग्दै छु कि जस्तो लाग्छ। आमाको मायामा जीवनको सुन्दर पहिलु देखिकी थिए मैले। आमासँग छुटेपछि जीवनको अनेकौं पहिलु देख्न थाले, भोग्न थाले सायद त्यही भएर होला आमाको माया मुटुमा अझ अझ गहिरिन थालेको। साँच्चै भन्ने हो भने आमाले कहिल्यै कुनै सन्तान बिच अन्याय गरिनन् न भेदभाव गरिनन्। बरु आफ्नो पेट भोको राखेर मलाई पेटभरि खुवाइन। आफू नाङ्गो रहेर मलाई न्यानो बनाइन्। बरु माटोसँग अझ खेल्न नपाएर होला जीवनको वास्तविक गहिराई अझ बुझ्न बाँकी छ कि जस्तो लाग्छ। माटोलाई अझ आफ्नो बनाउन बाँकी छ कि जस्तो लाग्छ।

माटो अमूक छ, निर्जीव छ। माटोको रगत चुस्नेहरु सजीव छन् सचेत छन्। साच्चै भन्ने हो भने माटोको रगत चुस्नेहरु माटोको संवेदना कहिल्यै बुझ्दैनन्। बरु उल्टै संवेदनाको रापले पिल्सिएर भत्भती मर्छन्। जीवनलाई बुझे भन्नेहरु पनि जीवनलाई कहिल्यै बुझ्न सक्दैनन्। जीवन यति जटिल सवाल हो कि मै हुँ भन्नेहरु पनि  यसका अगाडि फिक्का पर्छन्। जीवनलाई जटिलतासँग हैन बरु सरलतासंग बुझ्न सकिन्छ। जति सकिन्छ जीवनलाई अरुको भलोको निम्त उपयोग गर्नु पर्छ।अनि आफ्नो भलो पनि हुँदै जान्छ। जीवन किताब पढेर जति जानिन्छ उति नै बढी भोगेर जानिन्छ।

मैले जीवनलाई त्यतिधेरै भोगेको त छैन तर म यतिबेला जीवनलाई आफ्नै नजरबाट पहिलाउन खोज्छु। पटक-पटक आफ्नै जीवन कोक्याउँछ र बाँकी जीवनको भोगले पनि अत्याउँछ।  दिनभरको व्यस्तता, छट्पटी, अत्यासमा म आफैलाई हराउछु। जीवन यसैमा गुमनाम भएको जस्तो लाग्छ। बिहानिको लालीसंगै सुरु हुने जीवन यहि शहरको भुमरीमा यसरी फस्दै जान्छ कि सन्ध्या भएर कति बेला रातमा बदलिन्छ आफैलाई पत्तो हुदैन।अनि यिनै माझ अरुलाई दुःख दिएर मुस्कुराउनेहरु भेट्छु। अरुलाई भ्रमित पारेर आफू सोझो हुनेहरु देख्छु। अरुलाई जालसाज गरेर धर्मको गुणगान गाउनेहरुसँग ठोकिन पुग्छु।जतिजति शहरसँग अव्यस्त हुँदै जान्छु उतिउति आफूदेखि आफै टाढिदै गएको भान हुन्छ र आफैलाई चिमोठ्न पुग्छु। गगनचुम्बी भवन तिर नजर लगाउदै गर्दा यस्तो लाग्छ कतिबेला यो भवनले आफ्नै भार थाम्न नसकेर र मलाई नै थिच्छ होला। शहरले जीवनलाई कहिलेकाहीँ नमिठो तरिकाले नमिठो बनाइदिन्छ। दिएको भन्दा बढी खोसिदिन्छ। लुटाउनुभन्दा बढी लुटिदिन्छ। कहिले श्रम लुट्छ, कहिले बौद्धिकता लुट्छ तर बदलामा फुस्रो अनुहार र खाली हात बाहेक केही दिदैन त्यतिबेला आमाको माया खुब लाग्छ, आफ्नो माटोको याद खुब आउछ। आमाले सिकाएका कुरा अरुलाई राम्रो गर्नुपर्छ, धैर्य गर्नुपर्छ, इमानदार बन्नुपर्छ भन्ने कुरा त यो शहरको लागि हैन जस्तो लाग्छ। सबसब मन भुलाउने कथा कहानी हुन कि जस्तो लाग्छ।

मान्छेहरुले जीवनको निम्ति सङ्घर्ष यो समय जति गरे पहिले कहिल्यै गरेका थिएनन् होला। घरभित्र बसेर बाँच्नको निम्ति गरेको मान्छेको यो प्रयास कति सम्भव हुन्छ यो आउने समयले बताउने छ। तर मान्छेले यो समयमा कति बुझ्यो, कस्तो बुझ्यो र यो बुझाईलाई जीवनमा कसरी लागू गर्छ यो महत्त्वपूर्ण कुरा हो।जुन हेर्न बाँकी छ आउँदो समयमा।जीवनमा कति भोगियो भन्दा पनि त्यो भोगाइबाट कति सिकियो भन्ने कुरा धेरै महत्त्वपूर्ण राख्छ।यतिबेला मान्छेहरुले आफ्नो जीवनको,आफ्नो माटोको महत्त्वलाई नजिकैबाट बुझेका छन् त्यसैले त ज्यानको बाजि लगाएर परदेशदेखी देश भित्रीएका छन्, आफ्नो घर सम्झेर, माटो सम्झेर फर्केका छ्न्।यो भन्दा ठूलो कुरा के हुनसक्छ माटोको र जीवनको सम्बन्ध बुझ्नलाई, माटो रहेसम्म जीवन छ जीवन रहेसम्म माटोमा सुन फल्नेछ, सुनको सुगन्धले जगत जगमागाउने छ। माटो र जीवन दुबै एकाअर्काका परिपुरक हुन।यदि मेरी आमाले मलाई माटोसँग खेल्न नदिएको भए म माटोको सुगन्ध कसरि पहिलाउथे होला र! माटोमा शिर राखेर आफुलाई कसरी आनन्दीत तुल्याउथे होला। माटोले जीवन बोकेको छ।माटोको आडमा जीवन हुर्कन्छ बढ्छ, फुल्छ, फल्छ र फक्रन्छ। माटोमा सपनाहरूले जीवन पाउछन्।सपनाहरुको सुनौलो भोलि माटोमा त कोरिन्छ। जीवन बिनाको माटो, माटो बिनाको जीवन साह्रै अमिलो हुन्छ बेस्वादिलो हुन्छ।

तर मेरो देशको माटो कहिले रगतको आहालमा डुब्यो, कहिले भुकम्पले थन्थिला भयो त कहिले नाकाबन्दिले ग्रसित भयो, भने अहिले कोरोनाले ग्रसित भएको छ।केही समय सुन फलाउन पाएको छैन मेरो देशको माटोले मात्र दुखि रहेकोछ। आफूलाई दुखाइ रहेको छ। माटोक आँसु माटोमा नै मिसिए कालो माटो गिलोइरहेको छ। माटोले आफूमा सुन फलाएर आफ्ना सारा सन्ततिलाई सुनौलो बिहान दिउला भनेको थियो। माटोको सपना माटोमा नै मिलिरहेको । माटो रोइरहेको छ र माटो रोएको कसैले देखेका छैनन् किनकि माटोसंगै उसका सन्तति पनि रोइरहेका छन् तर मलाई विश्वास छ माटोले फेरि सपना देख्ने जमर्को गर्ने छ। माटोमा जीवन फुलाएर जीवन दिने विश्वासलाई माटोले कायम राख्ने छ।

मेरी आमाको विश्वास थियो माटोमा जीवन फुल्छ। जबजब म माटोमा आफ्ना पैतलाहरु दौडाउछु आमाको काखमा खेलिरहेको अनुभूति मलाई हुन्छ। मलाई किनकिन लाग्छ माटो मेरो जीवनको बाटो हो मेरो सार, मेरो जीवन भन्नू पनि यही माटो हो जस्तो लाग्छ। देखे भोगेकै कुरा हो आमाको हृदय विशाल हुन्छ जसमा सृष्टि अटेको हुन्छ। आमालाई शब्दहरुमा अटाउछु भन्नेहरु हार खान्छन्। आमा त ती हुन जसको पर्यावाचिमा भगवान पनि फिक्का पर्छन्। आमा त आमा हुन् जो एक शब्दमा संसार समेटिकी हुन्छिन्। आमाको काखमा, आमाको छहारीमा, आमाको आशीर्वादमा, सबैका लागि प्रेम हुन्छ। आमा सबैसंग हुन्छिन् तर आमाको कदर सबैलाई नहुने रहेछ। आमा नभएकाहरु आमाको सम्झनामा आफूलाई बिलीन गराउछ्न्। आमा भएको भए यसो गर्थे आमा भएको भए उसो गर्थे भन्छन्। आमा हुनेहरु आमाको उमेर ढल्कै जाँदा आमालाई मन्दिरमा छोड्छन्, पाटिमा छोड्छन्, आश्रममा छोड्छन्, छोड्न मिल्ने ठाउँजति सबैमा छोड्छन्।  छोड्दै जान्छन्। यस्तो लाग्छ भगवानले पनि दुख पाउँछन् भगवानको पनि उपेक्षा हुन्छ। आमाको उपेक्षा भनेको नै भगवानको उपेक्षा हैन र! यस्तो देख्दा सोच्छु मान्छेहरु आफुलाई जीवन दिने आमाको उपेक्षा गर्न पनि पछि पर्दैनन् भने उनीहरुबाट माटोको सम्मानको अपेक्षा राख्नु बेकार छ। आफ्नै आमाको छातिमा लाती बजार्न सक्नेहरुको अगाडि यो माटोको के औकात भयो र खै!

जब जब माटोमाथिको अन्याय र अत्याचार देख्छु सम्झिन्छु छाती भित्रबाट नै चिरिएर आउछ। माटोमाथी छुरी रोप्नलाई पनि त्यसैगरि छुरी रोपिदिन मन लाग्छ। त्यतिबेला मलाई ठूला ठूला किताब फिक्का लाग्छन्। जहाँ सहि र गलत सिकाइन्छ ती विश्वविद्यालय बेकार लाग्छन्। पाप र धर्मको बारेमा सिकाइने गीता, बाइबल, कुरान झुटा लाग्छन्। माटोको मर्म नबुझ्ने सन्तान र जीवनको सार नबुझ्ने मान्छे देख्दा आफैलाई साह्रै बिरक्क लाग्छ। अनि एउटा आफै नयाँ बस्ति बसाउ जस्तो लाग्छ जहाँ माटोको कदर होस्, आमाको सम्मान होस् साथै जीवन अर्थपुर्ण बनोस् ठ्याक्कै सुरुभक्तको पागल बस्ती जस्तै।



2 comments:

  1. wow ! What a great writing. Keep it up!!! मेरो जीवन त्यो हो जुन मैले भोगेको छु । मैले भोग्न नसकेका वा नपाएका अनगिन्ती कुराहरू होलान् । त्यसमा मेरो के को लिनुदिनु ? त्यसलाई नि आफ्नो जीवनमा ल्याउने हो भने प्रयत्न गरेर भोग्न सक्नुपरो । होइन भने त्यससंग मेरो लिनुदिनु नै छैन । ...

    ReplyDelete
    Replies
    1. धन्यवाद दाजु हजुरको यति मीठो प्रतिक्रियाप्रती धेरै आभारी छु !!

      Delete

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...